Comments Add Comment

टोर्नाडो प्रभावितको मानसिक स्वास्थ्यमा समस्या !

३० चैत, वीरगञ्ज । विनाशकारी टोर्नाडो हुरीबाट प्रभावित भएकाहरुमा पोष्ट ट्रमाटिक स्टे्रस डिसअर्डर (पीटिएसडी)को समस्या देखिएको छ ।

चैत १७ गते आएको हुरी टोर्नाडोबाट २८ जनाको मृत्यु भएको थियो भने केही हजार घरमा क्षति पुगेको छ । घरसँगै परिवारका सदस्य समेत गुमाएका सर्वसाधरणहरुमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दामा निन्द्रा नलाग्ने, आकाशमा कालो बादल देखिने वित्तिकै अत्तालिने, बर्बराउने, डराउने जस्ता समस्या देखिएको छ । कतिपय मानिसहरु भूत आयो, आगो आयो भन्दै बरबर्राउने समेत गरेका छन् ।

विशेषगरि परिवारका सदस्य गुमाएका परिवारको बालबालिका र महिला र वृद्धवृद्धामा बढी समस्या देखिएको छ । मानसिक रोग विशेषज्ञ डा. भरत गोइत भन्छन्, ‘अभिभावक गुमाएका बालबालिकाको अवस्था झनै खराब छ ।’

कतिपयलाई मनोसामाजिक परामर्शसँगै औषधी दिनुपर्ने उनले बताए ।

डा गोइतको टोलीले हुरी प्रभावित फेटा गाउँपालिका वडा नं १ भलुहीमा मानसिक स्वास्थ्य शिविर नै सञ्चालन गरेका छन् ।

चिकित्सकको टोलीले शिविरमा आएका हुरी प्रभावित सर्वसाधरणलाई मनोसामाजिक परामर्श दिनुको साथै आवश्यक पर्नेलाई औषधी समेत वितरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । चिकित्सकहरुले धेरै चिन्ता नलिन, घरसम्पत्ती र परिवारका सदस्य गुमाउँदाको चोटलाई भुलेर नियमित काम धन्दामा लाग्न, बालबालिका लक्षित खेलकुदका क्रियाकलाप सञ्चालन गर्न, हुरी बतास चलेको र कालो बादल लागेको अवस्थामा बालबालिकालाई एक्लै नछोड्न, काखमा राखेर भरोशा दिन सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment