Comments Add Comment

ठेकेदारको लापरवाहीले पर्यटकीय सडक धुलाम्मे

भ्रमण वर्ष प्रभावित हुने व्यवसायीको चिन्ता

९ वैशाख, बुटवल । ठेकेदारले सम्झौताअनुसार काम नगर्दा निर्माणाधीन भैरहवा–लुम्बिनी तौलिहवा सडक धुलाम्मे हुंदा यो सडकको यात्रा सकसपूर्ण भएको छ । यो सडक हुँदै स्थलमार्गबाट दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी पुग्छन् । तर २२ किलोमिटर यो सडक यतिबेला धुलाम्मे छ ।

ठेकेदारले निर्माणाधीन सडकमा धुलो नियन्त्रणका लागि पानी नहाल्दा विशेषगरी मोटरसाइकल र साइकलमा यात्रा गर्ने यात्रु तथा पैदल यात्रीलाई सकस भएको हो ।

अत्यधिक धुलोले विदेशी पर्यटक र आन्तरिक पर्यटक पनि प्रभावित भएका छन् । चारपांग्रे गाडीमा सवार गर्नेहरु धुलोको चपेटामा परेका छन् । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले दिनहुँ पानी हालेर धुलोमुक्त गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भए पनि ठेकेदार कम्पनीले अहिलेसम्म एक पटक पनि पानी नराखेको स्थानीय सामाजिक अगुवा अक्रम खान बताउँछन् ।

धुलाम्मे सडकका कारण लुम्बिनीको होटल व्यवसायमा समेत प्रतिकूल असर परेको छ । ‘सडक निर्माण नसकिंदासम्म सडकमा निरन्तर पानी हाल्नुपर्छ, तर त्यसो नगर्दा स्थानीयलाई मात्र हैन विदेशी पर्यटकले समेत अनाहकमा सास्ती खेप्नुपरेको छ’ खानले भने । ठेकेदार कम्पनीले सडक निर्माणका क्रममा निर्माण गरेको नालीको ठाउँठाउँमा निकास हुनुपर्नेमा नहुँदा नालीमा जम्मा भएको पानीले सडक दुर्गन्धित बनाएको अर्का पर्यटन व्यवसायी कृष्णबहादुर गुरुङले बताए ।

निकास नहुँदा सडक किनारमै जम्मा भएको पानीको पोखरीमा केही दिन अघि एक विदेशी महिला पर्यटक लडेर घाइते समेत भएकी थिइन् । सडक क्षेत्र निरन्तर धुलाम्ये भएकै कारण होटलमा पाहुनाहरु आउन छाडेका र बुकिङ पनि रद्द भएका थुप्रै उदाहरण रहेका होटल व्यवसायी गुरुङले गुनासो गरे ।

धुलाम्य सडकका कारण प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष पनि प्रभावित हुने चिन्ता स्थानीय व्यवसायीमा बढेको पर्यटन व्यवसायी समेत रहेका खानले औंल्याए । ‘प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउने भनेको छ, तर सडक यति सारो धुलाम्मे छ, चारपांग्रे गाडीमा समेत हिंड्न नसक्ने अवस्था छ’ खानले भने, ‘सडकका बीच बीचमा बनिसक्नुपर्ने पुल नबन्दा हुने जामले त झन् ठूलो सास्ती दिएको छ ।’

ठेकेदारले ठेकेदारले सम्झौता अनुसार सडकमा पानी नराख्दा प्रदुषण बढेको, पर्यटन व्यवसायमा असर पुगेको र आवतजावतमा समेत कठिनाई भएपछि आक्रोशित स्थानीयले सोमबार ठेकेदार कम्पनीका निर्माण सामग्री बोक्ने टिप्परहरु सडकमै रोकेर विरोध समेत जनाएका छन् ।

३० महिनामा सक्ने गरी दुई वर्षअघि निर्माण थालिएको भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको काम अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन । यो वर्ष ५० प्रतिशत काम गर्ने लक्ष्य लिए पनि हालसम्म ३० प्रतिशत मात्र प्रगति भएको छ । यही गतिमा काम भए यो सडक तोकिएको समयमा पुरा गर्न मुस्किल पर्ने देखिएको छ ।

आयोजना प्रमुख प्रदीप शाक्यले केही आन्तरिक तथा बाह्य समस्याका कारण निर्माणमा थोरै ढिला भएको भन्दै तोकिएको समयमै काम सक्ने दावी गरे । रूख काट्न प्रक्रिया मिलाउँदा समय लागेको र निर्माण सामग्रीको अभावमा केही ढिलाइ भएको शाक्यले स्वीकारे ।

४१ किलोमिटर लामो यो सडक खण्ड अन्तर्गत भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौहिवासम्म दुई लेनको सडक बनाउने काम अहिले जारी छ । सडक निर्माणमा ढिलाइ भए पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न सक्ने पर्यटन व्यवसायी सञ्जय वजिमय बताउँछन् ।

‘लुम्बिनी अन्तराष्ट्रिय पर्यटकीय स्थल भएकाले निर्माणका क्रममै सडकमा धुलो उड्न नदिने गरी काम गर्नुपर्दथ्यो, त्यसो नगर्दा विदेशी पर्यटकमा नराम्रो सन्देश गएको छ, यसले भविष्यमा पनि यहाँको पर्यटनमा असर पार्छ’ पर्यटन व्यवसायी बज्राचार्यले औंल्याए ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा भारतीय कम्पनी गावर कन्स्ट्रक्सन प्रालिले एक अर्ब ९३ करोड ६३ लाख रुपैया लागतमा सडक निर्माण गरिरहेको छ । सडक खण्डमा अहिले दुई हजार ६८ मध्ये ६० प्रतिशत रुख कटानी भइसकेको छ भने माटो पट्टयाउने, निर्माण सामग्रीको संकलन, कल्भर्ट निर्माण, नाला निर्माण, पाँच किलोमिटर सब–वेश,क्रसर प्लान्ट, ल्याव र कन्ट्रयाक्टर भवन निर्माण सम्पन्न भएका छन् । रेडिमिक्स प्लान्टको काम अन्तिम चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment