Comments Add Comment

माइक्रोसफ्ट बन्यो १० खर्ब डलरको तेश्रो सार्वजनिक कम्पनी

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टको बजार मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । शेयर बजारमा कम्पनीको शेयर मूल्यमा अपेक्षा गरिएभन्दा बढोत्तरी भएसँगै माइक्रोसफ्टको मूल्य बिहीबार १० खर्ब डलर नाघेको हो ।

यो सँगै माइक्रोसफ्ट १० खर्ब डलर बजार भाउ भएको विश्वकै तेश्रो सार्वजनिक कम्पनी बनेको छ । यसअघि एप्पल र अमेजनले १० खर्ब डलर मूल्यको कोशेढुंगा पार गरेका थिए ।

माइक्रोसफ्टको क्लाउड बिजनेसमा भएको वृद्धिसँगै कम्पनीको शेयर मूल्यमा पछिल्लो एक वर्षमा एक तिहाइले वृद्धि भएको छ ।

बुधबार मात्रै माइक्रोसफ्टले सन् २०१८ को चौथो त्रैमासिकको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको आम्दानीमा १४ प्रतिशतले वृद्धि भएको जनाएको थियो । उक्त त्रैमासिकमा माइक्रोसफ्टले ३० अर्ब ६० करोड आम्दानी गरेको छ । त्यस्तै खुद मुनाफामा १९ प्रतिशतले वृद्धि भएर ८ अर्ब ८० करोड पुगेको छ ।

सत्य नादेलाको नेतृत्वमा माइक्रोसफ्टले पछिल्ला वर्षहरुमा क्लाउड बिजनेसमा आफ्नो उपस्थिति बढाएर विन्डोज अपरेटिंग सिस्टममाथिको निर्भरता घटाएको छ ।

स्मरण रहोस् गत अगष्टमा एप्पल विश्वकै पहिलो १० खर्ब डलरको सार्वजनिक कम्पनी बनेको थियो भने त्यसको एक महिनापछि अमेजनले त्यो कोशेढुंगा पार गरेको थियो । तर सन् २०१८ को अन्त्यतिर शेयर बजार खस्किँदा दुवै कम्पनीको मूल्य घटेर १० खर्बभन्दा कम हुन पुगेको थियो ।

यद्यपि सन् २००७ मा पेट्रोइ चाइना कम्पनी पनि १० खर्ब डलरको कम्पनी बनेको थियो । तर उक्त कम्पनीमा अधिकांस हिस्सा चिनियाँ सरकारको रहेको छ । अहिले सो कम्पनीको बजार मूल्य २ खर्ब डलर रहेको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment