Comments Add Comment

नारायणगढ–मुग्लिन सडकका ३ पुल ठेक्का अवधिअघि नै सकिने

१० वैशाख, चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधिन ४ पुलमध्ये तीन वटा पुल ठेक्का सम्झौता अघि नै सकिने भएका छन् ।

लामा कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेका मौरीपुल, दासढुंगा पुल र खानीखोला पुल सम्झौता अवधि अघि नै सकिने आयोजना इन्जिनियर शिव खनालले जानकारी दिए ।

सन् २०१७ को अक्टोवर १७ मा निर्माण सम्झौता गरिएका पुल सन् २०१९ को अगष्टसम्म निर्माण गरिसक्ने उल्लेख छ । तर, जुन महिनामा नै निर्माण सक्ने गरी काम भइरहेको छ । मौरीपुल र दासढुंगा पुलको ढलान सकेर बाटो जोड्ने काम भइरहेको छ । पिच गर्न भने बाँकी छ ।

खानीखोला पुलको ढलानको काम बुधवार भोली गरिने इन्जिनियर खनालले बताए । मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुङ्गा पुल २० मिटर लम्बाइका छन् । चौडाइ भने सबैको समान ११ मिटर हुनेछ । पुलको दुबै छेउमा १ दशमलव ५ मिटरका दरले फुटपाथ रहने छ ।

तीन पुलको कुल निर्माण लागत १३ करोड रुपैयाँ छ । सोही सडकखण्डको जलविरेमा निर्माण भइरहेको पुलको काम भने निकै सुस्त छ । जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो । १३० दिन म्याद थप भइसकेको पुलको जम्मा ४२ प्रतिशत मात्रैं निर्माण सकिएको छ ।

जलवीरे पुल ८० मिटर लामो हुनेछ । यो पुल बनाउन १४ करोडमा ठेक्का दिइएको हो । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको कारण पुल निर्माणमा ढिलाइ भएको आयोजनाका इन्जिनियर शिव खनालले बताए । विश्व बैंकले डिसेम्बर महिनासम्म बैंकको लगानीमा थालिएका सबै काम सकिसक्नुपर्ने डेटलाइन छ । सो अवधिभन्दा अघि नै जलेबीरे पुल निर्माण गरिसक्न ठेकेदारलाई भनिएको इन्जिनियर खनालले बताए ।

सो सडकमा १८ वटा पुल रहेका छन् । अन्य पुलको निर्माणका लागि भने विश्व बैंकले चासो दिएकाले सडक विभागको वैदेशिक महाशाखाले गृहकार्य गरिरहेको छ । केही पुल निर्माणका लागि ठेक्का खोल्ने तयारीमा महाशाखा लागिसकेको छ । सडकखण्ड विस्तार भए पनि साँघुरा पुलका कारणले दुर्घटना बढाएको छ भने सवारी साधनहरु जाममा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment