Comments Add Comment

नेकपा बैठकः प्रश्न छल्न सांसदको ‘मुख थुन्ने’ प्रयास

२१ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमबारे प्रश्नै गर्न नदिने प्रयास भएको छ ।

तर, सांसदहरुले भने दुई नेताको निर्देशन र व्हीप मात्रै जारी गर्नु उपयुक्त नभएको भन्दै छलफल माग गरेका छन् ।

सरकारले नीति तथा कार्यक्रम संसदमा पेश भएको भोलिपल्ट नेकपा संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ढिला मात्र आएका थिए । अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा सुरु भएको बैठकलाई उपनेता सुवास चन्द्र नेम्वाङले सम्बोधन गरे ।

उनले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न निर्देशन दिए । शनिबार छलफल गर्ने कार्यक्रम नभइएको भन्दै उनले ‘२४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आ-आफ्नो धारणा राख्न सक्नुहुनेछ’ भनेेका छन् ।

तर, सांसदहरुले विरोध गरे । जनार्दन शर्मा प्रभाकर, रामकुमारी झाक्री र सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग गरेका हुन् ।

दुई नेताको निर्देशन र व्हीप मात्रै जारी गर्न मात्र स्वीकार्य नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीकै उपस्थितिमा आफुहरुलाई जिज्ञासा राख्न दिनुपर्ने माग गरे । साथै सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत भएका तथ्याांङ्क र भाषाबारे स्पष्ट पार्नुपर्ने अडान लिएका छन् ।

मेरो सरकारतर्फ संकेत गर्दै सांसद जनार्दन शर्माले भने, ‘जुन भाषा प्रयोग गरेर राष्ट्रपतिलाई विवादमा ल्याइयो, त्यो कुन मनसायले ल्याइयो प्रष्ट हुनुपर्छ ।’

अर्का सांसद रामकुमारी झाँक्रीले दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्त यो कुरामा समर्थन गर भनेर व्हीप जारी गर्न नपाइने बताइन् । उनले भनिन्, ‘यहाँ छलफल गर्ने वातावरण हुनुपर्छ । प्रधानमन्त्री आइसकेपछि नीति तथा कार्यक्रममा प्रस्तुत गरिएका केही तथ्याङ्कहरु, त्यहाँ प्रयोग गरिएका केही भाषाबारे हामी क्लियर हुन चाहन्छौं ।’

हिजो राजाले मेरो सरकार भन्ने भाषा प्रयोग गरेको स्मरण गर्दै उनले अहिले कुन सैद्धान्तिक आधारमा मेरो सरकार भनियो प्रष्ट पार्न माग गरिन् । उनले भनिन्, ‘के का लागि यो भाषा प्रयोग गरियो ? आज दुई जना नेताको निर्देशन मात्रै होइन, हाम्रा कुरा पनि सुनिनुपर्छ ।’

सांसद सुरेन्द्र पाण्डेले छलफल गर्न नपाइने हो भने किन बैठक बोलाएको भन्ने प्रश्न गरे । २४ गते हृवीप जारी गरे भने उनको तर्क थियो ।

त्यसपछि सम्बोधन गरेका नेकपा अध्यक्ष प्रचण्डले सांसदहरुले उठाएको विषय जायज भएको बताए । तर, गत वर्षको नीति तथा कार्यक्रममा भएका कमजोरी सच्याएर ल्याएको भन्दै उनले थुमथुमाए ।

त्यति गर्दागर्दै पनि मेरो सरकार भन्ने शब्द कसरी आयो थाहा नभएको उनले बताए । ‘हामीले हेर्दासम्म थिएन । कसरी आयो प्रधानमन्त्रीजीलाई थाहा होला’ भन्दै उनले बल अर्का अध्यक्षको कोर्टमा फाले ।

त्यसपछि सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमको जस्तो भएपनि विपक्षीले विरोध गर्ने र सत्तापक्षले समर्थन गर्ने बताए । त्यसमाथि सरकारको नीति तथा कार्यक्रम गलत भन्ने आधार नै नभएको भन्दै उनले त्यसअनुसार प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । उनले भने, ‘कसैले औला ठड्याउन ठाउँ छैन ।’

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तराष्ट्रिय अभ्यास भएको भन्दै यसमा बहस नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमबारे संसदीय दलमा सांसदहरुले राम्रो मनसायले आफ्नो विचार राख्दा पनि ‘नेकपाभित्र विवाद’ भनेर प्रचार गर्ने भन्दै छलफल गर्नु नपर्ने धारणा राखेका छन् ।

नेकपा सांसदहरुले भने पार्टीमा छलफल नगर्ने तर, हामीले जे भन्छौं त्यही गर भन्ने नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment