Comments Add Comment

प्रदेशसभामा सांसदको प्रश्न- स्थानीय तह भ्रष्टाचारमा डुब्दा पनि किन कारवाही हुन्न ?

२५ चैत, बुटवल । प्रदेश ५ का स्थानीय तहहरु भ्रष्टाचारमा चुर्लुम्मै डुबेको दावी गर्दै कारवाही गर्न प्रदेश सभाका सदस्यले सरकारसँग माग गरेका छन् ।

प्रदेश सभाको सोमबारको वैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसबाट प्रतिनिधित्व गर्ने नवलपरासीका सांसद बैजनाथ कलवार जैसवालले स्थानीय तहहरुमा मौलाएको भ्रष्टाचार र स्थानीय तहमा प्रदेश सभा सदस्यको भूमिका शून्य हुँदा संघीयता नै खतरमा पर्ने औंल्याए ।

‘धेरै स्थानीय तहहरु भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन्,यसलाई कसरी रोक्ने ?’ सांसद जैसवालले भने, ‘स्थानीय तहहरुमा प्रदेशसभा सदस्यको भूमिका पनि शून्य छ,यसले संघीयता खतरामा पर्छ ।’

सांसद जैसवालले स्थानीय तहहरुको ध्यान नदीजन्य पदार्थमा गएको र कतै टेण्डर गरेर त कतै कानूनलाई चुनौती दिंदै नदीजन्य पदार्थको उत्खनन् र बिक्री भइरहेको बताए ।

सांसद जैसवालले स्थानीय तहहरुले नदीजन्य पदार्थ बिक्रीमा ठूलो रकम अनियमितता गरेको दावी गर्दै अहिलेसम्म एउटा पनि स्थानीय तहलाई कारवाही नहुँदा भ्रष्टाचार मौलाएको बताए ।
२०७१ सालमै बन्द गर्न भनिएका क्रसर उद्योगहरु अहिलेपनि निर्वाध चलिरहेको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

क्रेसर उद्योगहरुले २० रुपैयाँको बिल काटेर ६५ रुपैयांमा बिक्री गर्ने गरेको सांसद जैसवालको दावी छ ।

उद्योग तथा व्यवसायिक र्फमको नवीकरण नहुँदा सरकारको करोडौं राजस्व गुमेको भन्दै उनले अन्य प्रदेशले गर्न हुने तर ५ नंं प्रदेशले किन नवीकरण नगरेको भनी प्रश्न गरे ।

सरकारको वेवास्ताका कारण चुरे षेत्र पनि संकटमा परेको भन्दै सांसद जैसवालले नदीजन्य र खानीजन्य समपदाको उचित व्यवस्थापन गर्न सके मात्रै प्रदेश समृद्ध बन्ने औंल्याए ।

वैठकको शून्य समयमा बोल्दै सांसद दीपा विकले महिलाहरुमा हुने आङ खस्ने समस्याको निःशुल्क उपचार प्रभावकारी नभएको गुनासो गरिन् ।

सरकारी अस्पतालमा ६ महिना कुरेर उपचार गराउनुपर्ने वाध्यता हटाउन प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुनिता ठठेरले समाचार लेखेकै कारण लुम्बिनीका पत्रकार विन्दु चौहानकी अपांगता भएकी छोरीलाई अपहरण गरेर छाडिएको भन्दै उनले शान्ति सुरक्षा कायम गर्न र प्रेस स्वतन्त्रता विरोधी काम गर्नेलाई कारवाही गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment