Comments Add Comment

८ करोड लिएर सहकारी सञ्चालक फरार, प्रशासनसँग वचतकर्ताको गुहार

२८ माघ, वीरगञ्ज । वीरगञ्ज इनर्वा–१६ बस्ने राम श्याम साह कानुले छोरीको पढाइ खर्चका लागि प्राइम बचत तथा ऋण सहकारी संस्थामा मुद्धती खातामा रकम जम्मा गरे ।

छोरी रेखाकुमारीको नाममा ०७४ साल मंसिरमा जम्मा गरेको रकम ०७९ जेठमा दोब्बर हुने दावी सहकारी सञ्चालकले गरेका थिए । रकम दोब्बर हुनु त परको कुरा भएको रकम समेत फिर्ता नआउने स्थिति बनेपछि अहिले उनी प्रशासनको शरणमा छन् ।

वीरगञ्ज ८ लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण सञ्चालक र कर्मचारी फरार भएपछि शेयरधनी र बचतकर्ताहरु उनीहरुको खोजीका लागि प्रशासनको शरणमा छन् । ‘दोब्बर दिने भनेकोले छोरीको पढाइका लागि काम लाग्छ भनेर मुद्धती खातामा रकम जम्मा गरेको थिएँ, अहिले बरबाद भएँ’ श्यामले भने ।

सहकारी सञ्चालकको बदमासीका कारण बाराको सुवर्ण गाउँपालिका २ बड्की फुलबारीयाका रञ्जयकुमार सिंहको करोडौं मूल्यको जग्गा लिलामीको अवस्थामा पुगेको छ । सहकारीबाट लिएको ५० लाख रुपैयाँ ऋणको अधिकांश हिस्सा उनले तिरिसकेका रहेछन् । तर उनको जग्गा प्राइम सहकारीले राष्ट्रिय सहकारी बैंकमा दृष्टिबन्धक राखेर लिएको १ करोड ५० लाख रुपैयाँ लिएको छ ।

उनको जग्गा लिलाम गर्नेबारे सहकारी बैंकले फागुन ३० गते नै सूचना निकालेको छ । सञ्चालकलाई जग्गा लिलाम हुन लाग्यो भनेर तिर्न आग्रह गर्दा कुरा मिलाउँछु भनेर टार्दै आएका थिए । ‘ऋण चुक्ता गर्नुप¥यो भन्दा भइहाल्छ, म बैंकसँग कुरा गरेर मिलाइहाल्छु भन्थे । पछि जाँदा त ताल्चा लगाएको पाएँ’ उनले भने ।

सहकारी संस्थाका सञ्चालक फरार भएपछि श्याम र रञ्जय मात्रै होइन, सयौं बचतकर्ताहरु अत्ताल्लिएका छन् । उनीहरुले प्राइम सहकारीका अध्यक्ष रौतहट सखुअवा धमौरा घर भई वीरगज १८ बस्ने राजेश पटेल, वरिष्ठ उपाध्यक्ष भारती गुरुङ, उपाध्यक्ष रामलक्ष्ण तिवारी, महासचिव रुपेशकुमार गुप्ता, कोषाध्यक्ष रिताकुमारी पोखरेल, सचिव शिक्षा थापा र बजार प्रबन्धक ओमप्रकाश रौनियारलगायत विरुद्ध उजुरी दिएका छन् ।

संस्थाका अध्यक्ष पटेल र कोषाध्यक्ष पोखरेल श्रीमानश्रीमती हुन् । २०६६ सालमा स्थापना भएको प्राइम सहकारीका सञ्चालकहरु चैत २४ गते आइतबार फरार भएका थिए । उनीहरुले निक्षेपकर्ताको आठ करोड रुपैयाँ भन्दा बढी रकम लिएर भागेको आरोप लागेको छ ।

वीरगञ्ज १३ बस्ने उर्मिला क्षेत्रीलगायतले २ लाख २० हजार निक्षेप सहकारीमा रहेको दावी गर्दै प्रशासनमा निवेदन दिएका छन् । त्यस्तै वीरगञ्ज महानगरपालिका २ बस्ने सुलमान मियाँसमेत २४ जनाले पनि सहकारी सञ्चालकविरुद्ध उजुरी दिएका छन् ।

सहकारीको कार्यालयमा प्रशासनको ताल्चा

झण्डै तीन दर्जन उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले बन्द अवस्थामा रहेको सहकारीको कार्यालयमा अर्को ताल्चा लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले बिहीबार ताला लगाएको हो ।

‘सहकारी सञ्चालक बचतकर्ताको रकम हिनामिना गरी एक सातादेखि नै फरार रहेको लिखित र मौखिक निवेदनहरु आएका छन् । घरधनीसहितको रोहबरमा कार्यालयमा ताल्चा लगाएका छौं’ उनले भने ।

सहकारी र सञ्चालकको नामममा रहेको चल अचल सम्पत्ति, बैंक मौज्दातबारे जानकारी लिएर र बचतकर्ताको निक्षेप सुरक्षित गर्ने योजनामा लागेको उनले जानकारी दिए ।

बिहीबार नै शर्मा नेतृत्वको टोलीले वीरगञ्जको आदर्शनगरमा रहेको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको वित्तिय अवस्थाको बारेमा जानकारी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment