Comments Add Comment

अमर यादवको युटर्न : प्रचण्डको हातबाट टीका लगाए !

Photo Credit : CM Prachand

१७ वैशाख, काठमाडौं । गौरको राईसमिलमा ७ चैत २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एउटै ठाउँमा एकै समयमा आमसभा गर्न खोज्दा हिंसात्मक झडप हुँदा २७ जना मारिए ।

त्यसबेला फोरमको नेतृत्व अमर यादव र नेकपा माओवादीको नेतृत्व प्रभु साहले गरेका थिए । संयोग नै मान्नुपर्छ, तिनै अमर यादवलाई प्रभु साहले नै निकै जोडबल गरेर नेकपामा प्रवेश गराएका छन् ।

स्रोतका अनुसार २५ फागुनमा प्रचण्डसँगै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रौतहटको गरुडा गएकै दिन यादवको पार्टी ‘तराई मधेस फोरम’ नेकपामा बिलय गर्ने तय भएको थियो ।

तर, तत्कालीन माओवादी पक्षका नेताहरुले असन्तुष्टि जनाएपछि रोकिएको थियो ।

मंगलबार खुमलटारस्थित निवास पुगेर अमर यादवले प्रचण्डको हातबाट टीका लगाएका छन् । यादव आफूले भने नेकपा प्रवेश गरेको नभई पार्टी समायोजन भएको बताउँछन् । ‘पार्टी एकीकरणको कुरा धेरै पहिलादेखि चलेको थियो, आज टुंगिएको छ,’ उनले भने ।

उनी गौर घटनालाई आन्दोलनकै हिस्सा मान्छन् र धेरै कोट्याइरहन चाहँदैनन् । ‘सुनियोजित ढंगले गरौं भनेर भएको होइन,’ यादवले अनलाइनखबरसँग भने, ‘मिसअण्डरस्ट्याण्ड भयो र राज्यले सुरक्षा दिन पनि सकेन । त्यही कारण दुःखद घटना हुन पुग्यो ।’

नेपालका हरेक आन्दोलनमा रोक्दा रोक्दै पनि मानवीय क्षति हुने गरेको भन्दै उनले भनेे, ‘गौर घटना पनि दुःखद हो । तर, त्यसक्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेर क्षतिपूर्ति दिएकै छ । अब सबै सहिद परिवारको जिविकोपार्जनमा सहयोग गर्नुपर्छ ।’

उसो त गौर घटनाका बेला फोरमको कार्यक्रममा प्रमुख अतिथि बनेका रामकुमार शर्मा निकै अगाडि नै प्रचण्ड नेतृत्वको पार्टीमा आएका थिए । बाबुराम भट्टराई फुट्दा उनीसँगै गएका शर्मा अहिले नेकपामै छन् ।

त्यसैले अमर यादवको पार्टी प्रवेश अनौठो भने नभएको नेकपाका नेताहरु बताउँछन् ।

अमर यादवले भने अबको मुद्दा विकास भएकाले नेकपासँग एकता गरेको बताउँछन् । ‘कतिपय विषयमा संविधान संशोधन भइसक्यो, कतिपय प्रक्रियामा छन् । आजै पनि प्रचण्डले संशोधनबारे भन्नु भएको छ,’ यादव भन्छन् ।

यादवकाअनुसार प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपालले समेत केपी शर्मा ओलीसँग कुराकानी गरेर केन्द्रदेखि तल्लो कमिटीसम्म समायोजन गर्ने र नेताहरुलाई उचित जिम्मेवारी दिने बचन दिएका छन् ।

यो पनि पढ्नुहोस प्रदेश २ को सरकार ढाल्ने प्रचण्डको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment