Comments Add Comment

किन बिग्रियो नेपाली फिल्मको ग्रहदशा ?

नेपाली फिल्मको ग्रह-दशा नराम्ररी बिग्रिएको छ, अहिले । डेढ करोड हाराहारी बजेटमा, ३०/३५ जनाको समूहले, दुई महिना अविछिन्न खटेर बनाउने फिल्म हलमा जेनतेन तीन दिन टिक्दैन । एक शो पनि हाउसफूल हुँदैन । किन ?

जवाफ एक, बजेट कम भएर ।

जवाफ दुई, हलिउड/बलिउड फिल्मको ह्याकुलाले थिचेर ।

जवाफ तीन, घरेलु दर्शकले नेपाली फिल्मलाई माया नगरेर ।

यी सबै मनचिन्ते जवाफ हुन् । किनभने यसमा आंशिक सत्यता पनि छैन । वस्तुगत र वैज्ञानिक जवाफ फरक हुन सक्छ ।

एक– नेपाली फिल्ममेकर्सले सिनेमाको ‘मूल्य र मर्म’ बुझेनन् । सिनेमालाई केवल दाम कुम्ल्याउने ‘धन्दा’ ठाने । चम्किलो एवं रंगीन संसारको अधिनायक बन्ने दाउपेच बुझे ।

दुई- कलाकारले सिनेमाको ‘सौन्दर्य र शक्ति’ बुझेनन् । सिनेमालाई फगत ख्याती, प्रतिष्ठा र चर्चा आर्जन गर्ने टुल्स ठाने । रातारात सेलिब्रेटी बन्ने माध्याम माने ।

तीन– राज्यले सिनेमाको ‘उपादेयता र उपयोगिता’ बुझेनन् । सिनेमालाई केवल ‘मनोरञ्जन’ ठाने । मनोरञ्जनलाई फजुल र विलासिताको ‘जिनिस’ ठाने ।

चार- मिडियाले सिनेमाको ‘सामर्थ्य र प्रभावकारिता’ बुझेनन् । सिनेमालाई फगत तेस्रो स्तरको ‘कन्टेन्ट’ माने । ‘फिलर स्टोरी’ को स्तरमा राखे । सिकारु एवं प्रशिक्षार्थी पत्रकारले अभ्यास गर्ने खुकुलो बिट ठाने ।

सिनेमाको मर्म र मूल्य

बारम्बार भनिदै आएको छ, ‘सिनेमाले बजार खोज्छ । तर, वस्तुको होइन, सिर्जनाको बजार ।’

एउटा कथाकारले रचना/खोज अनुसन्धान गर्ने मौलिक कथालाई, एउटा पटकथाकारले घतलाग्दो ढंगले सट/दृश्य/अवस्थितिमा बदलेपछि, एउटा निर्देशकले आफ्नो विराट कल्पनाशिलता र प्रविधिको समूचित समायोजनबाट दृश्यभाषामा रुपान्तरण गरेको ‘कथानक श्रव्यदृश्य सामाग्री’ सिर्जनात्मक बजारमा खपत हुन्छ ।

यसर्थ सिनेमाबाट मुनाफा आर्जन गर्ने जुन रहर (ध्येय) हुन्छ, त्यो आफैमा खराब र गलत होइन । गलत के भने, सिर्जनाको यो खुला बजारमा कुरुप/कृत्रिम/आयतित ‘माल’को बिस्कुन फिजाएर बेच्ने चेष्टा गर्नु ।

सिनेमाको ‘मूल्य’ अनमोल छ । यो दस्तावेज हो, एक निश्चित समय र समाजको । कुनै कालखण्डकोे छायाँ-चित्र हो । यसभित्र त्यो समाज र समयले समेटेको चालचलन, रहनसहन, बोलीचाली, कला-संस्कृति, रीतिथिती, वेशभूषा, खानपान, सामाजिक मनोविज्ञान, प्रवृत्ति, भौगोलिक अवस्थिति सबै संग्रहित हुन्छन् ।

हामीले कहिल्यै सिनेमाको पाश्र्व ध्वनीमा मुर्चुङ्गा, बिनायो, टुङ्नाको धुन समाहित गरेका छौं ? के हामीले मारुनी, सोरठी तालमा हिरो-हिरोइनलाई नचाएका छौं ? के हामीले गौरा पर्व, माघे संक्रान्ति मेला, भोटे जात्रा, बिहीबारे हाटलाई पृष्ठभूमिमा राखेर दृश्यांकन गरेका छौं ?

हाम्रो समजले झेलेको, भोगेको, अनुभूत गरेको मर्मस्पर्शी विषय सिनेमा कन्टेन्ट हुन् । समाजले भन्न नसकेका वा भन्न नखोजेका कतिपय अव्यक्त/अदृष्य मुद्दा सिनेमाका मर्म हुन् । रीतिथिती, परम्परा, मिथक, खानपान, वेशभूषा, वोली-लवज सिनेमाका तत्व हुन् । यी सम्पूर्ण विवरण, विषय अनि तत्वलाई समूचित कोण र दृश्यांश (शट)मा खिप्नु निर्देशकिय शिल्प हो । यसमा दृश्य मात्र होइन, रंग, ध्वनी पनि समाहित हुन्छन् ।

स्वैर काल्पनिक, मनगढन्ते कथा, मिथक पनि सिनेमाका कन्टेन्ट हुनसक्छ । यद्यपि त्यसलाई विश्वसनीय, स्वभाविक र स्विकार्य ढंगले दृश्यभाषामा बदल्न सक्नुपर्छ ।

सिनमा यस्तै हुनुपर्छ, यिनै कुरा समेटिनुपर्छ, यसरी नै बनाउनुपर्छ भन्ने होइन । यो खुला क्यानभास हो, जहाँ एउटा शिल्पकारले स्वच्छन्द कुची चलाउन सक्छन् । तर, त्यसमा पोतिने रंग, रचना गरिने आकृति, दर्शाउने भाव चित्ताकर्षक एवं सुरुचीपूर्ण हुनुपर्छ ।

यो पनि पढ्नुहोस नेपाली चलचित्रको दुःख- खोट सिर्जनामा, दोष समीक्षकलाई !

कुनै मनगढन्ते कथामा, दश-पन्ध्र जना पात्रलाई हाउभाउ र टिपन टापन संवाद गर्न लगाएर केही थान फुटेज जोड्दैमा सिनेमाको मूल्य बन्दैन, जो अहिले हामीकहाँ बनिरहेका छन् ।

सिनेमाको शक्ति र सौन्दर्य

सिनेमाले सदियौं पुरानो इतिहासलाई ताजा बनाउन सक्छ, नामेट भइसकेको मुद्दा उत्खनन गर्न सक्छ, समाजका घतलाग्दा विषय केलाउन सक्छ, कुनै मान्यता वा विचार स्थापित गर्न सक्छ, सन्देश प्रवाह गर्नसक्छ ।

समाजले लुकाएको वा गुमाएको कुरा फर्काउन सक्छ । दुषित राज्य प्रणाली, खराब परम्परा, कुटिल चालबाजी बिरुद्ध आवाज छेड्न सक्छ ।

सिनेमासँग त्यो शक्ति र सौन्दर्य हुन्छ, जसले डेढ/दुई घण्टामा आम दर्शकको सम्पूर्ण ध्यान खिचेर आफुले भन्न खोजेको वा देखाउन चाहेको कुरामा सहमत गराउन सक्छ । त्यो पनि मनोरञ्जनात्मक भाषामा ।

यो एक बहुरंगी सांस्कृतिक हतियार हो । यसले आफ्नो भूगोलको कला-संस्कृति, भाषाशैली, पहिरन, खानपान अर्को भूगोलमा विस्तार गर्न सक्छ । फलतः हाम्रो लागि विश्व बजार खुकुलो हुँदै जान्छ । अनुकुल हुँदै जान्छ ।

जस्तो, बिलउडले सेरवानी-कुर्ता, लेहेंगालाई विश्व फेसन बजारमा पुर्‍याएको छ । बिरयानी, इड्ली डोसा, समोसा-पानीपुरीलाई विश्वको फुड मेनुमा समाहित गराएको छ । ताजमहल, गोवा, काश्मिर, कन्याकुमारीलाई विश्व पर्यटनको मानचित्रमा रेखांकन गरिदिएको छ । हिन्दी भाषालाई विश्व शब्दकोषको विशिष्ठ श्रेणीमा सूचीकृत गरिदिएको छ ।

आज कुनै पनि भारतीय विश्वको कुनै पनि कुनामा गएर सगर्व सेरवानी-लेहेंगामा ठाँटिएर, निर्धक्क हिन्दीमा बातचित गर्दै, बिर्यानीको स्वादमा रमाउन सक्छ । यसरी विश्व बजारमा आफ्नो सामाजिक, भौगोलिक र सांस्कृतिक उत्पादन विस्तार गर्नुमा बलिउडको अतुलनिय देन छ ।

यो पनि पढ्नुहोस चलचित्र निर्देशक : कलाका साधक कि व्यापारी ?

के यसैगरी हामीले कहिल्यै सिनेमाको पाश्र्व ध्वनीमा मुर्चुङ्गा, बिनायो, टुङ्नाको धून समाहित गरेका छौ ? के हामीले मारुनी, सोरठी तालमा हिरो-हिरोइनलाई नचाएका छौ ? के हामीले चटामरी, थकाली खाना, ढिंडो गुन्द्रुकलाई सिनेमाका तत्व स्विकारेका छौं ?

के हामीले हाकुपटासी, दौरासुरुवाल, ढाका, अल्लोलाई प्रोत्साहित गरेका छौं ? के हामीले गौरा पर्व, माघे संक्रान्ति मेला, भोटे जात्रा, बिहिबारे हाटलाई पृष्ठभूमिमा राखेर दृश्यांकन गरेका छौं ? के हामीले बडीमालिका, खप्तड, सन्दकपुर, शे फेक्सुन्डो तालको चिनारी दिएका छौं ? के हामीले बिजुवा, नासो, धामी, भूँमे पूजा, साकेला, देवीथान समेटेका छौं ?

वास्तवमा यी हाम्रा सिनेमाका यस्ता शक्तिशाली, घतलाग्दो, रैथाने र पेवा तत्व अनि सौन्दर्य हुन्, जो विश्वको अन्य सिनेमासँग छैन । पट्यारलाग्दो गरी वा गंभीर रुपमा यी कुराहरुको विवरण पेश गर्नुपर्छ भन्ने चाहिँ पटक्कै होइन । तर, हाम्रा सिनेमाका कथा, प्रसंग, दृश्यभित्र यी तत्वहरुलाई पृष्ठभूमिमा राख्न सकिन्छ ।

तर, हाम्रा फिल्ममेकर्ससँग यी सुक्ष्म तत्व र सौन्दर्य टिप्ने धैर्यता छैन । यी तत्व र सौन्दर्यलाई बुझ्ने रचनात्मक हृदय छैन । यी तत्व र सौन्दर्यलाई दृश्यभाषामा बदल्ने शिल्प अनि साधना छैन ।

त्यही कारण त हाम्रा फिल्ममेकर्स आधा दर्जन हिन्दी, अंग्रेजी वा अन्य भाषाको सिनेमा हेरेर त्यसका कथा, प्लट, दृश्य, संवाद, अभिनय उतार्ने कुचेष्टा गर्छन् । मरुभूमिमा उँट डोहोर्‍याउने पराईको कथालाई टिपेर भोटेकोसी किनारमा खच्चड तानिरहेको दृश्य खिच्छन् ।

विषयको खोजी र मेकिङ

अहिले नेपाली सिनेमाले झेलिरहेको मूल समस्या हो, कन्टेन्ट । अर्थात विषय, मुद्दा वा कथा । जबकी खोज्ने, घुम्ने, खोतल्ने, उत्खनन गर्ने हो भने, हरेक समाजमा, हरेक परिवारमा, हरेक व्यक्तिमा त्यस्ता कथा/कन्टेन्ट फेलापर्छ । तर, नेपाली फिल्ममेकर्स समाजसँग यसरी घुलमिल भएर कन्टेन्टको खोजीमा लाग्दैन, बरु सुकुटे रिसोर्ट वा गोकर्ण फरेष्ट रिसोर्टको वाताअनुकुलित कोठामा थुनिएर कनीकुथी कथा/पटकथा लेख्न बस्छन् ।

यसरी एकान्तमा बसेर बुद्धत्व प्राप्त भए झै सिनेमाका प्लटहरु धमाधम प्रकट हुन्छन् भन्ने निरीह मानसिकता छ ।

अर्को महत्वपूर्ण कुरा, सिनेमाको कन्टेन्ट जतिसुकै गहन र दुर्लभ भए पनि त्यसलाई दृश्य भाषामा बदल्ने शिल्प चाहिँ हुनुपर्छ । सिनेमाको खेल वा जादु भनेकै मेकिङ हो ।

गाईको गुणगाण भयांकर कथा हुने तर भ्यागुताको कुनै कथा नै नहुने होइन । डन्डीबियो गम्भीर कन्टेन्ट तर गुच्चा कुनै कन्टेन्ट नै नहुने होइन । मूल कुरा त त्यसको टि्रटमेन्ट हो ।

जस्तो, झमझम पानी परिरहेको छ । कुनै तालमा फैलिएको इन्द्रकमल फूलको पातमा टेकेको भ्यागुतो उपि|mने यत्न गर्छ, त्यो पनि अत्यान्तै सिनेम्याटिक दृश्य हुनसक्छ

भ्यागुताले पछाडिको खुट्टा थोरै खुम्चाउँछ । पेट फुलाउँछ । आँखा सर्तक बनाउँछ । र, फुत्त उफ्रिएर अर्को सुरक्षित ठाउँमा पुग्छ । यी दृश्यभित्र कथा, तर्क, भाव, सौन्दर्य, दर्शन सबै कुरा छन् ।

यसमा न्युटनको थर्ड ल अफ मोशन छ । चार्ल्स डार्विनले भनेझै ‘बाँच्नका लागि संघर्ष’ भन्ने दर्शन छ । । आकाशको पानी तालको सतहमा तप्किएको, भ्यागुता अडिएको पात, फक्रन लागेको इन्द्रकमल फूल यसको पृष्ठभूमि आफैमा अनुपम सौन्दर्य हुनसक्छ ।

अर्थात सिनेमाको कन्टेन्ट एउटा पाटो हो, त्यो भन्दा गहकिलो पाटो भनेको त्यसको टि्रटमेन्ट हो ।

हाम्रा सिनेमा किन चल्दैनन् ?

नेपाली फिल्ममेकर्सले संभवत हरेकबाट झेल्ने प्रश्न हो, ‘हाम्रा सिनेमा किन चल्दैन ?’ जबकि सिनेमा नचलेका होइनन्, सिनेमा सिनेमाजस्तै नबनेका हुन् ।

हिजो नुमाफुङ चल्यो, कवड्डी चल्यो, लुट चल्यो, पशुपतिप्रसाद चल्यो, जात्रा चल्यो ।

सिनेमा बनाउनुअघि घोत्लिने, ढंग पुर्‍याएर दृश्यांश कैद गर्ने, अर्थपूर्ण तरिकाले सिक्वेन्सहरु जोड्ने हो भने कुनैपनि सिनेमा दर्शकबाट अस्विकृत हुँदैनन् । तर, दर्शकलाई ‘मुर्गा बनाएर’ पैसा कुम्ल्याउने चेष्टाले जसरी कनीकुथी सिनेमा बनाइन्छ, त्यसले अन्ततः उनै निर्माता/निर्देशकलाई लोप्पा ख्वाउँछ ।

हाम्रो सिनेमा नचल्नुको मूलकारण हो, निर्देशकिय गुण, खुवीको अभाव हुनु । कथाको गहिराइ र मौलिकता नखोज्नु । चरित्र एवं पात्रको न्ययोचित रुपान्तरण नहुनु । सिनेमाको तत्व, शिल्प र सौन्दर्य नबुझ्नु वा उपेक्षा गर्नु ।

‘साँइली’ गीत हिट भएपछि त्यसलाई क्यास गर्ने हतारो हुन्छ । ‘छक्का पन्जा’ ब्लकबस्टर भएपछि त्यसको श्रृंखला बनाउने लोभ जाग्छ । तरकारीवालीले चर्चा पाएपछि उनको लोकपि्रयता बिकाउन फिल्म बनाइन्छ । यी दाउपेचभित्र सर्वथा अभाव हुने कुरा चाहिँ ‘साधना’ हो ।

भर्खर तंगिँदै गरेको शिशुले प्ले ग्रुपमा गएर एबीसीडी चिन्न र खिप्न जति साधना/मेहनत गर्छन्, त्यति मेहनत/श्रम/साधना एउटा सिंगो सिनेमा बनाउनका लागि हाम्रा फिल्म मेकर्सले गर्दैनन् । हचुवाको भरमा वा मनगढन्ते चिन्तनमा बहकिएर सिनेमा बनाउँछन् । यसरी निर्माण हुने सिनेमामा न मुटु हुन्छ, न स्पन्दन । निर्जीव दृश्यहरुको संगालो हेर्नका लागि दर्शक किन टिकटको लाममा बस्ने ? किन दुई/अढाई सय खर्च गर्ने ? किन दुई घण्टा गुजार्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment