Comments Add Comment

दिनदिनै ब्रुमर चलाउँदा पनि काठमाडौंका सडकमा धुलो

२२ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले दैनिक रुपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन ।

अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा ब्रुमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर ब्रुमरले अहिले सफा गरिरहेको सडकमा दैनिक फोहर आइरहेको छ । महानगरपालिकाले खाल्डाखुल्डीका कारण ब्रुमुर चलाउन कठीन भएपछि सडक विभागलाई खाल्डा पुर्न र मेलम्ची खानेपानी आयोजनालाई खनेका ठाउँमा पुर्न भनिरहेको छ ।

सडकमा रहेका खाल्डोसँगै हिलो माटो समस्याका रुपमा रहेको महानगरको वातावरण महाशाखाले जनाएको छ । भूकम्पपछि काठमाडौँका धेरै ठाउँमा पुनःनिर्माणको काम भइरहेको छ । सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्युटावर र बसपार्कलगायतका संरचना निर्माणका क्रममा त्यस स्थानबाट आएको र  सवारीसाधनले ल्याएका हिलो माटोले सफा गर्न समस्या भएको वातावरण विभागका प्रमुख हरि श्रेष्ठले बताए ।

निर्माणका क्रममा प्रयोग हुने सामग्री यत्रतत्र छरेर राख्दा निस्कने फोहरले पनि समस्या भएको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए । नगर प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माणका क्रममा प्रयोग हुने सामग्रीलाई पनि काम सकेपछि निश्चित स्थानमा राख्न र खानेपानीका पाइपका लागि खनिएका खाल्डाखुल्डी यस अघिजस्तो लामो समयसम्म नराखी तत्काल पुर्न अनुरोध गर्दै आएको छ ।

महानगरले ब्रुमर सञ्चालन गरेको एक साता हुँदा सडकबाट दैनिक दुई सय टन धुलो सङ्कलन गरिरहेको छ । महानगरले अघिल्लो साता बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट पाँच ब्रुमर ल्याइएका थिए ।

हरेक दिन पाँच यन्त्रले निर्धारण गरेका रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । चावहिल, पुतलीसडक, कलङ्कीलगायतका स्थानीयवासी आफ्नो क्षेत्रमा कामपाले सफा गर्न ल्याएका यन्त्र नआएका भनेर गुनासो गरिरहेका छन् । महानगरले तयार गरेको रुट अनुरुप काम भइरहेको र क्रमिक रुपमा सबै स्थानमा पुर्‍याइने प्रमुख श्रेष्ठले बताए ।

सडक विभागले मुख्य सडकमा रहेका खाल्डा हटाएर महानगरपालिका र सडक विभाग दुबैका ब्रुमर सहज रुपमा सञ्चालन गरिने जनाएको छ । महानगरले गत साताबाट मात्रै सञ्चालन गरे पनि सडक विभागले गत पुसदेखि सडकमा रहेको धुलो हटाउन ब्रुमर सञ्चालनमा ल्याएको महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।

विभागका तीन र महानगरका पाँच ब्रुमुरले सडकमा रहेका फोहर हटाउने काम गरिरहेको उनले बताए । सडक विभागले आफैँले देखेका वा कसैले सूचना दिएका आधारमा खाल्डा देख्नासाथ टाल्ने काम गरिरहेको महानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार विभागले काठमाडौंका आठ मिटरभन्दा बढी चौडाइका सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिएको हो ।

महानगरभित्र मेलम्ची खानेपानी आयोजनाले पाइप विच्छ्याउन धेरै ठाउँमा सडक खनेको छ । सडक खनेका ठाउँमा आयोजना आफैँले पुर्नुपर्ने उनले बताए । काठमाडौँमा सडक विस्तारका काम भइरहेका सडकमा खाल्डाको समस्या भए पनि अहिले त्यो हट्ने क्रममा रहेको उनले जानकारी दिए ।

‘चाबहिलदेखि साँघु र त्रिपुरेश्वरदेखि थानकोट सडकमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ’, उनले भने, ‘अबको तीन चार महीनामा दुबै सडक सम्पन्न भएसँगै यहाँ रहेका खाल्डोको समस्या हट्नेछ ।’ सडक विभागका तीन ब्रुमर छन् । तीमध्ये अहिले दुईले काम गरिरहेको विभागले जनाएको छ । पहिले यी ब्रुमर कहिलेकाहीँ सञ्चालन भए पनि अहिले नियमित रुपमा सञ्चालन भइरहेका महानिर्देशक श्रेष्ठले बताए । उनले भने, ‘महानगरपालिका र विभागले समन्वय गरेर बु्रमर चलाइरहेका छौँ ।’

महानगरका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment