Comments Add Comment

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनको सुरुङको ‘ब्रेक थ्रू’ भोलि

Photo Credit : रासस

२ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको मंगलबार ‘ब्रेक थू’ हुँदैछ । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो ।

औपचारिक घोषणाका लागि सुरुङको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकि राखिएको छ । मंगलबार आयोजनास्थलमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ खन्ने काम सकिएको घोषणा गर्ने तय भएको आयोजनाकाका निर्देशक सञ्जीव बरालले अनलाइनखबरलाई जानकारी दिए ।

‘औपचारिक घोषणा कार्यक्रमको सबै तयारी सकिएको छ, प्रधानमन्त्रीज्यु सुर्खेत आउने पनि पक्का भएको छ’, उनले भने ।  उनका अनुसार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहित प्रदेश मन्त्रीहरु पनि सहभागी हुँदैछन् ।

बबई किनारबाट सुरुङभित्र पसेको टीबीएम मेसिन मंगलबार भेरी किनारमा निस्किनेछ ।  टीबीएमले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तिखालबाट चिप्लेसम्म सुरुङ खनेको हो ।

विगतको जस्तो ड्रिलिङ र ब्लास्टिङ जस्ता परम्परागत ढंगबाट भन्दा टीबीएम मेसिनबाट १० गुणा बढी दैनिक २० मिटर सुरुङ खनेपछि लक्ष्य भन्दा अगाडि नै सम्पन्न भएको छ ।

आयोजना अन्तर्गत हात्तीखालदेखि ६ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘फल्टजोन’ मा पनि टीबीएमले सफलतापूर्वक काम गरेको थियो । जोखिमपूर्ण मानिएको उक्त चुरे पर्वत पार गरेसँगै यो नमूना आयोजना सफल भएको छ ।

भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिञ्चाई सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । सिञ्चाइ अभावमा बाँझो हुने बाँके र बर्दियाका खेतियोग्य जमिन आयोजना बनेपछि सिञ्चाई हुनेछ ।

आयोजनाबाट दुई जिल्लाका ५१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ । बाह्रै महिना सिञ्चाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न अपेक्षा छ ।

पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिञ्चाइ योजना विस्तार गर्ने योजना छ ।

चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

जमिनमा सिञ्चाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण रहेको आयोजना प्रमुख बरालले बताए ।

साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिञ्चाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९/८० सम्म सक्ने लक्ष्य छ ।

पावरहाउस, ब्यारेजको काम बाँकी

सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिएपनि आयोजनामा त्यसको फिनिसिङदेखि अन्य पूर्वाधारको काम भने बाँकी छ । यो बर्खाभरी सुरुङको फिनिसिङ गरिनेछ ।

त्यसपछि परीक्षणका रुपमा सुरुङबाट झण्डै १० घनमिटर भेरीको पानी बबईमा खसाल्न थालिनेछ ।  सुरुङ निर्माणको सकिएको घोषणा भएपछि सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम शुरु गर्ने तयारी छ ।

आयोजना प्रमुख बराल पावरहाउस र ड्याम निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको अनलाइनखबरलाई बताए ।
दुई ठूला संरचना निर्माणका लागि विश्वव्यापी टेण्डर आह्वान गरिने उनले जानकारी दिए ।

सिञ्चाई विभागले यसको प्रक्रिया अघि बढाइसकेको जनाएको छ । भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिनेछ ।

१ सय १४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुने आयोजना प्रमुख बरालले बताए । ब्यारेजमा ६ वटा गेट निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment