+
+
Shares

कांग्रेसको टिप्पणी : प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते २०:३०

२ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा संस्कार शून्य देखिएको टिप्पणी गरेको छ । उसले विपक्षी दलहरुतर्फ लक्षित गर्दै नन्दी भृंगी भनेकोमा आपत्ति समेत जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसले प्रधानमन्त्रीका अभिव्यक्तिहरु पदीय जिम्मेवारी अनुसार नभएको बताएको छ ।

सार्वजनिक मञ्चबाटै विपक्षी कांग्रेसप्रति तिखो टिप्पणी गर्दै आएका प्रधानमन्त्री ओलीले आइतबार प्रधानमन्त्री ओलीले विपक्षी दलहरुलाई ‘नन्दी भृंगी’ को संज्ञा दिएका थिए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्रीले जे भन्नुभएको छ, त्यो आपत्तिजनक छ ।’

प्रधानमन्त्रीले कहिले विपक्षीमाथि अरिंगाल भई जाइलाग भनेर कार्यकर्तालाई अपील गरेको, कहिले वुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिएको स्मरण गर्दै कांग्रेसले भनेको छ, ‘प्रधानमन्त्रीका यस्ता आपत्तिजनक अभिव्यक्तिको कांग्रेस भत्र्सना गर्दछ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यूलाई हेक्का रहोस् देश सरकारको नेतृत्व गरेर मात्रै बन्दैन संस्कारको पनि नेतृत्व गर्न सक्नुपर्छ’ उनले भनेका छन् ।

प्रधानमन्त्रीका अभिव्यक्तिहरुमा पदीय उचाई अनुरुपको गरिमा हुनपर्नेमा उसले जोड दिएको छ ।

‘टेलिभिजनमा प्रधानमन्त्री बोल्न थालेपछि मनोरञ्जन प्राप्त गर्दा सम्म त ठिकै हो अन्यथा उहाँका कतिपय अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नु पर्ने स्थिति आउनु अत्यन्त दुःखद छ’ कांग्रेसले भनेको छ ।

सरकारको काम उत्साहजनक रहेन

कांग्रेसले सरकारको कामकारबाहीका हिसावले २०७५ साल उत्साहजनक नरहेको पनि बताएको छ । सरकारले सुरुमा देखाएको आशा अनुसारको काम हुन नसकेको भन्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीज्यूले भनेजस्तै सुरुमा केही आशा गरेका थियौं । प्रदेशहरुको नामाकरण, कर्मचारी समायोजन, बजेट जस्ता विषयमा जुन अपेक्षा थियो, त्यस अनुसारको काम हुन सकेन ।’

२०७५ सालमा प्रधानमन्त्रीले आफूमा शक्ति केन्द्रित गरेको विपक्षी कांग्रेसको आरोप छ । ‘शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्त विपरीत एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रीकृत गरियो’ प्रवक्ता शर्माले भने, ‘अर्कातिर संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयास गरियो ।’

संवैधानिक परिषद र न्यायपालिका सरकारको छायाँ बनेको कांग्रेसको आरोप छ । प्रधानमन्त्री निकटकै व्यक्तिमाथि भ्रष्टाचार आरोप लागेको, राष्ट्रिय गौरवका आयोजना भ्रष्टाचारकै कारण उल्झनमा परेको कांग्रेसले बताएको छ ।

२०७५ सालको असफलताबाट पाठ सिकेर वर्ष २०७६ सालमा जिम्मेवार अभिव्यक्ति र जिम्मेवार व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री ओलीलाई शर्माले सुझाव दिए ।

प्रदेश सरकारको कामकारबाही उत्साहजनक नभएको मात्र होइन, शून्य प्रगतिमा रहेको कांग्रेसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?