Comments Add Comment

फुजेलमा बाँदर आतंक ! प्रहरी र गाउँलेले थाले गस्ती

२२ चैत, गोरखा । फुजेलमा बाँदर आतंक बढेपछि प्रहरी सहित स्थानीयले गस्ती शुरु गरेका छन् ।

गण्डकी गाउँपालिका ३ र ४ मा बाँदर धपाउन भन्दै ताङलीचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सहित स्थानीयबासीले शुक्रबारबाट गस्ती शुरु गरेका हुन् । गस्तीमा हिड्ने अधिकांशले हातमा लठ्ठी र गुलेली बोक्छन् ।

‘समूहमा बाँडिएर आज पन्तारी गाउँको सिरानबाट बादर धपाउँदै तल तिर झर्‍यौं,’ स्थानीय बिष्णु पन्तले भने, ‘बाँदरको हुल देखेपछि कराउने, ढुङ्गा हानेर तर्साउने र सम्भव भए समाउने गरेका छौं ।’ शुक्रबार एउटा बाँदर समातिएको छ ।

‘बादरहरु घरघरै आएर दुःख दिनुका साथै मानिसमाथि आक्रमण गर्न थालेको स्थानीयबासी बताउँछन् । ‘केही दिन अघि मात्र एक जनालाई गम्भीर घाइते हुने गरी पिट्यो’ उनले भने, ‘टाउको र अनुहारमा मात्र आक्रमण गर्दाेरहेछ ।’

फुजेलबासीका अनुसार हालसम्म बाँदरले करिव २० जनालाई पिटेर घाइते बनाएको छ । पुरुष भन्दा बढी महिला र केटाकेटीलाई आक्रमण गरेको गरेको छ । बाँदर आतंक बढेपछि विद्यार्थीहरु बिद्यालय जान डराउने गरेका छन् ।

‘एक्लै हिड्न हुन्न झम्टिहाल्छ । बारीमा लगाएको खेती त नष्ट गर्‍यो गर्‍यो, घरमा राखेको अन्न पनि लिएर जान्छ,’ स्थानीय अर्जुन अम्गाइले अनलाइनखबरसँग भने ।
भान्छामा पकाएर राखेको भात समेत खाइदिने गरेकाले दिउँसै ढोका थुनेर बस्नु परेको उनले सुनाए ।

बाँदर आतंकले करिव १३ सय घरधुरी प्रभावित भएपछि शुक्रबारबाट गस्ती थालिएको अम्गाइले बताए ।

गस्तीका लागि १५/२० जनाको समूह बनाएर विभिन्न ठाउँमा खटाइएको छ । ‘गाउँतिर जाने समूहमा थोरै मान्छे भएपनि घना जंगलमा जाने समूहमा करिव ५० जना हुन्छौं,’ उनले भने ।

स्थानीयबासीले गस्ती गर्नुपूर्व सहयोगका लगि प्रशासनलाई समेत खवर गरेका थिए । प्रशासनले पनि प्रहरी टोली नै खटाएको छ । बाँदरलाई तर्साएर गाउँबाट लखेट्ने उद्देश्यले गस्ती शुरु गरिएको स्थानीयबासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment