
News Summary
Generated by OK AI. Editorially reviewed.- डेमोन स्लेयर : किमेत्सु नो याइबा द मूभी इन्फिनिटी क्यासल बुधबार रिलिज भएसँगै नेपालमा १ करोड रूपैयाँभन्दा बढी व्यापार गरिसकेको छ।
- यो जापानी एनिमे फिल्मले अमेरिकन बक्स अफिसमा नम्बर १ स्थान हासिल गरेको छ र विश्वभर आक्रामक कमाइ गरिरहेको छ।
कुनै प्रचार छैन । मिडियाबाजी छैन । हलहरू गतसाता भएको जेनजी प्रदर्शनबाट प्रभावित छन् । आममान्छेहरूलाई फिल्म हेर्ने खासै रूचि छैन । राजनीतिक घटनाक्रमहरूमै बढी चासो छ ।
यति हुँदाहुँदै पनि एउटा जापानी फिल्मले भने नेपाली बक्स अफिसमा तहल्का पिटिरहेको छ । फिल्मले स्क्रिन पनि राम्रै संख्यामा पाएको छ । त्यो फिल्म हो-डेमोन स्लेयर : किमेत्सु नो याइबा द मूभी इन्फिनिटी क्यासल ।
यसै बुधबार मात्र रिलिज भएको यो फिल्मले अहिलेसम्म १ करोड रूपैयाँ बढी व्यापार गरिसकेको छ । अब सप्तान्त पनि आइरहेकाले फिल्मले नेपालबाट डेढदेखि २ करोडसम्म कमाइ गर्ने अनुमान गरिएको छ ।
तर, यो फिल्मले नेपालमा मात्र नभएर विश्वभर नै अहिले आक्रामक कमाइ गरिरहेको छ । अमेरिकन बक्स अफिसमा त फिल्म नम्बर १ मै रहेको छ । त्यो भनेको हलिउडमाथिको ठूलो चुनौती पनि हो । छोटकरीमा यो फिल्मलाई इन्फिनिटी क्यासल पनि भनिन्छ ।
के छ फिल्ममा ?
एक वाक्यमा भन्दा इन्फिनिटी क्यासल ‘डेमोन स्लेयर’ नामक माङ्गामा आधारित एउटा जापानी एनिमे फिल्म हो । फिल्ममा मुजान किबुत्सुजी नामक राक्षस विरुद्धको अन्तिम युद्धको सुरुवाती कथा देखाइएको छ । जो इन्फिनिटी क्यासल नामक स्वरूप लगातार परिवर्तन भइरहने घरमा बस्छ ।
फिल्ममा तानजिरो कामादो नामक पात्र हुन्छ । उसको परिवारलाई त्यही राक्षसहरूले मारेका हुन्छन् । अनि, उसकी बहिनी नेजुको पनि राक्षस बन्छे । त्यसपछि कामादो राक्षस मार्ने मान्छे बन्छ । ऊ आफ्ना साथीहरू जेनित्सु र इनोसुकेसँग मिलेर ‘डेमोन स्लेयर कोर्प्स’ समूहमा सामेल हुन्छ । उनीहरूको मुख्य काम राक्षसहरूलाई मार्नु र नेजुकोको उपचार खोज्नु हुन्छ ।
त्यसबीचमा केके हुन्छ ? भन्ने कथा फिल्ममा देखाइएको छ ।
फिल्मको इतिहास
यो फिल्मको इतिहास बुझ्न कोयोहारू गोतोउगेले लेखेका ‘डेमोन स्लेयर’ मङ्गासम्म पुग्नुपर्ने हुन्छ । जुन सन् २०१६ मा शोनेन जम्प नामक साप्ताहिक म्यागजिनमा छापिन सुरु भएको थियो । त्यस पत्रिमा यो माङ्गा २०२० सम्म छापिएको थियो ।
त्यस माङ्गाले कथा र पात्रहरूका कारण चाँडै नै लोकप्रियता कमायो । यसको लोकप्रियतापछि माङ्गलाई एनिमेमा रूपान्तरण गरिएको थियो । जुन काम सन् २०१९ मा युफोटेबल स्टुडियोले गरेको थियो । जसलाई टेलिभिजन शृङ्खलाको रूपमा देखाइएको थियो । जुन विश्वभरका दर्शकहरूमाझ चर्चित हुन पुग्यो ।
त्यही सफलतापछि सन् २०२० मा मुगेन ट्रेन नामक एनिमे फिल्म बनाइयो । त्यसले जापानको बक्स अफिसका सबै कीर्तिमान तोड्यो । अहिले जापानमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको पहिलो नम्बरमा यही फिल्म रहेको छ ।
त्यसपछि निर्माताले ‘डेमोन स्लेयर’को अन्तिम कथालाई तीन फिल्ममा देखाउने निर्णय गर्छन् । त्यही अनुसार इन्फिनिटी क्यासल अहिले रिलिज भएको हो । अब डेमोन स्लेयरको अन्तिम कथाहरूमा आधारित बाँकी दुई फिल्महरू क्रमशः आउनेछन् । तर कहिले आउँछन्, मिति तोकिएको छैन ।
इन्फिनिटी क्यासलको सफलता
कुनै समय जापानी एनिमेसन सीमित दर्शकहरूका लागि मात्र हो जस्तो गरिन्थ्यो । तर, अहिले यसले यस्तो बक्स अफिस कमाइ गरिरहेको छ, जुन प्रायः सुपर हिरो र एक्सन सिक्वेल फिल्महरूमा मात्र हुने गर्थ्यो ।
अहिले डेमोन स्लेयर एनिमे विधामा हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । जापानको घरेलु बक्सअफिसमा यसैको अघिल्लो एनिमे गुमेन ट्रेनपछि सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ यो।
तर, डेमोन स्लेयरको यो सफलता रातारात भएको होइन । दशकौंदेखि यसका प्रशंसकहरू थिए । ९० को दशकमा अकिरा (१९८८) र घोस्ट इन द शेल (१९९५) जस्ता फिल्महरूले दर्शकलाई आकर्षित गरे । १९९९ मा पोकेमोन फिल्म हेर्न धेरै मानिस थिएटरमा गए । त्यसपछि स्टुडियो घिब्लीका फिल्महरू पनि निकै लोकप्रिय भए ।
त्यो क्रेजका कारण पछिल्लो ५ वर्षमा एनिमे फिल्महरू अमेरिकाका थिएटरहरूमा धेरै देखिन थालेका थिए । जस्तो, ड्र्यागन बल सुपर: ब्रोली (२०१९) ले तीन करोड डलर, जुजुत्सु काइसेन (२०२२) ले साढे तीन करोड डलर, सुजुमे (२०२३) ले एक करोड डलर, मुगेन ट्रेनले पाँच करोड डलर बढी कमाएका थिए । तर ती सबैलाई उछिन्दै इन्फिनिटी क्यासलले भने एकै हप्तामा सात करोड डलर बढी कमाएको हो ।
हलमा बाहेक नेटफ्लिक्स, क्रन्चिरोल, हुलु जस्ता स्ट्रिमिङ साइटहरूका कारण पनि मान्छेहरूलाई एनिमे हेर्न सजिलो बनाइदिएको छ । २०२५ को पहिलो ६ महिनामा मात्रै नेटफ्लिक्सका मानिसहरूले ४.४ अर्ब घण्टा एनिमे हेरेको तथ्याङ्क छ ।
नेटफ्लिक्सका अनुसार यसका कुल सब्सक्राइबरहरूमध्ये ५० प्रतिशतभन्दा बढीले अहिले एनिमे हेर्छन् । जुन संख्यामा करिब ३० करोड हुन आउँछ ।
विशेषत: एनिमे जेनजी पुस्तामा अत्यन्तै लोकप्रिय छ । नेपालमा पनि इन्फिनिटी क्यासल हेर्न बढीजसो जेनजी नै पुगेको चलचित्र संघले बताएको छ । तथ्याङ्ककै कुरा गर्दा अमेरिकामा जेनजीहरूमध्ये करिब ४२ प्रतिशतले हरेक हप्ता एनिमे हेर्छन्, जुन एनएफएल जस्ता प्रमुख खेल हेर्ने मानिसभन्दा पनि धेरै हो ।
एनिमेको फ्यान बढाउनमा सामाजिक सञ्जालले धेरै ठूलो भूमिका निर्वाह गरेको छ । उदाहरणका लागि, रेडिटमा एनिमे नामक सबरेडिट छ, जसमा १ करोड ४० लाख बढी त सदस्य नै छन् । यो बाहेक अन्य धेरै सबरेडिट पनि छन् । त्यस्ता ग्रुपहरूमा एनिमेका क्लिप, एडिट, मिमहरू असंख्य मात्रामा भेटिन्छ ।
यो फिल्म नेपालमा किन चर्चित छ ?
प्रत्यक्ष-अप्रत्यक्ष तरिकाले नेपालमा कोरियाली र जापानी कलासंस्कृतिले ठूलो प्रभाव पारेको छ । चाहे त्यो केपप होस् या जापानी माङ्गा अथवा एनिमे । अनि त्यो प्रभाव हालैका वर्षहरूमा मात्र भएको होइन ।
दशकौंदेखि त्यो प्रभाव नेपालमा पर्दै आइरहेको छ । विशेषत: अहिलेका शहरी नवपुस्ताबीच माङ्गा धेरै चर्चित छ । यहीकारण यो फिल्म नेपालमा खासै चर्चा नहुँदा पनि बक्स अफिसमा सफल भइरहेको हो ।
प्रतिक्रिया 4