Comments Add Comment

साझा प्रकाशनले भन्यो- डोलिन्द्रसँग कारोबार नगर्नू

२९ चैत, काठमाडौं । साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा साझाबाट अलग भइसकेका छन् । उनले दिएको राजीनामा चैत १ देखि लागू हुनेगरी सरकारले स्वीकृतसमेत गरिसकेको छ ।

तर, महाप्रबन्धकको भूमिकामा रहँदा अनेक विवादमा मुछिएका डोलिन्द्रले पदबाट राजीनामा दिए पनि साझा भने अझै उनीबाट सशंकित देखिएको छ । डोलिन्द्रले अझै पनि अनियमितता गर्ने त्रासमा साझा छ भन्ने कुरा उनले राजीनामा दिएको झण्डै एक महिनापछि प्रकाशित सूचनाबाट संकेत मिल्छ ।

त्यसैले साझा प्रकाशनले चैत २९ गते एक सार्वजनिक सूचना नै जारी गरेर डोलिन्द्र साझाबाट अलग भएको जानकारी गराएको छ र उनीसँग कुनै पनि काम कारबाही तथा कारोबार नगर्न/नगराउन उसले सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ ।

यो पनि पढ्नुहोस साझामा शर्माको अवैध धन्दाः पुरानो किताबको कभर फेर्दै मूल्य बढाउँदै

सूचनामा लेखिएको छ, ‘साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको मिति २०७५/१२/१ देखि लागू हुनेगरी राजीनामा स्वीकृत भएकाले निजसँग साझा प्रकाशनसम्बन्धी कुनै पनि काम कारबाही तथा कारोबार नगर्न नगराउनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’

साझाको महाप्रबन्धकमा नियुक्त भएदेखि नै डोलिन्द्रमाथि कागज खरिददेखि पुस्तक छपाइसम्मको प्रक्रियामा अनियमितता गरेको आरोप लाग्दै आएको थियो । यसबारे विभिन्न निकायमा छानबिन माग गर्दै उजुरी परेको थियो । साझाका कर्मचारी पनि उनको वहिर्गमन माग गर्दै विरोधमा उत्रिएका थिए । चौतर्फी विरोधपछि शिक्षा मन्त्रालयले स्पष्टीकरण सोध्दै बर्खास्त गर्यो र यसबारे छानबिन गर्न अख्तियारलाई आग्रह गर्‍यो । तर, सर्वोच्चले पुनर्वहालीको फैसला गर्‍यो ।

त्यसअघि विभिन्न निकायमा उजुरीपछि डोलिन्द्र आफैंले राजीनामा दिएका थिए । तर, तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले उनको राजीनामा अस्वीकृत गर्दै काममा फर्काएका थिए ।

यो पनि पढ्नुहोस जीएमको सपना देखाउनेलाई खानपिन गराएकै हुँ

शर्मालाई ०७१ मा तत्कालीन शिक्षा मन्त्री चित्रलेखा यादवले साझाको महाप्रबन्धक नियुक्त गरेकी थिइन् । रोचक त के छ भने भ्रष्टाचार विवादमा मुछिएका शर्माले ‘बादलमाथिको घाम’ पुस्तक लेखेका छन् । जसमा साझामा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुराको वर्णन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment