Comments Add Comment

‘ए मेरो हजुर ३’ चल्दा अनमोल चम्किए, सुहाना उदाइन्

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को व्यापारले चलचित्र क्षेत्रमा उत्साह मात्र थपेको छैन, चहलपहल पनि बढेको छ । हलमा दर्शकलाई आकर्षित गर्न सकेको खण्डमा लगानी उठ्ने मात्र होइन नाफा पनि राम्रै कमाउन सकिन्छ भन्ने सोच फेरि निर्मातालाई पलाउन थालेको छ । हुनत, ‘ए मेरो हजुर ३’ले बम्पर कारोबार गर्दै गर्दा अन्य निर्माता मख्ख पर्न भन्दा पनि राम्रो चलचित्र बनाउनतर्फ अग्रसर हुन आवश्यक छ ।

यो चलचित्रको व्यापारिक आँकडा सार्वजनिक भएको छैन । तर, चलचित्रको विकेन्ड कलेक्शन मात्र नभई, सोमबार पनि व्यापारको उछाल कमजोर बनेको छैन । यसकारणले पनि चलचित्र लामो रेशको घोडा बन्नेमा चलचित्रकर्मी विश्वस्त छन् ।

चलचित्रका निर्माता सुनिलकुमार थापाले ४ दिने कलेक्शन पूर्ण रुपमा आफूलाई प्राप्त नभएकाले सार्वजनिक नगरेको बताउँदै ४ दिने व्यापारले आफू सुरक्षित हुने बाटोमा लागेको बताए । काठमाण्डौको क्यूएफएक्सले शुक्रबार ११ शोज दिएपनि मंगलबार १४ शोज चलचित्रलाई दिएको छ । यसबाट पनि चलचित्रको व्यापारिक आँकडा सहजै अनुमान लगाउन सकिन्छ ।

शुक्रबार नै बम्पर ओपनिङ गरेको चलचित्रको व्यापार शनिबार र आइतबार आक्रामक थियो । बिदाका कारण इनिसियल व्यापार भएपनि सोमबारबाट कम हुने धेरैको अनुमान थियो । तर, सोमबार पनि चलचित्रले आफ्नो व्यापारिक रफ्तारलाई कायम गरेपछि निर्माता खुशी देखिनु स्वभाविक हो ।

अनमोल चम्किए
चलचित्र ‘ए मेरो हजुर ३’ले इनिसियल व्यापार गर्नुको पछाडि नायक अनमोल केसीको क्रेज, चलचित्रको नामको ब्रान्ड, गीतसंगीत, निर्देशक झरना थापा र ट्रेलरलाई मानिएको छ । ‘कृ र क्याप्टेन’मा प्रयोग गर्न खोज्दा केही हदसम्म चिप्लिएका नायक अनमोल केसी ‘ए मेरो हजुर ३’बाट लभस्टोरी जनरामा फर्किएका छन् । योसँगै फेरि उनलाई हलमा हेर्न दर्शक ओइरिएका छन् । चलचित्रको व्यापारले अनमोल केसी फेरि चम्किएका छन् । अनमोल केसीमाथि लगानी गर्न निर्माताको हानथाप फेरि सुरु हुने पक्का छ । तर, नायक अनमोल केसीले भने करिब ६ महिना कुनै पनि चलचित्र साइन नगर्ने बताउँदै आएका छन् ।

उदाइन् सुहाना
चलचित्र ‘ए मेरो हजुर ३’बाट नव–नायिका सुहाना थापा उदाएकी छिन् । चलचित्रले बम्पर कारोबार गरेसँगै सुहाना थापाको करिअर पहिलो चलचित्रबाटै चम्किएको छ । सुहानालाई चलचित्रमा हेरेपछि उनको कामको प्रशंसा गर्नेहरु पनि उस्तै छन् । सुहानाको अभिनयको तारिफ गरेर चलचित्रकर्मीदेखि पत्रकार र दर्शक थाकेका छैनन् । यसैले पनि सुहाना पहिलो चलचित्रबाटै उदाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment