Comments Add Comment

देवघाटमा अष्टधातु शिवमूर्ति बनाउन काठमाडौंमा महायज्ञ

२८ चैत, काठमाडौं । चितवनको देवघाटधाममा अष्टधातुबाट शिवको मूर्ति बनाउन काठमाडौँमा महायज्ञ आयोजना गर्न लागिएको छ ।

अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्तिसहित जमिनमुनि पूजा कोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्राम गृह, पार्कसहितको आकर्षक संरचना निर्माणका लागि वैशाख १ गतेदेखि ११ गतेसम्म महायज्ञ गर्न लागिएको देवघाट संरक्षण प्रतिष्ठानले जानकारी दिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाममिश्रित धातुबाट शिवको मूर्ति निर्माण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको जानकारी दिएको छ ।

प्रतिष्ठानले यसअघि चितवन दाङलगायत विभिन्न जिल्लामा महायज्ञ सञ्चालन गरेर धातु र अर्थ सङ्कलन गरेको थियो । त्यसले नपुगेपछि काठमाडौँको पशुपतिनाथमा महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिए ।

काठमाडौँको पशुपतिनाथस्थित हङ्शमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’मा तीन करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा हुने महायज्ञमा तीन करोडको बेलपत्र चढाउने तथा एक करोड दिप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्वीन्टल धातु र ३२ लाख रुपैयाँ रकम सङ्कलन भएको छ । सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग प्राप्त भएको छ । अष्टधातुबाट शिवको मूर्ति बनाउन आठ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

२३ लाख सहयोगको घोषणा

महायज्ञ शुरु हुनु अगावै विभिन्न क्षेत्रका समाजसेवीले २३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । बिहीबार नै काभ्रेपलाञ्चोक धुलीखेलका बनाथकाजी श्रेष्ठले १ लाख रुपैयाँ सहयोग घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment