Comments Add Comment

बानेश्वर घटनाको पाठ : सशस्त्र प्रहरीका गाडीमा अब गोप्रो क्यामेरा

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि सशस्त्र प्रहरी निकै आलोचित भयो । नहोस् पनि किन ? पछुवा गाडी सशस्त्रको थियो र जिकज्याक शैलीमा चलाउँदा स्कुटरलाई ठक्कर दिएको थियो ।

अब सशस्त्र प्रहरीले आफ्ना आफ्ना सवारीसाधनमा ग्रोप्रो क्यामरा जडान गर्ने निर्णय गरेको छ । अहिले सशस्त्रका वरिष्ठ उपरीक्षक (एसएसपी) देखि माथिल्लो दर्जाका सबै अधिकृतको गाडीको अगाडिको भागमा गोप्रो क्यामरा जडान गरिएको छ ।

अपरेशनमा जाने गाडीमा पनि क्यामरा फिट गरिएको छ । पहिलो चरणमा ४ सय वटा गोप्रो विभिन्न युनिटमा बाँडिएको स्रोतको भनाइ छ । काठमाडौं बाहिर गण, बाहिनी र गुल्ममा २५० वटा बाँडिएको छ भने ५० वटा मुख्यालयमा प्रयोग गरिएको छ ।

बानेश्वरको जस्तै दुर्घटना हुँदा अनुसन्धानका लागि सहज हुने भएकाले ग्रोप्रो क्यामरा फिट गरिएको अधिकारी बताउँछन् । बानेश्वर घटनामा पनि एक जना सर्वसाधारणको गोप्रो क्यामराबाट खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अनुसन्धानपछि महानगरीय ट्राफिक महाशाखाले सवारी चालकलाई जरिवाना तिराएको थियो ।

सशस्त्र प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिको सामना गर्न छुट्टै सेल खडा गर्ने योजना रहेको बताउँछन् ।

उनका अनुसार बलको मुख्यालयमा सक्षम र प्रविधिमैत्री साइबर अपराध र आईटी सम्बन्धी सेल राख्न लागिएको हो । सशस्त्र प्रहरीलाई प्रविधियुक्त बनाउने योजना अनुरुप नै गोप्रो, ड्रोन लगायतका उपकरण प्रयोगमा ल्याइएको उनी बताउँछन् ।

यो पनि पढ्नुहोस मिसनमा जाने सशस्त्र प्रहरीको १५० डलर काट्ने व्यवस्था खारेज

सीमामा सीसीटीभीबाट निगरानी

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सीसीटीभीबाट निगरानी गर्ने भएको छ । हाल सीमा क्षेत्रमा रहेका १ सय ६ बोर्डर आउट पोस्ट (बीओपी) मा सीसी टीभी राख्न लागिएको हो ।

महानिरीक्षक शैलेन्द्र खनालकाअनुसार गृहमन्त्रालयले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा भएको बीओपीलाई प्रविधियुक्त बनाउने बुँदा अनुरुप यो अभियान थालिएको हो । उनका अनुसार बलले सीसी टीभीसँगै ड्रोन र गोप्रो क्यामेराको पनि प्रयोग गर्नेछ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठका अनुसार पहिलो चरणमा नमुनाका रुपमा १० वटा बीओपीमा सीसी क्यामेरा राखिनेछ । ‘सीसी क्यामेरा खरिदका लागि बजेट आएर टेण्डर प्रक्रिया पनि सुरु भइसकेको छ’, डीआईजी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एक/डेढ महिनाभित्रै सबै प्रक्रिया पूरा गरेर प्रयोगमा ल्याउँछौं ।’ यद्यपि, पहिलो चरणमा कहाँ कहाँ क्यामरा राख्ने भन्ने निक्र्याैल भइनसकेको उनले बताए ।

पहिलो चरणमा प्रभावकारिता हेरेर क्रमशः अन्य वीओपीमा पनि सीसी क्यामरा राखिँदै लगिने उनले बताए । ड्रोन भने विशेष गरी विपदको समयमा विकट ठाउँको रेकी र पहाड, भीर, पाखामा ड्रोन उपयोगी हुने डीआईजी श्रेष्ठको भनाइ छ ।

‘बाटो नभएको ठाउँमा सर्भिलेन्सका लागि ड्रोन प्रयोग गर्ने हो’, उनले भने, ‘उद्दारको समयमा विकट क्षेत्रमा कोही घाइते छ वा शव छ कि भनेर हेर्न पनि ड्रोन काम लाग्छ ।’

हाल उत्तरी सीमामा सशस्त्र प्रहरीको पोष्ट छैन । तर, ती क्षेत्रमा पनि आफ्नो युनिट राख्ने तयारी सशस्त्र प्रहरीको छ । ‘नयाँ आर्थिक वर्षभित्र उत्तरको ५ ठाउँमा बीओपी राख्ने हाम्रो योजना हो’, श्रेष्ठ भन्छन्, ‘भौगोलिक अवस्था, प्रतिकुल मौसमका कारण केही समस्या हुने भएकाले हामी हाल अध्ययनमै छौं ।’

उनका अनुसार अहिले कतिपय ठाउँमा जग्गा खोज्ने काम भइरहेको छ ।

यो पनि पढ्नुहोस सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment