Comments Add Comment

प्रेस काउन्सिलको त्रुटि ! पत्रकारलाई हत्कडी

२ वैशाख, काठमाडौं । पोखराका पत्रकार अर्जुन गिरीलाई सोमबार विहान कास्की प्रहरीको फोन आयो, एउटा सल्लाह गर्नुछ आउनु पर्‍यो ।

क्राइम बिटमा कमल चलाइरहेका उनी प्रहरीसामू हाजिर भए । ‘केही समाचारका लागि हो कि भनेर पुगेको थिएँ’, गिरीले अनलाइनखबरसँग भने, ‘तर, त्यहाँ पुगेर थाहा पाएँ, मेरोविरुद्ध ४ दिनअघि नै पक्राउ पूर्जी जारी भइसकेको रहेछ ।’

समाचारको विषयलाई लिएर दीपेन्द्रराज वतासले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका रहेछन् । त्यसआधारमा ब्युरोले जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिन कास्की प्रहरीलाई परिपत्र गरेको रहेछ ।

गिरीले कास्कीका डीएसपी रविन्द्र गुरुङलाई आफ्नो अनलाइन दर्ता भएको बताउँदै केही उजुरी भए प्रेस काउन्सिलले कारबाही गर्ने बताए । उनले गिरीको कुरा सुनेनन्, काठमाडौं जानै पर्ने बताए । किनकि, ब्युरोले कास्की प्रहरीलाई गिरीको अनलाइन प्रेस काउन्सिलमा दर्ता नभएको बताइसकेको थियो ।

पत्रकार पक्राउ परेको खबर उनी काठमाडौं आइनपुग्दै फैलियो । नेपाल पत्रकार महासंघ लगायतका पत्रकारहरुको संगठनहरुले तत्काल रिहा गर्न माग गरे ।

समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने प्रेस काउन्सिल रहेको तर, पत्रकारलाई पक्राउ गरेर ‘साइबर क्राइम’मा मुद्धा चलाउनु गलत भएको सबैको तर्क छ ।

तर, त्यसवेलासम्म उनलाई ब्युरोमा ल्याएर हत्कडी लगाइसकिएको थियो । नलगाओस् पनि किन ? प्रेस काउन्सिलले नै गिरीको अनलाइन दर्ता नभएको पत्र दिएको थियो ।

प्रेस काउन्सिलको त्रुटी

उजुरीकर्ता विपेन्द्रराज वतास प्रहरीसामू जानु अघि प्रेस काउन्सिल पुगेका पनि रहेछन् । तर, काउन्सिलले चैत २६ गते वतासलाई पत्र लेखेर ताण्डवन्युज डटकम आजको मितिसम्म काउन्सिलमा सुचिकरणमा नपरेको पत्र थमायो ।

त्यसपछि वतास सीआईबी गए । त्यसआधारमा कास्की प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

जब पत्रकारलाई पक्राउ गरेर काठमाडौं ल्याइयो, ताण्डवन्युज काउन्सिलमा दर्ता भएको खुल्यो ।

काउन्सिलले पनि आफ्नो गल्ती स्वीकार गरेको छ । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुलास भन्छन्, ‘अभिलेखमा टान्डव लेख्दा अंग्रेजी टाइपमा एउटा अक्षर गल्ती भएको रहेछ । त्यही कारण अभिलेखमा नभेटिएको भनेर पत्र गयो ।’

सम्बन्धित शाखाका कर्मचारी विदामा भएको र अर्को शाखाका कर्मचारीले अभिलेख हेर्दा पनि त्रुटि भएको उनको तर्क छ । साथै, काउन्सिलले आफ्नो कमजोरीप्रति माफी माग्दै सीआईबीलाई ताण्डव न्यूज दर्ता भएको पत्र पठाएको छ ।

काउन्सिलको पत्र सीआईबीमा पुग्दा जिल्ला अदालत, काठमाडौं बन्द भइसकेको थियो । त्यसैले बाँकी कानुनी प्रक्रिया पूरा गर्न भन्दै प्रहरीले पत्रकार गिरीलाई मंगलबार विहान १० बजे हाजिर हुने गरी छाडेको छ ।

उनलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट लगायतको रोहवरमा छाडिएको छ । तर, उनीविरुद्ध सीआईबीमा परेको उजुरी खारेज भने भइसकेको छैन ।

सीआईबीका निर्देशक भन्छन्– ट्वीस्ट आयो तर, बयान गराउँछौं

सीआईबीका निर्देशक निरजबहादुर शाही प्रेस काउन्सिलको त्रुटिले अनुसन्धानमा ट्वीस्ट आएको बताउँदै कानुनी परामर्श लिइने बताउँछन् ।

‘हामीले अहिले त्यतिकै छाड्न मिल्दैन । बिरामी भएकाले भोलि उपस्थित हुने गरी आज छाडेका हौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले भने, ‘मुद्दा दर्ता भइसकेका कारण हामी बयान गराउँछौं ।’

उनका अनुसार बयानपछि सरकारी वकिलसँग सल्लाह गरेर मात्र निर्णय हुनेछ । ‘सरकारी वकिलले मुद्दा नचलाउने राय दिए प्रक्रिया अघि बढ्दैन नत्र कानुन बमोजिम हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment