Comments Add Comment

१२ स्थानमा एकसाथ सुरु भयो आँधी प्रभावितलाई घर निर्माण

२१ वैशाख, वीरगञ्ज । बारा र पर्साका टोर्नाडो आँधी प्रभावितहरुका लागि घर निर्माण सुरु भएको छ ।

घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले १२ वटा क्लष्टर बनाएर तीन चरणमा काम थालेको छ । १२ वटै क्लष्टरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत लगायतले शनिबार घर निर्माणको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री आफैं उपस्थिति हन चाहेपनि वशेष कारणले सम्भव नभएको रक्षामन्त्री पोखरेलले बताए । कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा पनि उपस्थित थिएनन् । उनको स्वास्थ्यमा अचानक समस्या आएको नेपाली सेनाले जनाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री पोखरेलले बाराको फेटा गाउँपालिका-६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरे ।

‘ईजहार मियाँले जुन पीडा भोग्नु परेको छ, त्यो पीडा त हामीले अनुभव गर्न सक्दैनौं’ शिलन्यासपछि उनले भने ‘घर समयमै बनोस् । घर बनाउने जिम्मा सेनााई दिएका छौं । दुःख पीडा परेको खण्डमा स्थानीय र प्रदेश सरकारले सघाउँछ ।’

तत्काल आवासका लागि घर बनाउन लागेपनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने बताए ।

हावाहुरीले ईजहार मियाँको घर भत्किँदा बुहारी, नातानातिनी गरी ४ जना सदस्यको ज्यान लिएको छ । छोरा हैदर गम्भिर घाइते भएका थिए । उनी उपचारपछि घर फर्किएका छन् । सरकारले घर बनाइदिने भएपछि मिया खुसी छन् ।

‘टेन्ट पाएका थियौं तर, पानी आउँदा बस्न मिल्ने अवस्था छैन । काकाको घरमा बसेका छौं’ छोरा हैदरे भने, ‘अब २०/२५ दिनमा घर बन्छ होला, खुशी लागेको छ ।’

सेनाले साउन मध्यसम्म काम सक्ने गरी बारा र पर्सामा १ हजार ४५३ वटा घर निर्माण गर्दैछ । बारामा १ हजार ३ सय ६२ तथा पर्सामा ९१ वटा घर बन्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । ‘स्थानीयलाई पनि काममा लिन्छौं, प्रभावितको घरमा स्किल र ननस्किल मानिसहरु छन् भने हामी सहयोग लिन्छौं,’ उनले भने, ‘यसबाट दुईवटा फाइदा छ । एउटा त उनीहरुले रोजगारी पाउँछन् । अर्को आफ्नो घर आफैंले बनाएको जस्तै लाग्छ ।’

गएको चैत १७ गते आएको हावाहुरीमा परेर बारा र पर्सा जिल्लामा २९ जनाको ज्यान गएको थियो ।

१० जना संघीय मन्त्रीको लर्को

नेपाली सेनाले बाराको १० तथा पर्सामा २ ठाउँमा घर निर्माण शिलान्यास कार्यक्रम राखेको थियो । नेपाली सेनाको दुई ठूला र एउटा सानो गरी तीन वटा हेलिकप्टरमा मन्त्रीहरु पुरैनिया आए र त्यहाँबाट तोकिएको स्थानमा गएका थिए ।

बाराको फेटा गाउँपालिका वडा नं ६ पुरैनियामा उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा उप प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, प्रसौनी गाउँपालिका वडा नं ४ खुट्वा जब्दीमा गृहमन्त्री रामबहादुर थापा बादल, फेटा गाउँपालिका वडा नं ४ भरवलीया शहरी विकासमन्त्री इस्तियाक राई, फेटा गाउँपालिका वडा नं ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा सहभागी भइन् ।

बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा भूमिव्यवस्थामन्त्री पदमा अर्याल, सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, बाराकै पचारौता नगरपालिका वडा नं ७ बेनौली संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुरमा उर्जामन्त्री वर्षमान पुन, वीरगञ्ज महानगरको उदयपुरघुर्मीमा खानेपानी मन्त्री विना मगरले घर निर्माणको शुभारम्भ गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले बाराको देवताल गाउँपालिका-७ रामपूर्वा र कलैया- १३ छोड्की फुलबरियामा घर निर्माणको शिलान्यास गरेका छन् ।

त्यसअघि फेटा गाउँपालिका ६ पुरैनियास्थित विद्यालय परिसरमा जनता आवास -बारा/पर्सा) मा औपचारिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले वर्षाले दुःख दिनु अघि नै घर निर्माण भइसक्ने जानकारी दिए । ‘नेपाली सेनाले प्रारम्भिक काम सम्पन्न गरिकसकेको छ । आवश्यक बजेट व्यवस्था भइसकेको छ । हावाहुरीबाट जजसको आवासमा क्षति भएको छ, उहाँहरु पनि आवास बनाउन तयार हुनुहुन्छ’, उनले भने ।

घर निर्माणमा अवश्यक सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रदेश २ का मुख्य मन्त्री लालाबाबु राउतले प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘जुन किसिमको योजना बनाएर सेना अगाडि बढेको छ । विश्वस्त छु, वर्षात अगाडि नै मिशन पुरा हुन्छ’, उनले भने, ‘यसका लागि जस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ, त्यसका लागि प्रदेश सरकार तयार छ ।’

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्डुलले वर्षा अगाडि नै घर निर्माण गर्नु नेपाली सेनाका लागि चुनौती र अवसर दुवै भएको बताए । ‘निर्माण कार्यका लागि सहज रुपमा सामाग्री उपलब्ध नहुनु र तथा प्रतिकुल मौसम चुनौतिको रुपमा आउन सक्छन्’ उनले भने ‘तर विगतमा भोगेका कठिनाई तथा हासिल गरेको अनुभव प्रयोग गर्दै समयमै गुणस्तरीय तवरले काम सम्पन्न गर्छौं । ‘

नेपाली सेनाले पूर्वाधार निर्माणको जिम्मेवारी पाएको छ । त्यसमा आवश्यक सहयोग गर्ने गरी प्रदेश २ को प्रमुख सचिवको संयोजकत्वमा ५ सदस्यीय घर पूर्नस्थापना तथा घर पूर्न निर्माण सहजीकरण र समन्वय समिति गठन भएको छ ।

स्थानीय स्रोत साधन समेतको प्रयोग गर्दै समन्वय समितिसँग समन्वय गर्दै काम अघि बढ्ने उनको भनाइ छ ।
‘समन्वय समितिको नियमित अनुगमन, निगरानी तथा समन्वयमा पुनः निर्माणको कामले गति लिनेमा हामी विश्वस्त छौं’ बलाध्यक्ष रथी तण्डुलले भने, ‘स्थानीय स्रोत, साधन र सीपको अधिकतम सहयोग लिएर निर्माणको काम गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment