Comments Add Comment

राष्ट्रपति उपस्थित हुने सेनाको कार्यक्रममा निजी मिडियालाई प्रवेश निषेध

१० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रममा नेपाली सेनाले निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश निषेध गरेको छ ।

०७२ सालको गोरखा भूकम्पबाट क्षति पुगेपछि सेनाले जङ्गी अड्डाभित्र निर्माण गरेको अत्याधुनिक भवन उद्घाटन कार्यक्रममा निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।

भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी सेनाको जङ्गी अड्डा पुगेकी छन् । उनी सेनाको परमाधिपति समेत हुन् ।

हेलिकोप्टर खरिद, महाराजगञ्जस्थित नेपाल प्रहरी एकडेमीलाई सारेर राष्ट्रपति कार्यालयको विस्तारलगायतका विषयमा भण्डारी विवादित बनिरहँदा सेनाले उनी सहभागी कार्यक्रममा निजी सञ्चार माध्यमलाई रोक लगाएको हो ।

यसबारे बुझ्न खोज्दा जङ्गी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले नियतवश नभइ बाध्यताले त्यसो हुन गएको बताए ।

‘स्थान अभावले हामीले सीमित पत्रकारलाई मात्र सहभागी गराउन सक्यौं’, उनले दाबी गरे, ‘सरकारी मिडियाका साथीहरु हुनुहुन्छ । हामी तपाईंहरुलाई भरे समाचार पठाइहाल्छौं ।

२४ जेठ २०७३ बाट निर्माण सुरु भएको भवन निर्माण १० महिनाको अवधिमा तयार भएको हो । भवन निर्माणका लागि दैनिक ४ सयको संख्यामा इञ्जिनियरिङ विभागका जनशक्ति खटिएका थिए ।

भवन निर्माणका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणमार्फत सरकारले तीन अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको थियो । भूकम्प प्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा रहेको छ ।

भवनबाट नेपाली सेनाको महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ । अलग-अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो जनाइएको छ ।

भवनको छतमा आवश्यकता अनुसार हेलिकोप्टर समेत अवतरण गराउन मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment