Comments Add Comment

गोपी–अष्टमा ठूलो भीड, तर शेयर कम

यस्तो छ भीड बटुल्ने २ हलको कमाइको वास्तविकता

शनिबार काठमाण्डौका दुई हल, गोपिकृष्ण मुभिज र अष्टनारायण हलमा पुगेर ठूलो भीडको माझमा पसेर सेल्फी खिच्नु र चलचित्र हिट भएको तर्क गर्नु नेपाली चलचित्रका निर्माता र कलाकारको नियती नै हो । अझ यसौ भनौ, काठमाण्डौका यी दुई हलले नै अहिले स्टार जन्माइदिएका छन्, स्टार बनाइदिएका छन् । प्राय निर्मातालाई शनिबार फोन गर्दा भन्ने एउटै जवाफ छ, गोपीकृष्ण र अष्टनारायण हाउसफूल छ, चलचित्रले बम्पर कमाई गर्यो । एक हदसम्म निर्माताको तर्क सही पनि छ । किनकी, ठूलो भिड यी दुई हलमा नै देखिन्छ ।

तर, ठूलो भीड हुने यी दुइ हलबाट कती शेयर आउँछ र निर्माताले कती कमाउँछन् भन्ने कमैले मात्र वुझेका छन् । गोपी र अष्टनारायणले ठूलो भीड देखाएतापनि यी दुबै हलबाट आउने शेयर भने ठूलो छैन । अझ, यसो भनौ गोपी र अष्टनारायण हलले नेपाली चलचित्रका निर्माताको आम्दानीमा सहयोग त गर्छन्, तर बाहिर देखिएजस्तो भिड देखिने वित्तिकै निर्माता सुरक्षित हुन्छन् भन्ने भ्रमबाट भने मुक्त हुन जरुरी छ ।

यस्तो छ अष्टनारायणको आँकडा
काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण हलमा ४ पर्दा छन् । जसमध्ये सबैभन्दा ठूलो पर्दाको सिट संख्या ९ सय ६८ छ । यसमध्ये स्पेशल मानिएको ३२१ सिटको टिकटदर १५० छ भने बाँकी ६४७ सिटको टिकटदर २ सय छ । यसमा पनि बिहानी शोमा टिकटदर आधा हुन्छ । दिनभर ४ शो चल्ने यो हलमा शनिबार ४ वटै पर्दामा कुनै चलचित्रले हाउसफूलको व्यापार गर्दा १० लाख २७ हजार ग्रस कलेक्शन हुन्छ । सबैभन्दा ठूलो हलबाट ६ लाख २० हजार ग्रस कलेक्शन हुने देखिएको छ ।

यस्तै, दोश्रो ठूलो हलमा ४ शो नै भरिभराउ दर्शक रहेको अवस्थामा २ लाख ९३ हजार ग्रस कलेक्शन हुने देखिन्छ । यस्तै, १८५ सिट क्षमताको तेश्रो ठूल हल दिनभर ४ शो नै हाउसफूल हुँदा ६३ हजार ग्रस कलेक्शन हुने देखिएको छ । चौथो हलको क्षमता १४५ छ । यो हल दिनभर नै हाउसफूल भएको अवस्थामा ५० हजार ७ सय ५० ग्रस कलेक्शन हुन्छ ।

तर, यो सबै ग्रस कलेक्शन निर्माताको हातमा जाने भने होइन । यसमा १३ प्रतिशत भ्याट काटिन्छ । अहिले ५ प्रतिशत ‘एसएलइटी ट्याक्स’ पनि काटिने गरेको छ । कुल १८ प्रतिशत ट्याक्स काटेपछि मात्र त्यसको आधा–आधा रकम निर्माता र हलवालाले पाउँछन् । अब, यसरी हेर्दा कुल १० लाख २७ हजार मा १ लाख ८४ हजार ८ सय ६० ट्याक्स काटिन्छ । अब, ८ लाख ४२ हजार रकम बाँकी रहन्छ । यसको आधा प्रतिशत अर्थात करिब ४ लाख २१ हजार निर्माताको भागमा जान्छ । तर, निर्माताले यत्तीकैमा सुख पाउँदैनन् । यसमा पनि डीसीएनले ३ सय ४० देखि ४ सयसम्म प्रत्येक शोको सर्भर चार्ज काट्छ । अब, बाँकी रहने रकम मात्र निर्माताको हातमा आउने हो ।

यसरी हेर्दा, करिब ४ लाख अष्टनारायणका सबै पर्दा दिनभर हाउसफूल हुँदा निर्माताको भागमा पर्ने देखिएको छ । तर, बम्पर चलेका नेपाली चलचित्र ३ वटा पर्दामा र ठिकै चलेका नेपाली चलचित्र एउटा पर्दामा मात्र दर्शक भर्न सफल छन् । यसैले, अष्टनारायण हलमा कुनै कलाकार जाँदा २ हजार भन्दा बढी दर्शक देखिए भने त्यो चलचित्र बम्पर भयो भनेर सोच्नु गलत हुनेछ ।

अष्टनारायणकै जस्तो अवस्था गोपीकृष्णको पनि छ । गोपीकृष्णमा ७ वटा पर्दा छन् । नेपाली चलचित्रले दिनभर दर्शकको भीड बटुले भने पनि कुनै एक शोमा मात्र ४ देखि ५ वटा पर्दासम्म हाउसफूल भएको पाइन्छ । गोपीकृष्णको गोपी हल पूर्ण रुपमा हाउसफूल हुँदा १०४५ दर्शक अट्न सक्छन् । लगभग २६ सय देखि २७ सय सिट क्षमता भएको यो हलबाट आउने शेयर पनि अष्टनारायणको भन्दा केही माथि मात्र छ ।

दिनभर ७ वटै पर्दा हाउसफूल भएको पाइदैन । अझ, ११ बजेको शोमा दर्शकको चाप शनिबार भएपनि ठूलो हुँदैन । यसैले गोपीको ४–५ पर्दा र अष्टनारायणका ४ पर्दा नै दिनभर हाउसफूल हुँदा निर्माताले पाउने भनेको ९ लाख हारहारीमा हो । यसैले एकैपटक देखिने २५ सय भन्दा बढी दर्शकको भीडमा कुनै कलाकार हराउँदा निर्माता दंग पर्न त सक्छ, तर मनदेखि खुशी हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment