Comments Add Comment

आयाक्सले रोनाल्डोलाई रोक्न सक्ला ?

३ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इटालियन क्लब युभेन्टस र नेदरल्याण्ड्सको क्लब आयाक्स साथै स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच खेल हुँदै छ ।

राति पौने १ बजे हुने खेलमा युभेन्टस र आयाक्स युभेन्टसको रंगशालामा र बार्सिलोना म्यानचेस्टर युनाइटेड बार्सिलोनाको मैदानमा खेल्दै छन् ।

रोनाल्डोलाई रोक्न सक्ला ?

रोनाल्डोले आयक्सविरुद्धको पछिल्लो ६ खेलमा आठ गोल गरेका छन् । यसका साथै च्याम्पियन्स लिग नकआउट स्टेजमा रोनाल्डोको गोल क्षमता समूह चरणमा भन्दा बढी रहेको तथ्यांकले नै देखाउँछ ।

गएको हप्ता क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टसका क्रिष्टियानो रोनाल्डोले ४५ औँ मिनेटमा गरेको गोल ४६ औँ मिनेटमा आयाक्सका डेभिड नेरेसले बराबरी गरेका थिए । जुन रोनाल्डोको च्याम्पियन्स लिगमा १२५ औँ गोल थियो ।

१–१ को बराबरीमा सकिएको पहिलो लेगपछि आयाक्सले धेरैको विश्वास जितेको छ । तर पनि मुख्य चुनौती क्रिष्टियानो रोनाल्डोलाई रोक्नुमा नै देखिन्छ । मारियो मान्जुकिज घाइते रहेकाले पनि रोनाल्डोमाथि आश अझ बढेको छ ।

‘क्रिष्टियानोमा असाधारण क्षमता छ, कतिपय अवस्थामा उसलाई रोक्न असम्भव नै हुन्छ’ रोनाल्डोको तारिफ गर्दै युभेन्टस प्रशिक्षक मासिमिलियानो एलेग्रीले भनेका छन् ।

गएको शनिबार सिरि ए मा स्पालसँग २–१ ले हारेको खेलमा युभेन्टसले रोनाल्डोलाई आराम दिएको थियो ।

च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा युभेन्टसले पहिलो लेग एथ्लेटिको मड्रिडसँग २–० ले हारेर पनि दोस्रो लेगमा रोनाल्डोको ह्याट्रिकमार्फत क्वाटरफाइनल पुगेको थियो । त्यसैले पनि च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता (१२५) रोनाल्डोलाई रोक्न आयाक्सलाई सहज छैन ।

प्रशिक्षक एलेग्री पनि एथ्लेटिको मड्रिडसँगको जस्तै खेल आयाक्सविरुद्ध देखाउन आवश्यक रहेको बताउँछन् । पहिलो लेगमा बराबरी भएकाले पनि आफूहरु पूरा मेहनतमा लागेको उनको भनाई छ ।

डे जङ घाइते हुँदा समस्या

शनिबार नै घरेलु लिगमा एक्ससेल्सरलाई ६–२ ले हराएको खेलमा आयाक्सका मिडफिल्डर फ्रेङ्क डे जङ घाइते भएकाले चुनौती थपिएको छ । च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टससँग बराबरी गर्दा डे जङको खेल उत्कृष्ट रहेको थियो ।

प्रशिक्षक एरिक टेन ह्यागले डे जङ ठीक हुने र मैदान उत्रने बताए पनि उनको समस्या सामान्य देखिँदैन । ‘फ्रेङ्कले पनि आफू खेल्न सक्छु भनिरहेका छन्, उनको अवस्था राम्रो देखियो भने हामी उनलाई खेलाउँछौँ नै’ प्रशिक्षक ह्यागले भनेका छन् ।

अन्तिम १६ को खेलमा पूर्वविजेता रियल मड्रिडलाई हराएर सनसनी मच्चाएकाले पनि आयाक्सले युभेन्टससँग के गर्छ भन्ने उत्सुकता बढिरहेको छ । प्रशिक्षक ह्याग पनि आफूहरु युभेन्टसलाई हराउन सक्षम रहेको र खेलमा सतप्रतिशत मेहनत गर्ने बताइरहेका छन् ।

रोनाल्डोसहितको युभेन्टसविरुद्ध डिफेन्समा म्याथिस डे लाइटको भूमिका महत्वपूर्ण रहने छ । पहिलो लेगमा पनि उनको खेल राम्रो थियो ।

प्रशिक्षक ह्याग भने एलेग्रीले पहिलो लेगमा भन्दा केही कुरामा परिवर्तन गर्ने देखिए पनि आफू रोनाल्डोलाई ‘मार्क’ गर्न खेलाडी खटाउने पक्षमा नरहेको बताएका छन् ।

‘एलेग्री क्षमतावान प्रशिक्षक हुन्, उनले दोस्रो लेगमा केही नयाँ उपाय पक्कै अपनाउने छन्, पहिलो लेगमा रोनाल्डोको खेल हेरेर पनि त्यो अडकल काट्न सकिन्छ । तर म रोनाल्डोलाई मार्क गर्ने पक्षमा छैन’ उनले भनेका छन् ।

बलियो इतिहास

आयाक्ससँगको पछिल्लो १० खेलमा युभेन्टस अपराजित रहेको छ । त्यसैले मंगलबार राति आयाक्सलाई हराएर पछिल्लो पाँच वर्षमा तेस्रो पटक च्याम्पियन्स लिग सेमिफाइनल पुग्न युभेन्टस बलियो देखिन्छ ।

तर वर्तमानको खेल इतिहासले मूल्यांकन गर्नु निष्पक्ष हुँदैन । किनभने पहिलो लेगमा आयक्सले ६१ प्रतिशत समय बलमा बनाएको नियन्त्रण, १९ सट प्रहार, ६०६ पास, ४ कर्नर सबै कुरामा युभेन्टसभन्दा अगाडि देखिएको थियो ।

युभेन्टसले घरेलु मैदानमा खेलेको पछिल्लो पाँच च्याम्पियन्स लिग खेलमा तीन खेल जितेको छ भने दुई खेल हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment