Comments Add Comment

‘ओली र प्रचण्ड योजनाविनाका नेता’

सांसद मेटमणि चौधरी भन्छन्– मतदातालाई सूर्यछाप जस्तापाता बाँड्छु

२ वैशाख, काठमाडौं । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रभित्रका खरका सबै घरहरुमा टिनको छानो लगाइदिने घोषणा गरेका थिए ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले पनि देशभरका खरको छानो हटाउने भनेर ६ अर्ब बजेट विनियोजन गर्‍यो । सरकारले खरको छानो भएका परिवारलाई टिनको छानो हाल्न ५० हजारका दरले रकम उपलब्ध गराउने गरी कार्यविधि पनि बनाइसकेको छ ।

यसरी आफ्नो चुनावी नारा पूरा हुने देखेका सांसद चौधरीले भने आफ्नो निर्वाचन क्षेत्रमा एकीकृत बस्ती नै बसाल्ने योजना बनाएका छन् । एउटा एकीकृत बस्तीमा ५ सयवटा घर, विद्यालय, स्वास्थ किल्निक, पसल लगायतका संरचनाहरु हुने उनले बताए ।

‘आर्थिक वर्ष ०७७/०७८ भित्र मेरो निर्वाचन क्षेत्रका सबै पालिकामा एकीकृत बस्ती बनाउँछु’, सांसद चौधरीले भने, ‘त्यसका लागि दातृ निकाय र संघीय सरकारका मन्त्रीहरुसँग समन्वय तथा आर्थिक सहायताका लागि चीन र भारत सरकारसँग कुरा भइरहेको छ ।’

मतदातालाई सूर्यछाप छाना

‘प्रधानमन्त्री गुटमा सीमित हुनुभयो, प्रचण्डले पार्टीमा बुहारी विना मगरभन्दा सिनियर नेताहरु देख्नुभएन, छोरीका लागि भरतपुरमा मरिहत्ते गर्नुभयो ।’

आफ्नो निर्वाचन क्षेत्रका चारवटा पालिकामा ५५/५६ सय परिवार रहेको उल्लेख गर्दै चौधरीले ती सबैका लागि एकीकृत बस्ती बसाल्न करिब १५ करोड रुपैयाँ आवश्यक रहेको बताए । ‘एउटा सांसदलाई १२/१५ करोड जुटाउन गाह्रो कुरा होइन’, उनले भने, ‘त्यति जुटाउने भनेको निर्माण सामाग्रीका लागि हो, जुन म सक्छु ।’

जस्तापाता सरकारले दिने, ईंट्टासहित निर्माण सामाग्री आफूले जुटाउने र जनताले आफ्नो घरको गाह्रो आफैं लगाउने चौधरीले बताए । त्यसरी ०७६ भित्र ५ सय परिवार बस्ने चारवटा एकीकृत बस्ती बनाउने योजनामा अगाडि बढेको उनले बताए ।

‘प्रत्येक घरको छानाको सरकारी टिनमा हाम्रो पार्टीको चुनाव चिन्ह सूर्य हुन्छ’, सांसद चौधरीले भन्छन्, ‘जनताले राति सुत्दा पनि छानामा सूर्य चिन्ह देख्न सकुन्, बाहिरबाट पनि जो कोहीले देख्न सकोस् ।’
छानामा चुनाव चिन्ह राख्दा अन्य दल र स्वयम् घरधनीहरुले मान्लान् त ? यस विषयमा प्रतिक्रिया आउन सक्ने तर, आफूले वीपी स्मृति भवन र जनमोर्चालाई अर्को घर पनि बनाइदिने घोषणा गरेको उनले बताए । ‘एक्सन लिएपछि क्रियाप्रतिक्रिया आउन सक्छ’, उनले भने, ‘त्यसमा मलाई कुनै प्रवाह छैन ।’

नेकपा सांसद चौधरीले पक्की घरहरु भएको एकीकृत बस्ती आफ्नो सानैदेखिको सपना भएको बताए । ‘फुसको घर चैत बैशाखमा जल्ने, साउन भदौमा चुहिने हुँदा कुनै बेला यो ठाउँमा पुग्छु र पक्की घर बनाउछु भन्ने सपना थियो’, चौधरीले अनलाइनखबरसँग भने ‘यही गर्छु भनेर भोट मागेँ, यसकारण यो मेरो प्रतिष्ठाको विषय पनि भयो ।’

सरकार र नेकपा नेतृत्वको आलोचना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका सांसद मेटमणि चौधरीले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना पनि गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको गुटमा रहेका उनी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘योजनाविनाका नेता’ भन्छन् ।

‘पञ्चायतविरोधी आन्दोलनमा लाग्नुभएका प्रचण्ड र केपी ओलीले यति चाँडै फटाफट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा दुई तिहाइ बहुमतको कम्युनिष्ट पार्टीको सरकार चलाउन पाइएला भन्ने अनुमानै गर्नुभएको थिएन’, उनी भन्छन्, ‘अनुमान नै नगरेका नेताले यो–यो गरौंला भनेर योजना बनाउने कुरै भएन ।’

प्रधानमन्त्री ओलीले सपना देखाए पनि योजना नहुँदा परिणाम दिन नसकिरहेको चौधरीको विश्लेषण छ । ‘प्रधानमन्त्री गुटमा सीमित हुनुभयो’, सांसद चौधरीले थपे, ‘प्रचण्डले पार्टीमा बुहारी विना मगरभन्दा सिनियर नेताहरु देख्नुभएन, छोरीका लागि भरतपुरमा मरिहत्ते गर्नुभयो ।’

केपी ओलीबारे चौधरीको थप टिप्पणी छ, ‘प्रधानमन्त्री भनेको देशको हो, तर, ओली प्रधानमन्त्री भएर बोल्दा कांग्रेसलाई गाली गर्नुहुन्छ, पार्टी अध्यक्ष भएर बोल्दा आफ्नै पार्टीका नेताहरुलाई उडाउनुहुन्छ । यो तरिका ठीक भएन ।’

पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे उनले भने, ‘अध्यक्षद्वयको नियत सफा देखिएन । आधार बनाएर एकता गरे केन्द्रदेखि वडासम्म एकै दिनमा सकिन्थ्यो, तर थालियो व्यक्ति छान्न । के आधारमा छान्ने ? योगदान, योग्यता, पढाइ, पैसा, उमेर केका आधारमा ? दुई अध्यक्षले रुचाएको ब्यक्तिलाई नेतृत्व दिन खोज्दा पार्टी एकीकरण अप्ठ्यारोमा पर्‍यो ।’

अध्यक्षद्वयले पार्टी एकीकरणका लागि रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाएर खेलौनाझैं खेलाएको उनले बताए । ‘अन्तिममा थापाले म सक्दिनँ भन्नुभयो’, चौधरी भन्छन्, ‘सचिवालय बैठकमा कार्यदल भंग गर्न हुन्न भन्ने आवाज उठ्दा उठ्दै केपी ओलीले त्यो खेलौनालाई खारेज गर्नुभयो ।’

‘सिण्डिकेट रघुवीर महासेठले फासफुस फारे’

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रिपरिषदका सदस्यहरुका कारण केपी शर्मा ओलीले बोलेका धेरै कुरा कार्यान्वन नभएको सांसद चौधरी बताउँछन् । यातायात क्षेत्रको सिण्डिकेट हटाउने कुरालाई यातायात मन्त्री रघुवीर महासेठले फासफुस पारेको आरोप लगाए ।

चौधरीले भने, ‘महासेठ पैसाकै बलमा पार्टीको स्थायी कमिटी सदस्य बने, पैसा देखाएरै चुनावमा टिकट पाए । अहिले मन्त्री छन् । उनी ‘करप्ट’ समूहका प्रतिनिधि हुन् । उनैले गृहमन्त्रीलाई दबाव दिएर यातायात क्षेत्रको सिण्डिकेट हटाउने कुरालाई फासफुस पारे ।’

यस्ता मान्छे नेकपाभित्र कारबाहीमा नपरेर ‘प्रमोशन’ भएको देख्दा आफुलाई अचम्म लागिरहेको उनले बताए । भारतबाट तेल ल्याइराख्न मन्त्री महासेठले ग्यासबाट चल्ने गाडीको बाटो रोकेको उनको आरोप छ । उनले भने ‘यो विषय लिएर केही सांसद साथीहरु महासेठकोमा जाँदा उल्टै ‘तपाईहरु घुस खाएर आउनु भएको ?’ भन्दै फर्काएछन् ।’

कम्युनिस्ट पार्टीको सरकार भएको बेला समाजको सबभन्दा तल रहेका कमैया, हलिया, सुकुम्बासी, दलित आदिको पक्षमा धेरै काम हुनुपर्ने प्रधानमन्त्रीलाई घेरा हालेर बसेकाहरुकै कारण माथिल्लो वर्गलाई मात्र फाइदा हुने निर्णयहरु भइरहेको सांसद चौधरीले बताए ।

‘विष्णु पौडेलले राजीनामा दिनुपर्छ’

चौधरीले भूमाफियासंग नाम जोडिएको भन्दै पार्टीका महासचिव विष्णु पौडेलले राजीनामा दिनुपर्ने बताए । ‘त्यो तहका पदाधिकारीको नाम किर्ते गरिएको सरकारी जग्गासँग जोडिएपछि पार्टीले पनि अनुसन्धान गर्नुपर्छ’ उनले भने, ‘नैतिकता छ भने पौडेलले पनि तत्काललाई आफैँ राजीनामा दिनुपर्छ ।’

बालुवाटारको जग्गा पौडेलले किनेको नभएर काम मिलाइदिए बापत्त भूमाफियाले कमिसनमा दिएको ठोकुवा आरोप उनले लगाए । ‘उहाँले किनेकै भए पनि चोरीको सुन भनेर जानी जानी सस्तोमा किन्नुभयो र अहिले समातिनुभयो’, सांसद चौधरीले भने, ‘यति भइसकेपछि कम्युनिस्ट पार्टीका महासचिवले पदमा बसिरहन सुहाउँदैन ।’

पार्टीमा बोल्न पाइएन

नेकपाको केन्दीय कमिटी बैठक नबस्दा सदस्यहरुले कुरा राख्नै नपाएको गुनासो चौधरीले गरे । यसले गर्दा नेतृत्वले सही, गलत जे भन्यो, त्यही मान्नुपर्ने स्थिति आएको भन्दै उनले यसमा पनि पार्टी नेतृत्वको आलोचन गरे । नेकपाका केन्द्रीय सदस्य चौधरीले भने, ‘नेतृत्वको निर्देशन पालना मात्र गर्ने कठपुतली त होइनौं होला हामी ?’

चौधरीका अनुसार, कुनै बेलाको सोभियत रुसमा कम्युनिस्ट सरकार हुँदा पार्टी नेतृत्वले दायाँ गोडाको जुत्ता वायाँ गोडामा, वायाँ गोडाको जुत्ता दायाँ गोडामा लगाउ भन्दा पनि बहस हुँदैनथ्यो । ‘अहिले रसियाको कम्युनिष्ट पार्टीको हालत के भयो ?’, चौधरीले प्रश्न गरे, ‘अहिले हामी बोलेनौं नेकपा पनि त्यो स्थितिमा पुग्छ, अहिलेको नेतृत्व सच्चिन आवश्यक छ ।’

संसारकै कम्युनिष्ट आन्दोलनलाई नेपालले नेतृत्व गर्नुपर्छ भन्ने ठाउँमा पुगेको बेला नेतृत्व भ्रष्टहरुका वीचमा रमाएको र लुट्ने छुट दिएको आरोप सांसद चौधरीले लगाए ।

यस्तो बेलामा केन्द्रिय बैठक नराखेर बोल्न पनि नदिएको उनको भनाइ छ । आफु स्वतन्त्रताका लागि कम्युनिस्ट पार्टीमा लागेको बताउँदै चौधरीले भने, ‘म अहिले गलतविरुद्व बोल्न चाहन्छु । भन्न चाहन्छु– केपी कमरेड सुध्रिनुपर्छ, प्रचण्ड कमरेड सुध्रिनुपर्छ । अरु नेताहरु पनि सुध्रिनुपर्छ ।’

‘संसदमा कांग्रेस देखिनँ’

सांसद चौधरीले संसदमा प्रमुख प्रतिपक्ष भएर पनि नदेखिएको टिप्पणी गरे । ‘नेपाली कांग्रेसको चिसो भइसक्यो जस्तो लाग्छ मलाई’ उनले भने, ‘संसदमा सरकारले ल्याएका विजनेशमा रहेका गलत कुरा बिरुद्व बरु नेकपाका सांसदहरु बोल्छन्, कांग्रेस बोलेको देखिएन ।

त्यसो त, सरकारले संसदलाई जति विजनेश दिनुपर्थ्यो त्यो दिन नसकेको, सत्तापक्षका साँसदहरुले सरकारको समर्थन गर्नैपर्ने जस्तो भइरहेको अनुभव पनि उनले सुनाए । ‘आज कुन विधेयक आउँदैछ भन्ने जानकारीसम्म दिइदैन’, उनले भने, ‘यो ठीक भइरहेको छैन ।’

संसदमा भ्रष्टाचार, बलात्कार, हत्याहिंसा, तस्करी जस्ता विषयमाथि पर्याप्त छलफल हुन नसकिरहेको उनलाई लागेको छ । ‘प्रमुख प्रतिपक्ष दुईतिहाइको सरकारसँग नियुक्तिहरुमा भाग खोज्नेमा सीमित भएको छ’, सांसद चौधरी भन्छन्, ‘सत्तापक्षका धेरैजसो सांसदले सरकारको बोलीमा लोली मिलाउँदा जनता समस्या ओझेलमा पर्न थालेको छ ।’

प्रमुख प्रतिपक्षी कांग्रेसलाई सांसद चौधरीको सुझाव छ, ‘दुईतिहाई बहुमतको कम्युनिस्ट सरकार बनेका बेला भाग नखोज, प्रमुख प्रतिपक्षीको भूमिकामा खरो उत्र ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment