Comments Add Comment

गुल्मीमा झाडापखालाबाट १ जनाको मृत्यु, १७० जना बिरामी

अनुसन्धानका लागि विशेषज्ञसहितको टोली गाउँमा

Photo Credit : प्रतीकात्मक तस्वीर

१५ वैशाख, गुल्मी । झाडापखलाबाट प्रभावित गुल्मीको नजाकोटमा १ जनाको ज्यान भएको छ । मुसिकोट नगरपालिकावडा–४, दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाका कारण मृत्यु भएको हो ।

झाडा पखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला मृत्यु भएको स्थानीय हरि छन्तेलले जानकारी दिए ।

दजाकोटको सिंगो बस्तीका बासिन्दा नै झाडापखालाबाट बिरामी परेका छन् । आइतबार बिहानसम्म करिब १ सय ७० जना बिरामी परेको स्थानीयले जनाएका छन् ।

बिरामीमध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास र ३ जनाको रेसुङ्गा अस्पताल तम्घासमा उपचार भइरहेको छ । गुल्मी तथा पाल्पाको अस्पतालमा उपचार सम्भव नभएपछि १ जनालाई चितवन लगिएको छ ।

गुल्मी अस्पतालमा उपचारत मध्ये २ जना निको भएर घर फर्किएको जिल्ला अस्ताल गुल्मीका प्रमुख उत्तम पच्याले बताए । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको छ ।

प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली

यसैबीच, सिङ्गो गाउँ नैै झाडापखलाबाट प्रभावित बनेपछि काठमाडौंबाट विशेषज्ञ टोली अध्ययनका लागि आएको छ । गत सोमबारबाट फैलिएको झाडापखालाको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको समन्वयमा ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली गुल्मी आइपुगेको हो । डक्टरसहितको टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । शनिबार साँझबाट प्रभावित क्षेत्र पुगेर पानीको मुहान परिक्षण गरिने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए ।

गुल्मी अस्पतालमा उपचारत ५ जनाको दिसा परीक्षणमा हैजाको किटाणु नदेखिएको र दूषित पानीमा परजीवी फैलिएकाले झाडापखला हुनसक्ने डक्टर पच्चाले बताए । झाडापखालाले बिहीबार र शुक्रबारको तुलनामा बिरामी घट्दै गए पनि उपचार गराएर घर फर्केकाहरु पुनः समस्या दोहोरिएर आउने गरेका छन् ।

प्रत्येक घरलाई एक कार्टुनका दरले बोतलको पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । प्रभावित बस्तीमा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment