Comments Add Comment

पोखराको नमुना वडामा ट्राफिक लाइट र दृष्टिविहीनमैत्री बाटो

१० वैशाख, पोखरा । पोखरा १३ ले मंगलबारदेखि ट्राफिक लाइट सुरु गरेको छ । पोखरा १३ मा रहेको भद्रकाली स्कुल अगाडि रहेको ट्राफिक लाइट महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका हुन् ।

विद्यालयमा विद्यार्थीको उच्च चाप रहेको र उनीहरुलाई सुरक्षित तरिकाले सडकमा यात्रा गर्न सिकाउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको वडाध्यक्ष दर्शन लामाले बताए । विद्यालयमा माध्यामिक तहमा २७ सय र क्याम्पसतर्फ गरी ३२ सय विद्यार्थी छन् ।

उनले उक्त ट्राफिक लाइट जडान गर्न १ लाख ६३ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । ‘सोलार प्रविधिको बनाएका छौं । यो ट्राफिक लाइट बनाउन स्थानीयले पनि आर्थिक सहयोग गर्नुभएको छ,’ मेयर जिसीले भने ।

उक्त ट्राफिक लाइट विद्यार्थीले वारपार गर्दा बटन थिचे रातो बत्ती बल्ने र उनीहरुले बाटो काटिसकेपछि निश्चित समयपछि आफैं बन्द हुनेछ ।

‘अहिले नमूनाका रुपमा मात्रै यसलाई बनाएका हौं । अब बेसलाइन स्कुलमा पनि विद्यार्थीको उच्च चाप छ । त्यहाँ पनि बनाउने योजना बनाइरहेका छौं,’ उनले भने । मेयर जिसीले चालु आर्थिक वर्षभित्र १० मुख्य ठाउँमा ट्राफिक लाइट बनाउन लागेको जानकारी दिए ।

दृष्टिविहीनमैत्री बाटो

वडा नम्बर १३ ले महानगरमै पहिलो पटक बनाएको दृष्टिविहीनमैत्री बाटो पनि मंगलबार नै मेयर मानबहादुर जिसीले उद्घाटन गरेका छन् । उनले आन्तरिक राजश्व कार्यालयमा कर अधिकृतका रुपमा कार्यरत विजय लामिछानेलाई छडी दिँदै उक्त बाटोको उद्घाटन गरेका हुन् ।

वडाले आफ्नो क्षेत्रभित्र वडा कार्यालयदेखि भद्रकाली स्कुलसम्म ३ सय मिटर दृष्टिविहीनमैत्री बाटो बनाएको हो । ८ लाख ५५ हजार रुपैयाँ लगानीमा बनेको उक्त बाटोमा सर्वसाधारण र अपांगहरु पनि सजिलै हिँड्न सक्ने वडाध्यक्ष दर्शन लामाले दाबी गरे ।

आन्तरिक राजश्व कार्यालयमा कर अधिकृत विजय लामिछाने वडाले स्वागतयोग्य काम गरेको बताए । ‘वडाले राम्रो काम गरेको छ । अब हामीलाई आवतजावतमा सजिलो हुने भयो,’ उनले भने ।

पोखरा १३ नम्बर वडा महानगरमै नमूना वडाका रुपमा मानिन्छ । त्यहाँ रहेको बाटा ‘ग्रिनी रोड’ अवधारणा अनुसार बनाइएका छन् । सोही अवधारणा अनुसार बाटो वरिपरि फूल, गमला राखिएका छन् ।

वडाले महानगरमै पहिलो पटक स्मार्ट कार्ड लागू गर्ने दाबी गरेको छ । वडाध्यक्ष लामाले व्यक्तिगत विवरणसहितको कार्ड वितरण गर्न लागिसकिएको र आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने दाबी गरे । ‘२ प्रकारको कार्ड हुन्छ । एउटा व्यक्तिगत र अर्को पारिवारिक,’ लामाले भने, ‘व्यक्तिगत पाउन ५२ रुपैयाँ र पारिवारिक कार्ड पहिलो पटक निःशुल्क हो ।’

वडाबासी महिलालाई उद्यमी वडाले बनाउन दालमोठ उद्योग स्थापना गरिदिएको छ भने पुरुषलाई नाउ तालिम दिएर अनुदान दिँदैछ । ‘यसो भयो भने कोही बेरोजगार बस्नु पर्दैन । आफ्नै बलबुँतामा उनीहरुले राम्रो कमाउन सक्छन्,’ लामाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment