
२४ चैत, काठमाडौं । मोबाइल गेम पब्जीका कारण विदेशमा किशोरकिशोरीले आत्महत्या गरेको समाचार वेलावेला आइराख्छन् । छिमेकी मुलुक भारतको गुजरातमै यो गेममाथि प्रतिबन्ध लागिसकेको छ भने अन्य विभिन्न शहरमा पनि प्रतिबन्ध लगाउने पर्ने माग उठ्न थालेको छ ।
भारतकै मध्यप्रदेशका एक युवकले पब्जी खेल्ने क्रममा पानी भनेर एसिड पिएका थिए । उनलाई उपचारका लागि अस्पताल त लगियो तर, अस्पतालमा पनि उनले खेल्न छाडेनन् । यो समस्या अहिले नेपालमा पनि उत्तिकै रुपमा चर्किएको छ ।
यहाँ कुनै अपि्रय घटना त भएको छैन तर, यही अवस्था रहिरहेका आफ्ना सन्तानको भविष्य अन्धकार हुने बताउँदै अभिभावकले प्रहरी गुहार्न थालेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार पछिल्लो समय विभिन्न विद्यालयका पि्रन्सिपल र अभिभावकहरुले प्रहरीलाई यो गेममाथि नियन्त्रण लगाउन आग्रह गर्न थालेका छन् ।
‘तर, हामीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा जानकारी गराएर प्रहरीमा पनि लिखित निवेदन दिन भनेका छौं’, सिंहले अनलाइनखबरसँग भने, ‘शिक्षकहरुले प्याब्सनमा कुरा उठाएर संस्थागत रुपमै निवेदन दिने बताउनु भएको छ ।’
यो गेमका कारण पढाइ प्रभावित भएको अभिभावकहरुको गुनासो छ । पब्जी खेल्ने व्यक्तिहरु अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो छु भन्ने होस पनि हुँदैन । उनीहरु अनलाइनमार्फत समूह यो खेल खेल्छन् ।
खेलकै क्रममा उनीहरुले साथीहरुसँग कुराकानी पनि गर्नसक्छन् । र, उनीहरुको मद्दत पनि लिन सक्छन् । एसएसपी सिंह पब्जीमाथि के गर्न सकिन्छ भनेर बुझ्ने काम भइरहेको बताउँछन् ।
पब्जीबारेका केही तथ्य
दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो । पब्जीको पूरा रुप PlayerUnknown’s Battlegrounds(PUBG) हो ।
पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।
आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् ।
प्रतिक्रिया 4