
९ वैशाख, बुटवल । अर्घाखाँचीका एक युवालाई आफ्नै साथीले खुकुरी प्रहारी गरी हत्या प्रयास गरेका छन् ।
अर्घाखाँचीको छत्रदेव-४ केरुङ्गाका कैलाश भुसाललाई सोही ठाउँका सुवास भुसालले खुकुरी हानेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । उनी प्रहरी नियन्त्रणमा छन् ।
कैलाश र सुवासको दाजुभाइ नातासमेत पर्छ ।
उनीहरु दुबैजना एउटै मोटरसाइकलमा अर्घाखाँचीबाट रुपन्देहीको बुटवल आउँदै थिए । रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढीमा कैलाशको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।
‘घाइते कैलाश बेहोस छन् , उनको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अप्रेशन सुरु भएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले भने ।
कैलाशको बाँया हात र गर्धनमा गहिरो चोट लागेको छ । हात चुड्ने अबस्थामा रहेको अस्पतालमै रहेका प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए ।
हत्या प्रयास गर्ने सुवासले नै एम्बुलेन्समा कैलाशलाई अस्पताल पुर्याएको प्रहरीले बताएको छ । प्रहरीले सुवासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।
सुवास तिलोत्तमामा बिजुली पसलका संचालक भएको खुलेको छ । उनले कैलाशलाई करिब ८ लाख दिनुपर्ने र सोही कारण हत्या प्रयास भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
उनीहरुबीच भएको लेनदेनको कागजपत्र समेत भेटिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4