Comments Add Comment

प्रतिबद्धता अनुसार मुथुट ग्रुपले ल्यायो झण्डै ४० करोड लगानी

२४ चैत, काठमाडौं । भारतीय मुथुट ग्रुपले नेपालमा वित्तीय क्षेत्रमा लगानी भित्र्याएको छ ।  ग्रुप अन्तर्गतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा रणनीतिक साझेदारी गर्ने गरी झण्डै ४० करोड लगानी गरेको हो ।

मुथुटले चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनमा युनाइटेडसँग साझेदारी गर्न लगानी प्रतिबद्धता जनाएको थियो । भारतको केरल राज्यको कोचीमा प्रधान कार्यालय रहेको यो फाइनान्स त्यहाँ सुन धितो राखेर कर्जा दिन निकै चर्चित छ ।

नेपालमा लगानी भित्र्याउन लगानी सम्मेलनमा मुथुट फाइनान्सका अध्यक्ष एमजी जर्ज मुथुट र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीले ३९ करोड ९० लाख बराबरको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

केही दिनअघि एक कार्यक्रम गरी मुथुटले युनाइटेड फाइनान्सलाई चेक हस्तान्तरण गरेको छ ।  लगानी सम्मेलनअघि नै मुथुट ग्रुपले नेपाली फाइनान्स क्षेत्रमा लगानी ल्याउने समझदारी गरेको थियो । लगानी सम्मेलनको अवसर पारेर चौधरी ग्रुपले मुथुटलाई नेपाल ल्याएर लगानी पक्का गराएको हो ।

मुथुट ग्रुपले प्रतिकित्ता २१ लाख कित्ता सेयर किनेको छ । अंकित मूल्यमा १ सय मा ९० रुपैयाँ प्रिमियर थपेर १ सय ९० रुपैयाँका दरले मुथुट फाइनान्सलाई लगानी गराइएको हो ।

युनाइटेड फाइनान्समा अध्यक्ष बसन्त चौधरीले मुथुत फाइनान्सको नेपाल प्रवेशलाई गर्व गर्ने अवसर बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दूरदर्शी सरकार रहेको कारण मुथुट फाइनान्सलाई नेपाल ल्याउन सम्भव भएको बताएका थिए ।

लगानी सम्मेलनलाई सम्बोधन गर्दै मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको बताएका थिए । भारतको केरलमा मुख्यालय रहेको मुथुट समूहका ६७ करोड ग्राहक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment