Comments Add Comment

विप्लवलाई मूलधारमा ल्याउने प्रयास भइरहेको छ : गृहमन्त्री

१२ वैशाख, विराटनगर । विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेका छन् । यद्यपि, उनले यो समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताए ।

‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ’, प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका मन्त्री थापाले भने ।

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि उक्त अवसरमा प्रष्ट पारे । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै उनले भने ।

विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्‍याए ।

जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

फरक प्रसंगमा उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताए । यसका लागि आवश्यक पूर्वाधार तयारीमा सरकार जुटेको उनको भनाइ छ ।

गृहमन्त्री थापाले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा पनि सरकार सफल भएको दाबी गर्न भ्याए ।

नेकपाको जिल्ला एकताबारे सोधिएको एक प्रश्नमा उनले विधि र प्रक्रियाअनुरुप पछिल्लो जिल्ला एकता टुंग्याइएको उल्लेख गर्दै असन्तुष्टिहरु भए त्यसलाई छलफलमार्फत पार्टीले टुंग्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment