Comments Add Comment

बिजुली अड्डालाई चुनाव लाग्यो, बिहीबार काउन्टर बन्द

१८ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा चुनावी सरगर्मी बढेको छ । त्यहाँ क्रियाशील कर्मचारी ट्रेड युनियनहरुको आधिकारिकताका लागि वैशाख १९ मा निर्वाचन हुने भएपछि बिजुली अड्डा चुनावी माहोलले तातेको हो । कर्मचारीहरु चुनावमा व्यस्त भएपछि एक दिन विद्युत काउन्टर बन्द गरिने भएको छ ।

निर्वाचनमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र नेपाल विद्युत कर्मचारी संघ गरी ३ वटा संगठन मैदानमा उत्रिएका छन् । कर्मचारी युनियन नेकपानिकट कर्मचारी संगठन हो भने नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्यण परिषद् राप्रपा र नेपाल विद्युत् कर्मचारी संघ कांग्रेसमा आस्था राख्ने कर्मचारीहरुको संगठन हो । तीनवटै संगठनको नेतृत्व क्रमशः रामेश्वर पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन भट्टराईले गरेका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा आफ्नो संगठनलाई आधिकारिता दिलाउन ३ वटै संगठन केही दिनदेखि सक्रिय देखिएका छन् । नतिजा आफ्नो पक्षमा पार्न प्रतिष्पर्धारत संगठनबीच प्राधिकरण सुदृढीकरण र कर्मचारी हक हितका मुद्दा उठाउन प्रतिष्पर्धा नै चलेको छ ।

३ वटै संगठनले निर्वाचनपूर्व आफ्नो संगठनले आधिकारिता प्राप्त गर्ने दाबी गरेका छन् । यद्यपि, मुख्य प्रतिष्पर्धा नेकपा र कांग्रेसनिकट कर्मचारीबीच नै हुने अनुमान गरिएको छ ।

१९ गते काउन्टर बन्द

कार्यरत कर्मचारीले देशका विभिन्न ८ स्थानबाट मतदान गर्ने व्यवस्था प्राधिकरणले मिलाएको छ । प्राधिकरण आधिकारिक ट्रेड युनियन निर्वाचन अधिकृतको कार्यालयका अनुसार, काठमाडौं, विराटनगर, हेटौंडा, जनकपुर, पोखरा, वुटवल, नेपालगञ्ज र अत्तरियालाई मतदान केन्द्र तोकिएको छ । यिनै मतदान केन्द्रबाट कर्मचारीहरुले मत जायर गर्नेछन् ।

बिजुली अड्डामा कार्यरत देशभरका कर्मचारीलाई निर्वाचन लाग्दा सेवा प्रवाहसमेत प्रभावित बनेको छ । निर्वाचनकै कारण बिहीबार देशभरका काउन्टर बन्द गर्ने निर्णय प्राधिकरणले गरेको छ । यद्यपि, यसबाहेकका अन्य सेवा प्रवाह भने यथावत सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment