Comments Add Comment

एक रनको रोमान्चक जित हात पार्‍यो बैंग्लोरले

Photo Credit : Ron Gaunt /SPORTZPICS for BCCI

९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले एक रनको रोमान्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा बैंग्लोरले चेन्नइ सुपरकिंग्सलाई १ रनले हराएको हो ।

चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको चेन्नइले ८ विकेटको क्षतिमा १६० रन बनाउन सक्यो । यस जितबाट २ अंक थपेको बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

बैंग्लोरलाई हराउनका लागि चेन्नईलाई अन्तिम ओभरमा २६ रन बनाउनुपर्ने थियो । महेन्द्रसिंह धोनी र शार्दुल ठाकुर क्रिजमा थिए । उमेश यादव बलिङमा थिए । पाँच बलसम्म धोनी २४ रन बनाउन सफल पनि भए । तर अन्तिम बलमा शार्दुल ठाकुर रनआउट भएपछि चेन्नाईले बैंग्लोरलाई नतिजा सुम्पिन बाध्य भयो ।

धोनी ८४ रनमा अविजित रहे । उनले ३५ बलमा अर्धशतक पूरा गरे । आईपीएलको जारी सिजनमा यो उनको तेस्रो अर्धशतक हो ।

बैंग्लोरको तर्फबाट डेल स्टेनले २९ र उमेश यादवले ४७ रन दिएर २-२ विकेट लिए । नवदीप सेनी र युजवेन्द्र चहलले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि पार्थिव पटेलले ५३ रन बनाएका थिए । उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । जारी सिजनमा यो उनको दोस्रो अर्धशतक हो । उनी म्यान अफ दि म्याच पनि चुनिए ।

दीपक चहरले २५, रविन्द्र जडेजाले २९ र ड्वेन ब्राभोले ३४ रन दिएर २-२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए ।

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको छ ।

हैदरावादले कोलकातालाई ९ विकेटले हरायो

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको छ । उसले १६० रनको लक्ष्य १५ औं ओभरमा एक विकेटको क्षतिमा भेटायो । यो जितसँगै हैदरावाद शीर्ष चारमा पर्न सफल भएको छ ।

हैदरावादका लागि जोनी बेयरस्टोले ८० र डेभिड वार्नरले ६७ रन बनाए । दुवैले पहिलो विकेटका लागि १३१ रनको साझेदारी गरे ।

कप्तान केन विलियम्सनले ८ रनमा नविजित रहे । कोलकाताका पृथ्वीराजले डेब्यू म्याचमा वार्नरलाई बोल्ड गरे ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । उसका लागि क्रिस लिनले ४७ बलमा ५१ रन बनाए । रिंकु सिंहले ३० र सुनिल नरेनले २५ रन योगदान गरे । हैदरावादका लागि खलिल अहमदले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment