Comments Add Comment

क्रिस्टोफर हेनरी गेल, जसले ब्याटिङको परिभाषा नै फेरिदिए

काठमाडौं । झण्डै दुई दशक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको एउटा हठी खेलाडी कस्तो होला ? ठ्याक्कै क्रिस्टोफर हेनरी गेल अर्थात् क्रिस गेल जस्तै ।

१९९८ मा १९ वर्षको उमेरमा गेलले फस्र्ट क्लास क्रिकेटमा जमाइकाबाट डेब्यू गरेका थिए । त्यसको ११ महिनापछि वेस्ट इन्डिजबाट उनले एकदिवसीयमा भारतविरुद्ध डेब्यू गरे । उनको सुरुवात अलि शान्त नै थियो ।

एकदिवसीय खेलेको ६ महिनापछि उनले जिम्बावेविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू गरे । त्यसमा खासै सम्झनलायक केही भएन । तर त्यसको अर्को वर्ष जिम्बावेसँगै टेस्टमा २५५ बलमा १७५ रन बनाएका उनी प्लेयर अफ दि म्याच भए । त्यतिबेला उनले इनिङमै ३४ चौका हानेका थिए । छक्का आउन भने बाँकी नै थियो ।

बिस्तारै उनी मानिसहरुको नजरमा पर्न थाले । अग्लो, मिलेको शरीर र कसिलो पाखुराको बलमा गहुँगो ब्याट बोक्ने खेलाडी । तर उनी दौडिएर रन लिन भने त्यति इच्छुक देखिँदैन थिए । अझ भन्दा हलचल गर्न नै अल्छी मान्ने जस्ता । तर उनको हात भने शुदर्शन चक्र जस्तो तिब्र गतिमा चलिरहेको हुन्थ्यो ।

त्यस समयतिर यस्तो हल्ला पनि सुनियो कि गेल मुटुका बिरामी हुन् । त्यो कुरा हावामा नै चलेको भए पनि उनको खेल स्वभावमा अल्छी भनेर गरिने टिप्पणीमा भने कमि आउन थाल्यो । तर पनि उनको शैलीमा अहिलेको जस्तो आशक्ती भने आइसकेको थिएन ।

गेल आफ्नो शक्तिशाली प्रहारका साथै छक्का हान्ने मेसिनका रुपमा चिनिन थाल्दा पनि ब्रायन लारा र मार्लोन स्यामुअल्स जस्ता ‘स्टाइलिस’ ब्याट्सम्यानका बीचमा थिए । उनमा कता–कति कार्ल हुपरको जस्तो शैली पनि देखिन्थ्यो ।

हुन त उनीहरु सबैको खेलप्रतिको धारणा र शैली आफ्नो आफ्नै थियो । गेलको क्रिकेटले पनि उनको जटिलतालाई छाडेको थिएन । उनी स्थिर रहे पनि बलियो पाखुराको बलमा नतिजा दिने खेलाडी थिए । जब उनको खेल शैली विकसित हुन थाल्यो तब विश्लेषकहरुलाई नै शब्द दिएर बुझाउन कठिन पर्न लाग्यो ।

२००५ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा तेहरो शतक (३१७ रन) र २०१० मा श्रीलंकाविरुद्ध पनि तेहरो शतक (३३३ रन) बनाए तब उनले आफ्नो शैली टेस्ट क्रिकेटमा पनि कति कामलाग्दो छ भन्ने सामान्य मानिसलाई पनि बुझाइदिए । त्यसैपछि ब्रायन लाराले भनेका थिए, ‘गेल त्यस्ता ब्याट्सम्यान हुन्, जसको खोजिमा दुनियाँ थियो ।’

एकातिर अनौठो लागिरहेको थियो भने अर्कोतिर उनी कीर्तिमानमाथि कीर्तिमान थपिरहेका थिए । विस्तारै क्रिकेट कमेन्टेटरहरुले पनि क्रिस्टोफर हेनरी गेलको नाममा खुलेर प्रशंसा गर्न थाले । विस्तारै गेलको क्रिकेट शैली मानिसहरुलाई नशा जसरी लाग्न थाल्यो ।

एउटा आक्रामक वेस्ट इन्डियन केटाको छविबाट उनले उत्कृष्ट ब्याट्सम्यानको रुपमा परिचय स्थापित गर्न थाले । तर गेलमा पनि कताकति विवादका बाछिटाहरु आउन थाले । महिला पत्रकारप्रतिको कतिपय व्यवहारले उनको खेल छबीमा धक्का लागिरहेको थियो ।

गेल आफै पनि त्यस्ता कुराहरुलाई उक्साउन लागिपरेका जस्ता देखिन्थे । २०१६ को जनवरीमा महिला पत्रकार मेल म्याक्लगलिनलाई उनले गरेको व्यवहार पनि त्यसै सोचको परिणाम थियो । उनको नराम्रो व्यवहारलाई ढाकछोप गर्न केही मानिएका पत्रकार नै लागिदिएपछि भने गल्तीको महसुस नगरी उनी झनै छाडा स्वरुपमा प्रस्तुत हुन थालेका थिए ।

मानिसहरुलाई लागेको थियो, यो वेस्ट इन्डिजको शैली हो र यसलाई स्वीकार गरेर नै अगाडि बढ्नु पर्छ । अचम्मलाग्दो कुरा त त्यसो गर्नु सामान्य हो भन्ने शैलीमा धेरै पुरुषहरु बहस नै गरिरहेका थिए । यस्तो लाग्थ्यो, मानौँ कि क्यारेबियन संस्कृतिमा घिनलाग्दा कुरा गर्न, इच्छाविपरीत जिस्किन, अश्लिल व्यवहार गर्न छुट छ ।

यस्ता कुराहरुले एकातिर क्रिस गेलको क्रिकेट शैली हिँडिरहेको थियो भने अर्कोतिर उनको व्यवहार हिँडिरहेको थियो । त्यसले कतिपय मानिसहरु उनको बारेमा केही धारणा बनाउनुअघि तटस्थ देखिए । कतिपय समयमा ‘वेस्ट इन्डिज क्रिकेट बोर्ड नै गेलका कारण चलिरहेको छ’ जस्तो उनको सोचले उनलाई घाटा पर्न पुग्यो ।

उनको सोच स्वार्थी थियो या थिएन त्यो उनैले बुझुन्, तर ती कुराहरुले उनी आफैलाई चुनौती बढीरहेको थियो । हुन त क्रिकेटबाट लाखौँ रुपैयाँ कमाउन उनलाई क्रिकेट बोर्डको आवश्यकता पनि परेन । उनी पहिलेदेखि नै स्वघोषित रुपमा ‘ब्रम्हाण्डका मालिक’ थिए । विश्वस्तरका सबै टी–२० प्रतियोगितामा उनको माग थियो ।

उनले छक्का र उच्च रनका प्रमुख कीर्तिमानहरुमा पनि आफूलाई प्रस्तुत गरिरहेका थिए । तर पनि उनको उपलब्धीमा सबैले गर्व गर्ने वातावरण भने उनी आफ्नै कारणले बनिरहेको थिएन । मानिसहरुले एक क्रिकेटरको मूल्यांकन मैदानमा मात्रै गर्दैनन्, उनका हरेक स्वभावमा उनको खेलका उपलब्धी झल्किएका हुन्छन् ।

२०१९ को जनवरीदेखि मार्चसम्म इंग्ल्याण्ड वेस्टइन्डिजमा गएर पाँच एकदिवसीय खेलको प्रचार जोडतोडले चलिरहेको थियो । खेलमा क्रिस गेलको प्रदर्शन पनि राम्रो रह्यो ।

त्यसैले त खेलपछि उनले भने, ‘म अझै पनि ब्रम्हाण्डको मालिक नै हुँ । विश्वकै उत्कृष्ट खेलाडी हुँ । यो कुरा स्मसानमा पुग्दासम्म पनि रहिरहन्छ ।’

फेब्रुअरी २० मा इंग्ल्याण्डसँगको पहिलो एकदिवसीयमा गेलले १२९ बलमा १३५ रन बनाएका थिए । १४३ डट बल भएको खेलमा गेलको ब्याटिङ तारिफयोग्य नै थियो । तर ३६० को लक्ष्य दिँदा पनि वेस्ट इन्डिजले जित्न भने सकेन । दोस्रो खेलमा उनले ६३ बलमा ५० रन बनाए । तेस्रो खेल वर्षाले प्रभावित भयो । चौथोमा गेलले ९७ बलमा १६२ रन बनाए । पाँचौमा २७ बलमा ७७ रन बनाए ।

३९ वर्षका गेलको यो सिरिज हेर्दा पनि उनको खेलको शैलीले क्रिकेटप्रेमीहरु असाध्यै रमाउन पाए । त्यसैले आधुनिक क्रिकेटमा गेलले एउटा स्तरीय ब्याटिङको परिभाषा नै परिवर्तन गराइदिए ।

(लेखिका वानिसा बख्शले क्रिस गेलका बारे क्रिकेट मन्थ्लीमा लेखेको लेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment