Comments Add Comment

श्रीमानले पेट्रोल छर्केर आगो लगाए, बन्द कोठामा जलिरहिन् निर्मला

काठमाडौं । धनुषाकी १६ वर्षीया निर्मला यादव जन्मघर त्यागेर मुकेशकुमार यादवको घरमा भित्रिएको १० महिना भएको छैन । तर, सबथोक त्यागेर आएका उनी मुकेशले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ । कीर्तिपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत निर्मलाका अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

१८ वर्षका मुकेशकुमार यादवले वैशाख पाँच गते दिउँसो साढे चार वजेतिर पेट्रोल छर्केर आगो लगाएका हुन् । विहान श्रीमानसँग सामान्य झगडा भएको र त्यसकै निहुँमा दिउँसो आगो लगाएको उपचारत निर्मलाले बताइन् । ‘विहान खान खान आउनुस् भनेर बोलाउँदा किन बोलाएको भन्दै झगडा गर्न तम्सनुभयो, कुटपिट गर्नुभयो । चार वजेतिर मदिरा सेवन गरेर आएर यो हालत बनाउनुभयो’, निर्मलाले आँशु झार्दै भनिन् ।

निर्मलाका आफन्त सोनु यादवकाअनुसार घटनाको बेला परिवारको अन्य सदस्य खेतमा काम गर्न गएका थिए ।

दिउँसोको त्यस्तै साढे चार बजेको थियो । मुकेशले पेट्रोल किनेर ल्याए । पेट्रोल किराना पसलमा राखेर घर छिरे । उनीहरुको किराना पसल छ । त्यतिबेला मुकेश मदिराले मात्तिएका थिए ।

श्रीमतीसँग केहीबेर झगडा गरेपछि मुकेशकुमारले तानेर कोठामा पुर्‍याए, कुटपिट गरे । दराजका कपडाहरु झिकेर छरपस्ट पारे । किराना पसलमा गएर बोटलको पेट्रोल ल्याए र निमर्लाको शरिरमा छर्कन थाले । सलाई कोरेर आगो लगाए र ढोका थुनेर भागे ।

शरीर बोलिरह्यो, निर्मला चिच्याइरहिन् । निर्मलाको चिच्चाहट छिमेकीको कानसम्म पुग्यो । तत्काल छिमेकी घरमा आए र निर्मलाको शरिरमाथि पानी खन्याए । यो खवर आफन्तसम्म पुगेपछि उनीहरु घर फर्किए र निर्मलालाई जनकपुर अञ्चल अस्पताल पुर्‍याए ।

अस्पतालले काठमाडौं रिफर गर्‍यो । निर्मलालाई शनिबार साँझ कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।

निर्मलाको कुम र छातीभन्दा तलको भाग जलेको छ । उनी सुस्तरी बोल्न त सक्छिन् तर, चलमलाउन सक्दिनिन् ।

अस्पतालका डा. सुरेन्द्रजंग बस्नेतले निर्मलाको ३५ प्रतिशत बढी शरीर जलेको बताए । ४० प्रतिशतभन्दा बढी जलेको मानिसलाई बचाउन नसकिने उल्लेख गर्दै उनले निर्मलाको अवस्थामा पनि एक हप्तासम्म केही भन्न नसकिने जानकारी दिए ।

निर्मलाको जलेका भागको मासु झिकेर छाला प्रत्यारोपण गर्छ । ‘यो ढिलो गर्‍यो भने मासु कुहिएर संक्रमण फैलने डर हुन्छ । विस्तारै मुटु, मिर्गौला, छातीमा हान्न सक्छ’, डा. बस्नेतले भन्छन्, ‘तर, छाला परिवर्तन गर्न परिवारले अनुमति दिइसक्नु भएको छैन ।’

चार लाखबढी दाइजो

धनुषा कमलानगरपालिका-५ की निर्मलाको १० महिनाअघि सहिद नगरपालिका-१, चिरैयामा बिहे भएको थियो ।

नौ लाख रुपैयाँ कर्जा लिएर बहिनीको बिहे गरेको निर्मलाका दाई राकेश यादव बताउँछन् । बिहेमा तीन लाख क्यास, डेढ तोला सुन र केही जिन्सी दाइजो दिएको उनले बताए ।

मामाले राम्रो केटा छ भनेपछि बिहे गरिदिएको उनको भनाइ छ । वहिनीको विहेकै कारण राकेशको परिवार ऋणमा फसेको छ ।

तर, निर्मलाका श्रीमान मुकेशकुमारले मदिरा मात्र नभएर ड्रग्स पनि सेवन गर्ने मुकेशकै भाउजु सिपमादेवीले बताइन् । फरार मुकेशकुमारलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment