Comments Add Comment

प्रदेश १ ले माग्यो नाम र राजधानीसम्बन्धी प्रस्ताव

१९ गतेसम्म पेश गर्ने समयसीमा

१५ वैशाख, विराटनगर । प्रदेश १ को नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न प्रदेशसभाले सूचना प्रकाशित गरेको छ । सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार प्रदेशसभा सचिवालयले आइतबार नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।

प्रदेशसभा सचिवालयका कानून अधिकृत मञ्जु खड्काका अनुसार नाम र राजधानीसम्बन्धी प्रस्ताव १९ वैशाखसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउनुपर्नेछ ।

दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सदनमा पेश हुनेछ ।

प्रदेशसभा १ को हालै संशोधित नियमावलीअनुसार नाम र राजधानीको प्रस्ताव दर्ता गराउन दुईजना समर्थक र एकजना प्रस्तावक चाहिन्छ ।
ती प्रस्तावमाथि छलफल गरी प्रदेशसभाले दुई तिहाई बहुमतले निणय गर्नेछ ।

प्रदेश १ सरकारले वैशाख २२ गतेभित्रै प्रदेशको नाम र राजधानी टुंग्याउने तयारी गरेको थियो । चालु अधिवेशन वैशाख २२ मा सकिने भएकाले त्यसअघि नै नाम र राजधानी तोक्ने तयारी गरेको हो ।

प्रदेशको नामको विषयमा कोशी र सगरमाथा बढी चर्चामा छ भने पहिचानको आधारमा सबै भन्दा बढी किरातको चर्चा रहदै आएको छ । भूगोलका आधारमा प्रदेशको नाम कोशी राख्ने सहमति नजिक दलहरु पुगेको बताइएको छ ।

प्रदेश १ को राजधानीका लागि विराटनगर, धरान, इटहरी, गोठगाउँ (मोरङ) र धनकुटाले पनि माग गर्दै आएका छन् ।

प्रदेश १ का ९३ सांसदमध्ये नेकपाका ६७, नेपाली कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक र एक सांसद छन् । दुई तिहाइका लागि ६२ सांसद चाहिन्छ, जुन सत्तारुढ नेकपा एक्लैसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment