Comments Add Comment

लुम्बिनी भ्रमण वर्ष र धुलाम्मे सडकबारे प्रदेश सांसदका प्रश्नै प्रश्न

१० वैशाख,बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठकमा सांसदहरुले सरकारमाथि प्रश्नै प्रश्न गरेका छन् । वैठकको शून्य र विशेष समयमा बोल्दै प्रतिपक्षी दलसँगै सत्तारुढ दलका सांसदहरुले समेत सरकारको आलोचना गरेका हुन् ।

बैठकको शून्य समयमा बोल्दै रुपन्देहीका सांसद अष्टभुजा पाठकले भैरहवा लुम्बिनी सडकमा ठेकेदारले धुलो नियन्त्रणका लागि पानी नहाल्दा दुर्घटना बढेको र यात्रा गर्न कठिन हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सोमबार आफ्नै आँखा अगाडि धुलाम्मे सडकका कारण एक युवाको दुर्घटनामा परी मृत्यु भएको र यस अघि पनि दुर्घटनाहरु भएको कांग्रेस सांसद पाठकले जानकारी गराए । उक्त सडक धुलाम्मे भएका कारण दुर्घटनाको जोखिम बढेको समाचार सोमबार नै अनलाइनखबरले प्रकाशित गरेको थियो ।

सांसद इन्द्रप्रसाद खरेलले जनता आवास कार्यक्रमको कार्यविधि संशोधन नगरे लक्षित वर्गले घर नपाउने तर घर भएका टाठाबाठाले घर पाउने अवस्था आउन सक्ने औंल्याए ।

प्रदेशसभा बैठकमा पहिलोपटक बोलेकी सांसद चिन्तावती कुर्मीले ग्रामीण क्षेत्रका महिलाहरुले दाउराले खाना पकाउनुपर्दा धुँवाले उनीहरुको स्वास्थ्यमा असर परेको विषय उठाइन् ।

नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले नागरिकता वितरणलाई मकैको फूला जस्तो सस्तो बनाउन खोजिएको भन्दै आपत्ति जनाए । उनले यसअघि चोर बाटोबाट वितरण गरिएका लाखौं नागरिकताबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भगवतीदेवी भण्डारीले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेपनि बुद्धसंग सम्बन्धित रामग्राममा पर्यटक बस्ने एउटा प्रतिक्षालय समेत नभएकाले कसरी भ्रमण वर्ष सफल होला भनी प्रश्न गरिन् ।

लुम्बिनीसंगै कपिलवस्तुको तिलौराकोट र रामग्राममा पनि पर्यटकीय पुर्वाधार बनाउन सांसद भण्डारीले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । सांसद कृष्णध्वज खड्काले सडकलाई वजेट अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद कमलादेवी विश्वकर्माले रुपन्देहीको शुद्धोधन गाउंपालिकामा एक दलितकी छोरीको विहेमा गैरदलितले बिहे भोज वहिस्कार गरेर जातीय भेदभाव गरेकाले

घटनाको छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरिन् । सांसद सरस्वती गौतमले विद्यालय भर्ना अभियान प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment