Comments Add Comment

बाबु बोगटीः ‘राम’ फालेर राजधानी, बिहे गरेर अमेरिका !

'जब बाबुको एक मुस्कानले आलोकको मन जित्यो'

काठमाडौं । बाबु बोगटीको खास परिचय गायक हो । तर, उनी गायक मात्रै होइनन्, नायक पनि हुन् । नायक मात्र होइनन्, डान्सर पनि हुन् । त्यति मात्र नभएर एक व्यवसायी पनि हुन् । यद्यपि, पछिल्लो समय उनी आफ्ना सबै कर्महरुलाई थाती राखेर अमेरिका भासिएका छन् ।

बाबु अमेरिका किन भासिए भन्ने प्रसंगमा पछि आउँला । तर, पहिले उनको कलाकारिता यात्रालाई एकचोटि फर्केर हेरौं । यो यात्रमा उनले थुप्रे हण्डर र ठक्कर खाएका छन् । सफलताको स्वाद चाखेका छन्, भने असफलताको पीडा पनि उत्तिकै भोगेका छन् ।

‘भिटामिन ए’बाट सांगीतिक यात्रा

अहिले ‘बाबु बोगटी’को नामबाट चिनिने उनी बाल्यकालमा ‘बाबुराम बोगटी’ को नामबाट परिचित थिए । जतिखेर उनी मोरङको लेटाङमा कक्षा ८ मा पढ्दै थिए, एकपटक ‘भिटामिन ए’ को विषयमा गीत बनाएर गाउने पूर्वाञ्चलस्तरीय प्रतियोगिता हुने भयो । र, त्यहीँबाट उनको सांगीतिक यात्रा शुरु भएको हो ।

प्रतियोगितामा सहभागी हुन बाबुरामले एक गीत लेखेर प्रध्यानाध्यापकलाई सुनाए । प्रध्यानाध्यापकले मन पराए । र, उक्त प्रतियोगितामा भाग लिन आफ्नो स्कुलबाट बाबुराम छनोट भए । मोरङमा नै भएको प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गर्न सफल भए । उक्त सफलतापछि मोरङमा चर्चा सुरु भयो, ‘बाबुराम भन्ने फुच्चेले राम्रो गीत गाउँछ ।’

उनको घरमा बोलाउने नाम भने सुमन थियो । साथीभाइहरुले पनि सुमनको नामले चिन्थे । घरबाट उनलाई निकै सपोर्ट थियो । साथीभाइले पनि हौसला बढाइरहन्थे । सबैको प्रशंसाबाट दंग थिए उनी । उनले त्यही समय सोचिसकेका थिए, ‘पछि गायक बन्नेछु ।’

प्रतियोगिता जितेपछि बाबुलाई धेरै स्कुलहरुमा हुने कार्यक्रममा गीत गाउन बोलाइयो । उनी पनि खुशी भएर त्यहाँ पुगिदिन्थे । गीत गाइदिन्थे । विद्यार्थी र अभिभावकलाई सुमधुर स्वरले मन्त्रमुग्ध पारिदिन्थे । जतिले बाबुरामको स्वर सुने, सबैले उनलाई भविष्यको गायक देखे ।

बाबु कक्षा ९ मा पढ्दै गर्दा सञ्चय कोषबाट देशब्यापी आधुनिक गीत प्रतियोगिता आयोजना भयो । त्यसमा उनले भाग लिए । काठमाडौंमा भएको उक्त प्रतियोगितामा भने उनले कुनै पुरस्कार जित्न सकेनन् । काठमाडौंको चिसोले उनको स्वर भासिएको थियो । उनले राम्रो गीत गाउनै सकेनन् ।

‘राम’ फालेर राजधानी

०५५ एसएलसी सकेर काठमाडौं आएका बाबुरामले पहिलो काम आˆनो नाम छाँटकाट गरे । बाबुरामबाट राम फालेर बाबु बने ।  गाउँबाट काठमाडौं छिर्दै गर्दा कलेज पढ्नुका साथै संगीत र नृत्य सिक्ने योजना थियो । उनले सबैतिर सहभागिता जनाए । धेरै रियालिटी शोहरुमा पनि भाग लिए ।

बाबु राष्ट्रिय नाचघरमा संगीत सिक्थे । परिवर्तन नेपालमा एक्टिङ र डान्स सिक्थे । परिवर्तन नेपालमा नै उनले संगीत सिकाउँथे पनि । जीम र कराँते पनि सिकिरहेका थिए ।

परिवर्तन नेपालबाट हुने विभिन्न कार्यक्रमहरुमा बाबुले पनि सहभागिता जनाउने गर्थे । गाउने, नाच्ने सबै भ्याउँथे । त्यहीँबाट आयोजना हुने सडक नाटकहरुमा गीत गाएर दर्शक बोलाउथे ।

काठमाडौं प्रवेशपछि बाबुले ०५६ सालमा रेडियो नेपाल पुगेर आधुनिक गीतमा स्वर परीक्षा दिए । त्यसमा पास पनि भए । पास भएपछि उनले पहिलो गीतमा रुपमा ‘शीरमाथि सगरमाथा’ बोलको राष्ट्रिय गीत रेकर्ड गराएका थिए ।

मुस्कानले आलोकको मन जित्यो

परिवर्तन नेपालकै आयोजनमा भइरहेको स्टेज कार्यक्रममा कोरस नाचिरहेका थिए बाबु । नृत्यमा पारंगत भइसकेका उनी अच्युत घिमिरेको नजरमा परेछन् । नृत्य सकेपछि अच्युतले बाबुलाई भेट्न बोलाए । बाबु भन्छन्, ‘पछाडि नाचिरहेको बेला पनि म उहाँको नजरमा परेछु । मेरो अनुहारको हाऊभाउ मन परेर भेट्न बोलाउनुभएको रहेछ ।’

अच्युतले बाबुलाई भिडियोमा काम गर्न अफर गरे । उनले तुरुन्तै सहमति जनाए । त्यसपछि अच्युतले बाबुलाई आलोक नेम्वाङसँग भेटाए । त्यो बेला बाबुले आलोकलाई चिनेका थिएनन् । अच्युत र आलोक भित्र कोठामा गफ गरिरहेका थिए । बाबु बाहिरै बसे ।

अच्युतले ‘हाम्रो मोडल यही हो, राम्रो नाच्छ’ भन्दा आलोकको अनुहारमा त्यति राम्रो भाव थिएन । पछि बाबुले कोही चिनेको मान्छेलाई देखेर मुस्कुराए । उनको मुस्कान आलोकको नजरमा परेछ । बाबुको मुस्कानले आलोक प्रभावित बने र सिधै ‘ओके’ भनिदिए । बाबु भन्छन्, ‘पहिले आनाकानी गरिरहनुभएको रहेछ । तर, मेरो स्माइल देखेपछि तुरुन्त ओके गर्नुभयो ।’

बाबुले अभिनय गर्नुपर्ने गीत थियो, कुमार कान्छाको ‘मैले खोजेको साँइली तिमीलाई’ । भिडियोमा काम गरे उनले । त्यसको बजारको विषयमा बाबुलाई मतलब थिएन । उनी निरन्तर परिवर्तन नेपालको नाटक तथा स्टेज कार्यक्रमहरुमा नै व्यस्त थिए ।

गीत आएको लगभग ३ महिनापछि कोटेश्वरमा नाटक भइरहेको बेला एकजना अटोग्राफ माग्दै आए । तर, बाबुलाई अटोग्राफ के हो पनि थाहा थिएन । ‘किन अटोग्राफ लिन लाग्नुभएको ?’ बाबुले ˆयानलाई प्रश्न गरे । ˆयानले ‘तपाईको गीत हेरेको थिएँ । तपाई साइँला हैन ?’ भनेपछि बाबु खुशी भए । उनी भन्छन्, ‘गीतमा साइँली खोजिएको, थियो, त्यो सेन्सबाट मलाई साइँला भन्नुभएको रहेछ ।’

पहिलो एल्बम सुपर फ्लप

बाबुको पहिलो गीत ‘शिरमाथि’ सार्वजनिक भएपछि धेरैले उनलाई एल्बम निकाल्न उक्साइरहेका थिए । तर, बाबुले आँट गर्न सकेका थिएनन् । पछि घर परिवारले पनि भनेपछि उनले एल्बमको तयारी गरे ।

०५७ सालमा बाबुले ‘पुल्चोक पाटक’ नामको एल्बम निकाले । एल्बममा उनको आफ्नै लगानी थियो । तर न गीत चल्यो, न भिडियोलाई रुचाइयो । उनी पहिलो एल्बमबाट ˆलप भए ।

बाबु भन्छन्, ‘आफैं प्रोडुसर पनि थिएँ । नराम्रोसँग पैसा डुबाइयो ।’

पहिलो एल्बम असफल भएपछि घरबाट दबाव आउन थाल्यो । त्यो बेलासम्म पढाइ पनि डामाडोल भइसकेको थियो । बाबुले पनि विदेशिने सोच बनाए ।

विदेश जान लाग्ने समयसम्म यहीँ केही जागिर गरौँ भन्ने सोच आयो । बाबु चिनजानको साथी अराज केशवमार्फत् जेम्स प्रधानको स्टुडियोमा रेकर्डिस्ट भएर काम सुरु गरे । त्यहाँ काम गर्दैगर्दा घरबाट आमाले अर्को एउटा एल्बम निकाल्न सुझाइन् । आमाको कुरा मानेर उनी नयाँ एल्बमको तयारीमा लागे । जेम्स प्रधानसँग गीत मागे । स्टुडियोको चार्ज लागेन । गिटारिस्ट साथी भएकाले विनाशुल्क काम गरिदिए । र, ०६० सालमा एल्बम तयार भयो ।

दोस्रो एल्बममा समावेश ‘फेरि त्यो दिन त्यो रात’ रिलिज भयो । यो गीतले युवा पुस्तामा निकै लोकपि्रयता कमायो । उक्त गीतपछि सार्वजनिक भएको सान्नानीले त बजार पिट्यो । सुरुमा सार्वजनिक भएको अडियो नै धेरैले रुचाए । भिडियो आएपछि उक्त गीतको लोकपि्रयता झन् उच्च भयो । बाबु भन्छन्, ‘उक्त गीतको सफलतापछि त स्टेज कार्यक्रमहरु भ्याई नभ्याई नै भयो ।’

यसपछि त उनको विदेशिने योजना स्थगित भइहाल्यो ।

बामदेवले ‘डिस्टर्ब’ गरेपछि रेष्टुरेन्ट बन्द

०६३ सालपछि नेपालको संगीत क्षेत्रमा मन्दी नै छायो । न एल्बम बिक्री हुन्थे, न कतैबाट आम्दानी नै थियो । त्यो समय निकै आर्थिक संकट भयो । त्यही समय अर्का गायक यश कुमारसँग मिलेर बाबुले दरबारमार्गमा रेस्टुरेन्ट खोले । नाम ‘रिदम रेस्टुरेन्ट’ राखियो ।

‘हामीले त्यहाँ गीत गाउने र उपस्थित ग्राहकलाई संगीतमय वातावरणमा सेवा दिने सोचले उक्त रेस्टुरेन्ट खोलेका थियौँ,’ बाबु भन्छन् ।

तर, पछि तत्कालीन गृहमन्त्री बामदेव गौतमले ९ बजेपछि सम्पूर्ण रेस्टुरेन्ट र पसलहरू बन्द गर्नुपर्ने नियम ल्याइदिए । त्यसले उनीहरुको व्यापारमा पनि मन्दी छायो । रेस्टुरेन्टमा पनि घाटा लाग्यो ।

रेस्टुरेन्ट खोलेकै समयमा नै बाबु र यश कुमारको भेट एक फिल्म निर्मातासँग भयो । ती निर्माताले उनीहरुलाई चलचित्र निर्माण गर्न सुझाए । उनीहरु पनि सहमत भए । र, फिल्म निर्माणमा अघि सरे ।

चलचित्रको कथा, पटकथा लगभग तयार भयो । अब चलचित्रमा नायक को भन्ने कुरा बाकीँ रहृयो । नायिकामा रेखा थापा पक्का भइन् । दुई नायक चाहिएको थियो । त्यसमा यश र बाबुले नै ट्राई मार्ने बिचार गरे ।

बाबु भन्छन्, ‘मैले गीत, सिरियल, नाटक गरेको थिएँ । त्यसैले पनि चलचित्रमा काम गर्न गाह्रो थिएन ।’

उनीहरुले ‘बाटो मुनिको फूल’ नामक चलचित्र तयार गरे । उक्त चलचित्र रिलिज अगावै बाबुलाई अर्को चलचित्र ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ बाट अफर आयो । त्यो चलचित्रमा पनि काम गरे ।

उनी भन्छन्, ‘यी दुई चलचित्रमा काम गरेपछि त कति चलचित्रबाट अफर आए, आए । त्यसपछि त करिअरमा फर्केर हेर्न परेन ।’

त्यसपछि बाबुले लगातार १७ चलचित्रमा काम गरे ।

भुटानी श्रीमतीसँगै अमेरिकातिर

चलचित्रमा काम गर्दैगर्दा बाबुले बिबाह गरे । भुटानकी नेपालीभाषी अमेरिकनसँग उनको लगनगाँठो कस्सिएको थियो । बिबाहपछि एक छोरा जन्मिए । छोरालाई भेट्न बाबु अमेरिका पुगे । श्रीमती अमेरिकी भएकाले बाबु पनि ग्रीनकार्ड बनाएर अमेरिकातिर गए ।

बाबु भन्छन्, ‘म नेपाल बस्न मन नभएर अमेरिका गएको हैन । मेरो परिवार उता भएकाले गएको हुँ । अमेरिका गए पनि नेपाल आउने जाने गरिरहेको हुन्छु ।’

अमेरिका पुगेर पनि बाबुले गीत र संगीतलाई बिर्सिएका छैनन् । अमेरिकामा विभिन्न स्टेज कार्यक्रममा सहभागी भइरहेका हुन्छन् । उनी एल्बम पनि निकालिरहेका छन् । पछिल्लो समय बाबुले ‘टिकुली’ नामक एल्बम सार्वजनिक गरेका छन् ।

बाबु अहिले नयाँ चलचित्र निर्माणको तयारीमा लागिरहेको बताउँछन् । उनी भन्छन्, ‘जस्तो पायो त्यस्तो चलचित्रमा काम गरेर हुन्न । त्यसैले राम्रो चलचित्र बनाउने सोचले मेहनत गरिरहेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment