Comments Add Comment

आँचल शर्माको दैनिकीः पानीपुरी खाँदै, लुडो खेल्दै  

अभिनेत्री आँचल शर्मा चञ्चले छिन् । धीरतापूर्वक बस्नै नसक्ने । घरमा बस्दा उनी टेलिभिजन हेर्छिन्, पानीपुरी खान्छिन्, लुडो खेल्छिन् । आँचलको रिस पनि पानीको फोको जस्तै छ, क्षणमै उठ्ने, क्षणमै विलाउने । खुसी चाहि हरदम । उनी यतिकै मख्ख हुन्छिन् । खुसी हुन्छिन् । बेलाबखत बुवाले भन्छन् पनि, ‘यसलाई त गंभीर हुनै आउँदैन । अझै केटाकेटी जस्तै छे ।’

आँचल, अहिलेकी चल्तापूर्जा अभिनेत्री । अक्सर फिल्मको छायांकनले उनको दैनिकी व्यस्त बनाउँछ । त्यसबाहेक प्रमोसन, अन्र्तवार्ता, भेटघाट आदिले आँचललाई फुर्सद मिल्दैन । यद्यपी बेलाबखत भने उनलाई घरमै बस्ने साइत जुर्छ । यस्तो बेला उनी के गर्छिन् ? उनको दिन कसरी बित्छ ?

पर्याप्त र गहिरो निद्रा

घरमै बसेको बेला उनले झुल्के घामको दर्शन गर्न पाउँदिनन् । कारण उनी उठ्दा घाम छिप्पिसकेको हुन्छ ।

फिल्मको सुटिङ छ भने चाहि उनको सेड्युल फरक हुन्छ । सुटिङ अनुसार उनले सुत्ने र उठ्ने समय मिलाउँछिन् । तर, फुर्सदिला दिनमा भने उनी मस्त सुत्छन् । बिहान १० बजेसम्म ।

आँचललाई निद्रा प्यारो छ । ओछ्यानमा पल्टनसाथ भुसुक्कै निदाउँछे । उनलाई निदाउनका लागि कुनै समस्या छैन । न छटपटी हुन्छ । ओछ्यानमा पुगेर पल्टिएपछि पुग्छ । प्राय सपना देख्दिनन् । भुस भएर सुतेपछि सानोतिनो हलचले उनको निद्रा विथोल्दैन । गहिरो एवं मस्त निद्रा । यहि कारणले पनि विहान उठ्दा उनको अनुहारमा बेग्लै आभा हुन्छ । शरीरमा बेग्लै फूर्ति हुन्छ ।

राती अबेरसम्म बस्ने बानी पनि छैन । बेलाबखत फोन वा फेसबुकले सुत्ने समय विथोल्ने हो । अन्य दिनमा भने उनी १० बजे ओछ्यानमा घुसि्रसकेकी हुन्छिन् । राती १० बजे सुतेका उनी बिहान १० बजेसम्मै सुतिदिन्छिन् ।

मिल्क टिसँगै दिनचर्या सुरु

ओछ्यान छाड्नसाथ उनी वाथरुम जान्छिन् । प|mेस हुन्छिन् । अब उनको हातमा आइपुग्छ, आमाले बनाएको चिया । अर्थात दुध चिया । उनलाई दुध चिया नभई हुन्न । सकेसम्म घरकै भान्सामा पाकेको । आमाको हातले बनाएको ।

‘दुधमा पानी नमिसाई बनाएको चिया हुनुपर्छ’ आँचल भन्छिन्, ‘दिनमा ६, ७ कप पिउँछु ।’ बिहान उठ्नसाथ दुध चिया । दिनभरमा पनि चिया नै चिया । ग्याष्ट्रिक हुँदैन ?

‘अँह, मलाई त्यस्तो कुनै समस्या छैन’ आँचल भन्छिन्, ‘फिट एन्ड फाइन छु ।’

यद्यपी चियासँग बिस्कुट भने चाहिन्छ ।

ननभेज खान्की

त्यसो त आँचल खाना नखाई पनि बस्न सक्छिन् । यद्यपी उपवास भने होइन । बेलाबखत उनलाई खाना खाने मुड चल्दैन । ‘खाना नभए पनि हुन्छ’ आँचल भन्छिन्, ‘फलफूल भए अघाउँछु ।’

खाना खाने कि नखाने भन्ने कुरा तरकारी के-कस्तो पाकेको छ भन्ने कुराले निर्धारण गर्छ । मासु पाकेको छ भने गजब हुन्छ । खासगरी खसीको । त्यसमा पनि ग्रेभी । ‘मामुको हातले बनाएको खसीको ग्रेभी एकदम मीठो लाग्छ’ आँचल भन्छिन्, ‘त्यसमा गोलभेडा पोलेर पिसेको अचार छ भने त अझ स्वादिलो हुन्छ ।’

मासु नभएको दिन तारेको आलु, कालो दाल, साग, गोलभेडाको अचार र त्यसमा घिउ हुनुपर्छ । आहा ! यस्तो खानाले उनको मन कहिल्यै अघाउँदैन ।

उनको जिब्रो मासुमै लोभिएको छ । यदि मासु नभएको दिन तारेको आलु, कालो दाल, साग, गोलभेडाको अचार र त्यसमा घिउ हुनुपर्छ । आहा Û यस्तो खानाले उनको मन कहिल्यै अघाउँदैन । ‘मलाई दाल भात नै मनपर्छ’ आँचल भन्छिन्, ‘मःम, चाउमिन, पिज्जा त्यती मनपर्दैन ।’ बरु दुध, भात, केरा, आँप मुछेको खाना उनलाई स्वाद लाग्छ ।

घरको भात उनी भरपेट खान्छिन् । भात खाएको बेला उनले आफुलाई नियन्त्रण गर्न सक्दिनन् ।

आँचललाई कटरको तरकारी, खासगरी घिउ हालेर बनाएको, खुब मीठो लाग्छ । फलफूलमा चाहि उनको मनपर्ने भनेको अनार हो । त्यसपछि स्याउ । केरा मनपर्दैन ।

भाँडावर्तन माझ्न र घर सफा गर्न जाँगर चल्छ

आँचललाई भान्साको काममा त्यती अल्छी लाग्दैन । यद्यपी आमाले उनलाई भान्सामा काम गर्न दिदैनन् । बुवाले पनि छेकबार गर्छन् । किनभने आमाले पकाएको खानेकुरामै परिवारको स्वाद भिजेको छ ।

यद्यपी बेलाबखत आँचल आफै ब्रेकफास्ट बनाउँछिन् । खासगरी पास्ता, चाउचाउ पकाउन उनलाई जाँगर चल्छ । भाँडावर्तन सफा गर्न पनि आँचललाई अल्छी लाग्दैन ।

बरु घरमा बसेको बेला आँचल घर सफा गर्छिन् । सामानहरु व्यवस्थित गर्छिन् । लुगाफाटो मिलाएर राख्छिन् । उनलाई आफ्नो घर, कोठा चिरिच्याट्ट परेको हुनुपर्छ । आँचल नभएको बेला यो काम आमा र बुवाले गरिदिन्छन् । ‘बाहिर सुटिङबाट फर्केको बेला मेरो कोठा सफाचट हुन्छ’ आँचल भन्छिन्, ‘बुवा र ममीले सबैकुरा मिलाएर राखिदिनुहुन्छ ।’

पानीपुरी खाँदै, लुडो खेल्दै

घरमा बसेको बेला आँचललाई मस्ती गर्नुपर्छ । उनी टिभी हेर्छिन् । खासगरी ‘सावधान इन्डिया’ । उनलाई अरुतिर घुमफिर गर्न खास रुची लाग्दैन । बरु मिल्ने साथी घरमै आइपुग्छन् । उनका दुई यार छन्, सेजल राजभण्डारी र आकृति सिजापती । आँचल घरमा भएको बखत उनीहरु दुबै आइपुग्छन् ।

घरमा आमा, बुवा, बहिनी र दाई पनि हुन्छन् । प्राय सबैजना भेट भएको बेला पारिवारिक कुरा हुन्छ । फिल्मको कुरा हुँदैन ।

दाई र बहिनीसँगै उनी लुडो खेल्छन् । पानीपुरीमा भने सबैजना स्वादे छन् । बुवा, आमा, आँचल, बहिनी । घर अघिल्तिर पानीपुरी ल्याएको बेला एकै पटक दुई सय रुपैयाँको पानीपुरी किनेर ल्याउँछन् र सबैजना बसेर खान्छन् । ‘दुई सयको पानीपुरीले पुगेन भने बुवा फेरी किन्न जानुहुन्छ’ आँचल भन्छिन्, ‘हामी सबै पानीपुरी खान्छौ ।’

फुर्सदमा उनी लेखपढ पनि गर्छिन् । उनी बानेश्वरको के एन्ड के कलेजबाट ‘जेन्डर स्टडिज’मा स्नतकोत्तर गर्दैछिन् । पाठ्यपुस्तकबाहेक अरु रुचीका पुस्तक पनि पढि्छन् ।

छोटो लुगा लगाउन मन लाग्दैन

अभिनेत्री हुन्, फेसन कन्सस हुनैपर्छ । अरुको अघिल्तिर स्टाइलिस र फेसनेवल पनि देखिनैपर्छ । तर, आँचल पहिरनका सौखिन भने होइनन् । अक्सर उनलाई खुला र सहज पहिरन नै मनपर्छ । ‘घरमा बसेको बेला त म लुज लुगा लगाइरहेकी हुन्छु’ आँचल भन्छिन्, ‘असहज र फिटिङ्स लुगा मनपर्दैन ।’

उनलाई कुर्ता सुरुवालमै ठाँटिन रमाइलो लाग्छ । सहज पनि । अक्सर उनी कुर्ता सुरुवालमै हुन्छिन् । यद्यपी फिल्मको प्रमोशन वा सुटिङ छ भने त्यही अनुसारको पहिरन लगाउने गर्छिन् ।

‘छोटो लुगा चाहि लगाउन त्यती मन लाग्दैन’ आँचल भन्छिन्, ‘लगाउनै पर्ने अवस्थामा मात्र हो ।’

अक्सर लुगा लगाइसकेपछि उनी बहिनीलाई देखाउँछिन् । र, सोध्छिन्, ‘कस्तो देखियो ?’ बहिनीले नै लुगा राम्रो वा नराम्रो देखिएको टिप्पणी गर्छिन् । यद्यपी बहिनीले ‘नराम्रो देखियो’ भनेपनि उनी लुगा फेर्ने कष्ट भने गर्दिनन् । ‘जे छु, ठिकै छु भन्ने लाग्छ’ आँचल भन्छिन् ।

आँचल कतिपय पहिरन दोहोर्‍याएर लगाउँछिन् । मन परेको र सजिलो लाग्ने पहिरन उनी पटक पटक लगाइरहेकी हुन्छिन् । ‘त्यतीका पैसा खर्च गरेको लुगा किन एक पटक मात्र लगाउनु ?’ आँचल भन्छिन्, ‘दोहोर्‍याएर लगाउँदैमा के फरक पर्छ र ?’

उनी कपडाको सौखिन होइनन् । न सपिङको नै । यद्यपी आवश्यक्ता अनुसार उनले प्रशस्तै लुगाफाटो जोडेकी छिन् । कतिपय चाहि यस्ता छन्, जो लगाउन पनि त्यती जाँगर चल्दैन र यतिकै मिल्काउन पनि मन लाग्दैन ।

मन लागे जिमखाना

आँचललाई सोधियो, ‘कसरी आफुलाई मेन्टेन गर्नुहुन्छ ?’

‘त्यस्तो केही गरेकी छैन’ उनको जवाफ थियो, ‘जिम जान अल्छी लाग्छ, योग, ध्यान केही गर्दिन ।’ उनी योग गर्दिनन् । ध्यानको अभ्यास पनि गर्दिनन् । न दौडन्छन्, न जिम धाउँछिन् । यद्यपी उनको शरीर फिट छ ।

‘वर्कआउटमा अल्छी लाग्छ’ आँचल भन्छिन्, ‘जिम त महिनाको त्यही एक दिन गइन्छ होला ।’ मुड चलेको बेला जिम जान्छिन् । तर, जिम जाने मुड भने हत्तपत्ति चल्दैन ।

मौसम अनुसार मेकअप

आँचललाई मेकअपमा पनि उस्तो आशक्ति छैन । कहिले काहीँ त मेकअप बिना नै हिँड्छन् । त्यस्तै उनलाई मेकअप गर्न समय लाग्दैन । १०-१५ मिनेटमा मेकअप सिध्याउँछिन् । ‘हतारमा छु वा कुनै काम छ भने एकदम छिटो-छरितो मेकअप गर्छु’ आँचल भन्छिन्, ‘तर, समय छ भने चाहि घण्टौ पनि लगाइरहेकी हुन्छु ।’

फुर्सदको बेला भने उनलाई घण्टौ लगाएर मेकअप गर्नुपर्छ । फाउन्डर लगायो, वाथरुम गयो । फेरी आएर मेकअप गर्‍यो । मेकअप किट प्राय विदेशबाट दिदीले पठाइदिन्छन् । गाजल चाहि होममेड लगाउँछिन् ।

पूजापाठ र मन्त्र-जप

आँचलकी आमा धार्मिक प्रवृत्तिकी छिन् । प्राय धर्मकर्ममा तल्लिन हुन्छिन् । पूजापाठ गर्ने, मन्दिर धाउने, ब्रत बस्ने गर्छिन् । यसको प्रभाव आँचलमा पनि छ । उनी ब्रत त बस्दिनन् यद्यपी धर्ममा आस्था राख्छिन् ।

घर अघिल्तिर मन्दिर छ । बिहानदेखि साँझसम्म भजन किर्तन हुन्छ । शंख-घण्ट बज्छ । घरमै पनि सानो मन्दिर छ । त्यही पूजाआजा गर्छिन् । उनलाई गायत्री मन्त्र कण्ठ छ । मन्त्र जप गर्छिन् । आमा धर्म संस्कारमा अलि बढी लीन हुन्छिन् । यद्यपी आँचललाई भने, आफ्नो स्वास्थ्यलाई हानी हुने गरी व्रत बस्नु, मन्दिर धाउनुपर्छ जस्तो लाग्दैन । उनीसँग बुवा पनि सहमत छन् ।

बुवा एक साथी

उनको सबैभन्दा नजिकको र भरपर्दो साथी भनेकै बुवा हुन् । उनी बुवासँग सबै कुरा शेयर गर्छिन् । आफुलाई चित्त बुझेको, नबुझेको कुरा पोख्ने भनेकै बुवाको सामुन्ने हो ।

बुवा र छोरी खुब मिल्छन् । दुबैको राय र बानी पनि मिल्छ ।

‘मेरो सबै कुरा बुवालाई भन्ने हो’ आँचल भन्छिन्, ‘अरुलाई व्यक्त गर्न नसकेको कुरा पनि उहाँलाई भन्न सकिन्छ ।’ बुवा जत्तिको समझदार र बुझ्ने साथी अरु नहुने उनको बुझाई छ ।

अक्सर बुवाले नै उनलाई करियरका लागि पनि सरसल्लाह दिइरहेका हुन्छन् । के गर्दा राम्रो, के बोल्दा राम्रो, कहाँ जाने, कसरी जाने ? सबैकुरा बुवाले नै सिकाउँछन् । बवाको आज्ञाकारी छोरी हुन् उनी ।

बुवा भन्छन्, ‘सानोतिनो कुरामा धेरै दुःखी हुनुहुँदैन । अरुले के भन्छन् भन्ने कुरामा पनि विचलित हुनुपर्दैन । आफुले सही गरेपछि निर्धक्क भए हुन्छ ।’

आँचललाई बुवाको यो भनाई गुरुमन्त्र झै लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment