Comments Add Comment

देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना

Photo Credit : राजन दाहाल । पत्रकार गिरी पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर अगाडि धर्ना दिँदै पत्रकारहरु ।

५ वैशाख, काठमाडौं । देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुकाे छ ।

ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।

उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।

तर, पत्रकार महासंघलगायतले यसलाई प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै गल्ती सच्याउन माग गरेका छन् । दबावका लागि बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment