Comments Add Comment

ट्राफिक प्रहरीले बनायो ‘एक्सन टीम’

२१ चैत, काठमाडौं । उपत्यकामा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ट्राफिक प्रहरीले तीन महिने अभियान घोषणा गरेको छ ।

महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक वसन्त पन्तको अग्रसरतामा ट्राफिक प्रहरीले ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ अघि सारेको हो ।

यसका लागि ट्राफिक एक्सन टीम (टीएटी) नै बनाइएको छ । ‘टोलीले सवारी चालकले लेन अनुशासन पालन गरे नगरेको हेर्नेदेखि ट्राफिक स्वयमसेवी तयार गर्नेसम्मको काम गर्नेछ’, एसएसपी पन्तले भने ।

उनाका अनुसार अभियानका क्रममा ठूलो आवाज निकालेर कुदाउने मोटरसाइकललाई कारबाही गरिनेछ भने जेब्राक्रस प्रयोग नगर्ने सर्वसाधाणलाई सचेत गराइने छ । यसैगरी फुटपाथ अतिक्रमण हटाउने, बन्दहरुका बाटोहरु खुला गर्ने र सार्वजनिक स्थान राखिएका निर्माण सामग्री हटाउन पनि टोली प्रयोग हुनेछ ।

९ स्थानमा आकाशे पुलको माग

ट्राफिक प्रहरीले काठमाडौंको ९ ठाउँमा आकाशे पुल राख्न लबिङ गर्दै आएको छ । कोटेश्वर, नयाँ बानेश्वर, चाबहित, नारायण गोपाल चोक, मोइती घरस्थित सर्वोच्च अदालत अगाडि लगायतको स्थानमा आकाशे पुल निर्माणका लागि पहल गरिने भएको हो । ‘पुल निर्माण भए ट्राफिक व्यवस्थापनमा सहयोग पुग्नेछ’, पन्तले भने ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धुँवाको मुस्लो फाल्ने गाडीलाई नियन्त्रणमा लिन सोचिरहनु नपर्ने बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ३ वर्षभित्र सबै करिडोर सञ्चालनमा आइसक्ने जनाए । धोविखोला करिडोर भने तत्कालै सञ्चालनमा आउने उनको भनाइ थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले आम नागरिकलाई समेत सहभागी भएर ट्राफिक व्यवस्थापनमा जुट्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment