Comments Add Comment

पार्टी एकता कहिले टुंगिन्छ भन्ने प्रश्नले दिक्क भइसक्यौं : सुरेन्द्र पाण्डे

१० दिनभित्र पार्टी एकता टुंगिने दावी

२९ चैत, वीरगञ्ज । नेकपा नेता सुरेन्द्र पाण्डेले पार्टी एकताको प्रक्रिया वैशाख ९ गतेसम्ममा टुंगिने दावी गरेका छन् । उनले पार्टी एकता कहिले सकिन्छ ? भन्ने प्रश्नबाट आफूहरु हैरान भएको बताउँदै छिट्टै यसलाई टुंगोमा पुर्‍याउने बताए ।

४० औं शिक्षक दिवस तथा अम्बिका सिंह स्मृति शिक्षा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता पाण्डेले नेकपाको स्थापना दिवससम्ममा पार्टी एकता प्रक्रिया टुंगिसक्ने दावी गरे ।

‘हामीलाई जहिले पनि तिम्रो पार्टी कहिले एकता भइसक्छ ? भनेर प्रश्न सोध्ने गरिन्छ । जवाफ दिँदैमा दिक्क भइसक्यौं’ नेता पाण्डेले भने ‘नेकपाको स्थापना वि.स. २००६ साल २२ अप्रिलमा भएको हो त्यही दिनसम्ममा यसलाई टुग्याउने गरि आन्तरिक रुपमा लागेका छौं । ’

मुख्यतः जिल्ला कमिटि बनाउने र जनवर्गीय संगठन मिलाउने दुईवटा काम बाँकी रहेको बताउँदै उनले वैशाख ९ गतेभित्र यसलाई टुंगोमा पुर्‍याउने दावी गरे ।

उनले शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको खाँचो देखिएको बताए । अहिलेको शिक्षा व्यक्तिगत र व्यवहारिक जीवनमा काम लाग्ने खालको नभएको भन्दै उनले पाठ्यक्रम र पढाउने शैलीमा परिवर्तन गर्नुपर्ने बताए । ‘किताबलाई व्यवहारमा कसरी उतार्ने भनेर पढाउनुपर्छ । इनोभेटिभ छात्र छात्रा निकाल्ने शिक्षकलाई सम्मान गर्नुपर्छ’ उनले भने ।

यसबर्ष अम्बिका सिंह स्मृति शिक्षा पुरस्कार पूर्वप्रधानाध्यापक जगनाथ तिवारीलाई प्रदान गरिएको छ । सिद्धार्थ माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तिवारीलाई २५ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आमा अम्बिका सिंहको स्मृतिमा छोरा अरविन्द सिंह र अकलेश सिंहले चार वर्षदेखि शिक्षा पुरस्कार प्रदान गर्दै आएका छन् ।

कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ३२ जना शिक्षकलाई सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संंगठनका जिल्ला अध्यक्ष शिवनाथप्रसाद थारुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment