Comments Add Comment

वीरगञ्जमा ईरिक्सा र अटो सञ्चालन व्यवस्थित गर्ने सहमति

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा धेरै ई–रिक्सा, अटो सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापनको मुख्य चुनौती बनेको छ ।

साँघुरो सडकमा जता पनि एक जना मात्रै यात्रु बोकेर ई–रिक्सा र अटो कुदाउने गरिन्छ । सस्तोमा यात्रा गर्न पाउँदा यात्रुलाई सहज भए भए पनि ट्राफिक अस्तव्यस्त भएका कारण ई–रिक्सा अटो सधैं आलोचनामा परिरहेको छ ।

शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले ईरिक्सा अटो र टेम्पो सञ्चालन व्यवस्थित बनाउनेबारे गरेको छलफलमा सञ्चालकहरुले व्यवस्थित गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वीरगञ्जमा ई रिक्सा, अटो र टेम्पो सञ्चालन गर्ने ६ कम्पनी सञ्चालकले तोकिएको स्थानमा पार्किङ गरी निर्धारित रुटमा मात्रै ई–रिक्सा, अटो र टेम्पो सञ्चालन गर्ने, रुट अनुसारको स्टिकर टाँस्न सहमत भएका छन् ।

उनीहरु एक अर्काको क्षेत्रमा गएर झै–झगडा तथा हिंसात्मक गतिविधि नगर्ने, नयाँ पशुपति ई रिक्सा सञ्चालक प्रालिको रिक्सालाई घण्टाघर छेउ स्थित सावैजनिक शौचालय नजिकै राखेर सञ्चालन गर्न दिने लगायतका विषयमा सहमत भएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।

‘घण्टाघर छेउमा रहेको विपी उद्यानको जग्गामा अहिले अस्थायी पार्किङको व्यवस्था मिलाएका छौं । त्यही सबैले आ–आफ्नो सवारी साधन पार्किङ गर्छन र यात्रु भरेर गन्तव्यमा जान्छन्’ उनले भने ‘निर्धारिट रुट मै चल्नुपर्ने र स्टिकर अनिवार्य लगाउन भनेका छौं । पुरै व्यवस्थित नभएपनि यसो गर्दा अलि व्यवस्थित हुन्छ ।’

यातायात व्यवस्था कार्यालय वीरगञ्ज र वीरगञ्ज महानगरपालिकाबीच समन्वयको अभावमा वीरगञ्जमा ई–रिक्सा, अटो थप्ने क्रम निरन्तर बढेको छ । महानगरपालिकाले आवश्यकता भन्दा बढी ई–रिक्सा र अटो नगर क्षेत्रमा सञ्चालनमा आएको भन्दै अनुमति दिन छोडेको भए पनि यातायातले धमाधम रुट परमिट दिइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंह ट्राफिक व्यवस्थित बनाउने प्रयासमा आफू लागि परेको बताउँछन् । ‘एक त सवारी चापको तुलनामा सडक साँघुरो छ, ठाउँ ठाउँमा पसल, व्यवसाय सञ्चालन गरेर सडक अतिक्रमण पनि भएका छन् । जथाभावी सवारी पार्किङको समस्या उस्तै छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment