Comments Add Comment

सुदूरपश्चिममा औलोको जोखिम कायमै

१२ वैशाख, डडेल्धुरा । सन २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिबिधि भए पनि औलोको जोखिम कायमै रहेको छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा औलोको जोखिम बढी भएको पाइएको हो ।

विश्व औलो दिवसको अवसरमा डडेल्धुरा सदरमुकाममा स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रम उक्त जनाकारी गराइएको हो ।

डडेल्धुरामा चालु आर्थिक वर्षको हालसम्म औलोका ८ जना विरामी भेटिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

विदेशबाट र्फकने नेपालीहरुमा औलोको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिएका छन् ।

औलो रोग निवारण गर्नको लागि सम्बन्धित स्वास्वास्थ्य चौकीमार्फत आमा समूहसम्म विभिन्न किसिमका जनचेताना मुलक कार्यक्रमहरु संचालन गरिरहेको उनले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका ३१ वटा वडाहरु औलोको उच्च जोखिमा रहेका छन् भने ९१ वडाहरु मध्यम जोखिममा रहेको तथ्याङले देखाएको छ ।

डडेल्धुरा जिल्लाको पनि भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा औलोको बढी जोखिम रहेको उनको भनाइ छ ।

आज (बिहीबार) विश्व औलो दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको निर्णयअनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाइन्छ ।

औलो अर्थात् मलेरियो लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्‍यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ ।

प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन् ।

त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ ।

औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ ।

जोखिम कम गर्न के गर्ने ?

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो। शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ ।

स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ ।

घर-घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment