Comments Add Comment

तिलोत्तमाको ६ लेन सडक बुद्धमय बनाइँदै

हरेक ३ सय मिटरमा तीन फिटको वुद्ध मूर्ति

१ वैशाख, बुटवल । नौला र रचनात्मक काम गरेर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फेरि अर्को नयाँ काम शुरु गरेको छ । तिलोत्तमाले नगरपालिकामा पर्ने ६ लेन सडकलाई लिटिल बुद्ध र पञ्चम बुद्धका मुर्तिले सजाउँदैछ ।

६ लेन सडकको डिभाइडरमा नगरपालिकाले तीनसय मिटर दुरीको फरकमा २२ वटा बुद्ध मुर्ति राख्दैछ । नगरपालिकाको उत्तर सिमाना योगीकुटीमा उत्तर फर्काएर तथा दक्षिण सिमाना कटैयामा दक्षिण फर्काएर लिटिल बुद्धको मुर्ति राखिनेछ ।

बीचको खण्डमा पञ्चम बुद्धको मुर्तिहरु पनि केहीलाई उत्तर फर्काएर त केहीलाई दक्षिण फर्काएर राखिने छ । बुद्ध मुर्ति राखेसंगै सो आसपासको क्षेत्रलाई बेगनबेली फूलले ढकमक्क बनाइने छ ।

सडकको बीचको डिभाइडरमा बुद्ध मुर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयां वजेट छुट्टाएको छ । जसमध्ये चालु आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य छ । प्रदेश ५ सरकारले मनाउन थालेको लुम्बिनी भ्रमण वर्षलाई समेत सफल बनाउने लक्ष्यसहित नगरभित्रको ६ लेन सडकलाई बुद्धमय बनाउन थालिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

२७ लाख रुपैयाँको बुद्ध मुर्ति अर्को आर्थिक वर्षमा स्थापना गर्ने बुद्ध मुर्ति स्थापना व्यवस्थापन समिति संयोजक एवं नगर कार्यपालिका सदस्य एचबी रम्तेलले बताए । ‘यो वर्ष योगीकुटीदेखि मंगलापुरसम्म बुद्ध मुर्तिहरु स्थापना गर्छौं,बांकी अर्को वर्षमा’ रम्तेलले भने ।

सिमेन्टबाट बनेको बुद्ध मुर्तिलाई बाहिरी आवरणलाई गोल्डेन रंगले पहेंलो बनाइएको छ । बुद्ध मुर्ति रुपन्देहको शुद्धोधन गाउपालिकाका बुद्ध चौधरीले बनाएका हुन् । डिभाइडरमाथि ३ फिटको बेसमेन्ट बनाएर त्यसमाथि ३ फिट र साढे ३ फिटका बुद्ध मुर्तिहरु राखिने छन् ।

सडकको डिभाइडरमा सबै बुद्ध मुर्ति राखिसक्दा नगरपालिका प्रवेश गर्ने जो कोहीलाई बुद्ध जन्मस्थल लुम्बिनी नजिकै आएको आभास हुने र नगरपालिकाको सुन्दरीकरण पनि हुने भएकाले यो कार्यक्रमलाई प्राथमिकतामा पारेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

सडकको डिभाइडरको बीचबीचमा बुद्धकी आमा मायादेवी र बुबा शुद्धोधनको मुर्ति र बुद्धसंग सम्बन्धित लडिया (काठको गाडा) पनि राख्ने तयारी भइरहेको मुर्ति संयोजक रम्तेलले बताए ।

नगरको सुन्दरीकरणका लागि तिलोत्तमाले हरियाली प्रवर्द्धन, ६ लेन सडकका डिभाइडरहरुमा सिटी फ्लावरका रुपमा बेगनबेली फूल रोपेर हराभरा बनाइरहेको छ । नगरवासीको सहभागितामा वृहत सरसफाई अभियान चलाउंदै आएको छ । यस्तै नगरपालिकालाई प्लास्टिकमुक्त नगर बनाउने अभियान पनि सञ्चालन गरेको छ ।

पर्यटनमन्त्रीबाट लिटिल बुद्ध मुर्ति अनावरण

तिलोत्तमा नगरपालिकाले ६ लेन सडकलाई बुद्धमय बनाउने अभियान अन्तर्गत आइतबार तिलोत्तमाको योगीकुटीमा स्थापना गरिएको लिटिल बुद्ध मुर्तिको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।

उनले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६लाई सफल बनाउन पनि नगरपालिकाको यो अभियानले सहयोग पुर्‍याउने बताए । तिलोत्तमाको ६ लेन सडक बुद्धजन्मस्थल लुम्बिनी आउने आन्तरिक र वाह्य पर्यटकले यात्रा गर्ने मुख्य सडक भएकाले बुद्धका सन्देश, उपदेशलाई स्मरण गराई समाजमा शान्ति र अहिंसाको प्रवर्द्धन र बुद्ध जन्मस्थल आइपुगेको आभास दिन लिटिल र पञ्चम बुद्धका मुर्ति स्थापनाले ठूलो महत्व राख्ने मन्त्री गिरीले बताए ।

लुम्बिनी भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मन्त्री गिरीले यसलाई सफल बनाउन स्थानीय तहहरुको सहयोग महत्वपूर्ण हुने बताए । तिलोत्तमाका मेयर बासुदेव घिमिरेले नगरपालिकाभित्र पर्यटन व्यवसाय गर्ने लगानीकर्तालाई कर छुट दिने नीति रहेको बताउँदै पर्यटनमा प्रचुर सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले निकट भविष्यमै नगरपालिकाले लगानी सम्मेलन गर्न थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment