Comments Add Comment

जाजरकोटका दुर्गम बस्तीमा खानेपानीको समस्या

Photo Credit : अनलाइनखबर फाइल

२७ चैत, जाजरकोट । दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुन सकेको छैन् । करिब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक-पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ ।

स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीयवासी समस्यामा परेका छन् । खानेपानी अभावमा यहाँ रहेको जनता आधारभूत विद्यालयका दुई सय विद्यार्थी समेत प्रभावित भएका छन् ।

गाउँका महिला र बालबालिकाले पानी ओसारपसारमै समय खर्चिने गरेका छन् । कतिपय स्थानीयवासी आकाशे पानी सङ्कलन गरेर गुजारा चलाउन बाध्य रहेका स्थानीयवासी मने कामीले बताए ।

पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भएको उनको भनाइ छ । गाउँ आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिङ्गो गाउँ रहेको स्थानीयवासी सावित्रा विकले बताए । उनले भने, ‘एक गाग्री पानी ल्याउन घण्टौं पालो कुनुपर्ने, त्यसैमा दूषित पानी छ, कपडा धुन र नुहाउन दुई घण्टा टाढाको घाटखोला जानुपर्ने बाध्यता छ  ।’ महिनावारी र सुत्केरी महिलालाई सरसफाइमा झन समस्या हुने गरेको बताइएको छ ।

जलवायु परिवर्तन, बढ्दो वन विनाश, बाढी पहिरो, सुक्खा खडेरीलगायत कारण गाउँमा खानेपानीको समस्या बढ्दै गएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । उनले भने , ‘वृहत खानेपानी आयोजनाको पहलमा छौँ, प्रदेश सरकारले सहयोग गरेमा अर्को वर्ष खानेपानीको समस्या हल हुनेछ ।’ गाउँपालिकाको बजेटबाट सो खानेपानी आयोजना निर्माण गर्न अर्थ अभाव रहेको शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment