Comments Add Comment

सभामुख निरीह, प्रधानमन्त्रीको मुखै बैरी !

संसदमा प्रधानमन्त्रीमाथि 'अपशब्द' प्रयोग भएकै हो ?

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नलाई ‘निम्छरो’ भनेपछि विपक्षी सांसदले रेकर्डबाट हटाउन माग गर्दै संसदमा हंगामा गरे । जवाफमा प्रधानमन्त्री ओलीले पनि संसदमा आफूमाथि ‘अपशब्द प्रयोग भएको’ गम्भीर आरोप लगाउँदै रेकर्ड हेर्न माग गरेका छन् ।

प्रधानमन्त्री र कांग्रेस सांसदको जुहारीले मंगलबार संसदमा हंगामा नै भयो । तर, सभामुख कृष्णबहादुर महराले भने न प्रधानमन्त्रीको मागको सम्वोधन गरेका छन्, न त कांग्रेसको नै । सभामुख आफ्नो ध्यानाकर्षण भएको भन्दै पन्छिएका छन् ।

‘अपशब्द’ र ‘अमर्यादित’ शब्दको विवाद

प्रधानमन्त्री ओलीले मंगलबार संसदमा बोलेका ‘अमर्यादित शब्द’हरु रेकर्डबाट हटाउन नेपाली कांग्रेसले औपचारिक विज्ञप्तिमार्फत माग गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैरसंसदीय भाषा बोलेकोप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।’

कांग्रेसको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संसदको गरिमामा आँच आउने खालका यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशीघ्र हटाउन संसदीय दल जोडदार माग गर्दछ ।’

देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्टममै उभिएर माग गरेका छन्, ‘सभामुख महोदय, रेकर्ड खोलेर सुनियोस्, कुन प्रकारका शब्दहरु प्रयोग भएका छन् ?’

नीति तथा कार्यक्रमबारे प्रश्न सोध्ने नाममा सांसदहरुले आफूमाथि अपशब्द प्रयोग गरेको प्रधानमन्त्री ओलीको आरोप छ । प्रधानमन्त्रीले रोष्टममा उभिएर भने, ‘प्रश्न सोध्ने अधिकार हो तर, अपशब्द प्रयोग गर्ने अधिकार होइन । अपशब्द बोल्ने अधिकार होइन ।’

के संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अपशब्द नै प्रयोग भएको हो त ? वा प्रधानमन्त्रीले चाहिँ सांसदहरुमाथि अमर्यादित शब्द प्रयोग गरेका हुन् ? दुबै पक्षको मागका सम्बन्धमा सभामुख कृष्णबहादुर महराले बारम्बार ‘मेरो ध्यानाकर्षण भयो’ मात्रै भनेर टार्ने काम गरेका छन् । उनले ‘मलाई अहिल्यै निर्णय लिनका लागि बाध्य नपार्नोस्’ मात्रै भनेका छन् ।

प्रधानमन्त्री ओलीले भनेझै उनीमाथि संसदमा अपशब्द प्रयोग भए/नभएको सभामुख महराले कुनै जवाफ दिन सकेका छैनन् । प्रधानमन्त्रीमाथि संसदमा अपशब्द नै प्रयोग भएको हो भने त्यो गम्भीर कुरा हो । तर, अपशब्द प्रयोग भएको होइन भने प्रश्न सोध्दैमा सांसदहरुमाथि प्रधानमन्त्रीले त्यस्तो आरोप लगाउनु पनि कम गम्भीर विषय होइन । तथापि सभामुख महराले यो विषयलाई गम्भीर रुपमा लिएको देखिएन ।

प्रश्न सोध्दा ओलीलाई असैह्य !

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भएदेखि नै प्रतिपक्षको निशानामा परेका प्रधानमन्त्री ओलीमाथि मंगलबार संसदमा निकै टर्रा प्रश्नहरुको वषर्ा भयो । प्रायः कडा प्रश्न, सवाल-जवाफ र आलोचना नरुचाउने प्रधानमन्त्री ओलीका लागि संसदको यो परिवेश रुचीकर नलाग्नु स्वाभाविकै थियो ।

विपक्षी सांसदहरुले प्रधानमन्त्रीमाथि निकै नै कडा प्रश्नहरु सोधेका थिए, जसलाई प्रधानमन्त्री ओलीले आफूमाथि अपशब्द प्रयोग भएको अर्थमा व्याख्या गरेका छन् । सत्तारुढ नेकपाले प्रधानमन्त्रीमाथि अपशब्द प्रयोग भएको हो या हैन भन्नेबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नबारे मंगलबार प्रधानमन्त्रीले पहिलो चरणको जवाफ दिएपछि सभामुखले सांसदहरुलाई थप स्पष्टीकरण माग्ने समय दिए । त्यसपछि कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई एकपछि अर्को प्रश्नको वर्षा गरे ।

प्रधानमन्त्रीमाथि महाकालीमा पुल बनाएको भनेर झूठा विवरण पेश गरेको, ३३ किलो सुन खोई ? निर्मला पन्तको हत्या चाहिँ कहिले पत्ता लाग्छ ? लगायतका थुप्रै प्रश्न विपक्षी सांसदहरुले राखे ।

संसदमा प्रधानमन्त्रीमाथि वषिर्एका केही प्रश्न यस्ता थिए-

-पहिले प्रधानमन्त्री हुँदा काँधमा ग्यास बोक्नुपर्दैन, साइकलमा सिलिण्डर बोक्नु पर्दैन, धारामा पानी खोल्दा जस्तै आउँछ भन्नुभएको थियो, चार वर्ष बितेछ, कहिले आउँछ ?

-भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुभएको छ तर, २५ अर्बभन्दा माथिको ठेक्का प्रधानमन्त्री ओलीले लगाउने भनिएको छ । अब भ्रष्टाचार प्रधानमन्त्री आफैंले गर्ने हो वा अरुलाई गर्न दिने हो ?

-मार्सी चामलदेखि मन्दिरको दर्शन गर्न आउनेको लिस्ट जारी गर्‍यो भने बल्ल थाहा हुन्छ कि भ्रष्टाचारको मुख उहाँले हेर्नुहुन्छ वा हुन्न…

-वाइडवडी खरिद प्रकरण, बालुवाटारको जग्गा प्रकरणमा अभुतपूर्व काम गरेको भनी स्वयमको प्रशंसा गर्नुभयो । छानविन गर्ने निकाय एकातर्फ, फैसला दिने प्रधानमन्त्री । मन्त्रीज्यू निर्दोष हुनुहुन्थ्यो, महासचिव ठगिनु भएछ, अर्का महासचिव विचरा ! यस्तो कुरा प्रधानमन्त्रीजीले कहाँबाट थाहा पाउनुभयो ?

-प्रधानमन्त्रीज्यू, तपाई हाम्रो बीचमा सञ्चार व्यवधान भएकै छ । हामीले भनेको कुरा तपाईलाई गम्भीर लाग्दैन । तपाईले बोलेका कुरा आम नागरिकलाई ख्यालठट्टा, व्यग्यविनोद लाग्न थालेको छ । यो व्यवधान अन्त्य कहिले हुन्छ ? कम्बोडिया भ्रमण पछाडि वा अझ पर्खिनुपर्छ ?

आदि इत्यादि… ।

विपक्षी सांसदहरुले अधिकांश प्रश्न आफूलाई नै लक्षित गरेर सोधेपछि प्रधानमन्त्री ओली रीसाए ।

सांसदका प्रश्नलाई ‘निम्छरो’ भनेपछि…..

प्रधानमन्त्री ओलीलाई नजिकबाट चिन्ने नेकपाका सांसदहरुले अनुमान लगाइसकेका थिए कि अब उनले कांग्रेसका सांसदहरुलाई मुखभरिको जवाफ दिनेवाला छन् ।

नभन्दै प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरु वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु’ भन्दै आफ्नो सम्बोधन सुरु गरे ।

लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले निम्छरो भन्नु संसदीय मर्यादा विपरीत भएको भन्दै नियमापत्ति गरे । विश्वकर्मा तिनै सांसद हुन्, जसले प्रधानमन्त्रीलाई २५ अर्बभन्दा माथिको ठेक्कालाई लिएर भ्रष्टाचार आफैंले गर्ने हो ? भनेर आक्रामक प्रश्न सोधेका थिए ।

यसले प्रधानमन्त्रीलाई थप आक्रोशित बनाएको हुनसक्ने नेकपाका एक सांसदले सुनाए । जसका कारण प्रधानमन्त्रीले ‘जवाफ चाहिन्छ कि चाहिँदैन ?’ भनेर घुक्र्याएनन् मात्र, रोष्टमबाटै विपक्षी सांसदहरुसँग मुखमुखै लागे ।

रोष्टमबाट प्रधानमन्त्रीले सांसदहरुलाई ओठे जवाफ फर्काउन थालेपछि विपक्षी सांसदले सभामुखलाई सोधे- ‘यो संसद तपाईले चलाउने हो कि प्रधानमन्त्रीले ? सभामुखज्यू संसदको मर्यादा कायम राख्नुहोस् ।’

रोष्टममा उभिएका प्रधानमन्त्रीले पनि प्रश्न गर्दा सीमा र मर्यादा ख्याल राख्न सांसदहरुलाई आग्रह गरे ।

प्रधानमन्त्रीको बोली भूईमा खस्न नपाउँदै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताए । विपक्षी सांसदलाई प्रधानमन्त्रीको जवाफ सुन्न दिन आग्रह गरे ।

सभामुख र विपक्षी सांसदबीच गलफत्ति चलिरहेका बेला प्रधानमन्त्रीले भनेे, सभामुख महोदय, रेकर्ड खोलेर सुनियोस् कुन प्रकारका शब्दहरु प्रयोग भएका छन् ?

कांग्रेस सांसदहरुले रेकर्ड सुन्न चुनौती दिए । त्यसपछि प्रधानमन्त्री सांसदहरुलाई घुक्र्याए, ‘आफ्नो प्रश्नको जवाफ चाहिएको छ कि छैन ? म जान्न चाहन्छु ।’ कांग्रेस सांसदहरु उभिएर केही भन्दै थिए, प्रधानमन्त्री ओलीले फेरि सोधे- ‘प्रश्नको जवाफ चाहिएको छ कि छैन ?’

कांग्रेस सांसदहरुको विरोध गरिरहँदा प्रधानमन्त्री ओलीले ‘मर्यादित ढंगको व्यवहार गर्न सिक्नुस्’ भने । उनले चौर औंला ठड्याएर भने, ‘प्रश्न सोध्ने अधिकार हो तर, अपशब्द प्रयोग गर्ने अधिकार होइन । अपशब्द बोल्ने अधिकार होइन ।’

सभामुखले प्रधानमन्त्रीलाई बोल्न दिए । विपक्षी सांसदहरुले सभामुखलाई संसदीय मर्यादा कायम राख्न माग गर्दा प्रधानमन्त्रीले जवाफ दिए ‘मैले सभामुखजीलाई होइन, तपाईहरुलाई जवाफ दिने हो ।’

सत्तारुढ संसदले विपक्षीको अवरोधको विरोध गरेपछि संसदमा गाईजात्राजस्तै देखियो । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरु उभिएरहेका बेला प्रधानमन्त्री ओलीले एकाध प्रश्नको मात्रै जवाफ दिए र रिसाउँदै आफ्नो सम्बोधन टुंग्याए ।

निरीह देखिए सभामुख

संसदीय मर्यादाविपरीत प्रधानमन्त्री र विपक्षी सांसदहरुबीच सवाल- जवाफ भइरहँदा सभामुख महरा भने निरीहजस्तै देखिए । उनले न प्रधानमन्त्रीको ‘निम्छरो’ भन्ने शब्द रेकर्डबाट हटाउन आदेश दिन सके, न विपक्षी सांसदहरुलाई चित्त बुझाए ।

प्रधानमन्त्रीले आफूमाथि सांसदहरुबाट अपशब्द प्रयोग भएको भन्ने गम्भीर आरोप लगाइरहँदा पनि सभामुख नतमस्तक देखिन्थे ।

‘मेरो ध्यानाकर्षण भएको छ, सम्माननीय प्रधानमन्त्रीको कुरा सुन्नुस्’ भनिरहे । विपक्षी उभिएका बेलामा सदनको कारबाही अगाडि बढाए । संशोधनकर्ताहरुलाई नीति तथा कार्यक्रममाथि हालेको संशोधन फिर्ता लिने कि नलिने सोधे ।

जवाफमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद व्यवस्थित रुपमा चलाउन सभामुखलाई आग्रह गरे । अर्का संशोधनकर्ता मिनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको बताए । प्रधानमन्त्री र सभामुखबाट संसदको गरिमा कायम हुन नसकेको भन्दै उनले भने, ‘यो भन्दा नराम्रो काम संसदीय अभ्यास हुन सक्दैन ।’

राजपा सांसद लक्ष्मणलाल कर्ण र चन्दा चौधरीले ‘संसदलाई व्यवस्थित गर्नुस्, त्यसपछि म संशोधन फिर्ता लिने नलिने जवाफ दिन्छु’ भने । तर, त्यसका बाबजुद सभामुखले सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरे, जुन बहुमतबाट पास भयो ।

कांग्रेसलाई निहुँ खोज्नु थियोः भट्टराई

यसैवीच बैठकपछि सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले संसदीय मर्यादा विपरीत व्यवहार गरेको आरोप लगाएका छन् । सभामुखले आफ्नो ध्यानाकर्षण भयो भनेपछि प्रधानमन्त्रीलाई बोल्न दिनुपर्नेमा अवरोध गरेको भन्दै नेकपा सांसद भट्टराईले अनलाइनखबरसँग भने, ‘केपी ओली व्यक्तिमात्र होइन, यो देशको प्रधानमन्त्री हो । प्रधानमन्त्रीका अगाडि कस्तो अचरण देखाउनुपर्छ भनेर हामीले सिकाउनुपर्ने अवस्था आउनु दुःखद हो ।’

उसो त कांग्रेसका एक सांसदले पनि सभामुखले ध्यानाकर्षण भयो भनिसकेपछि प्रधानमन्त्रीलाई बोल्न दिएको भए सदनको कारवाही सहजरुपमा अघि बढ्ने स्वीकार गर्छन् । तर, आफूहरुले सभामुखसँग प्रश्न गरिरहँदा प्रधानमन्त्री आफैं छुचो मुख लिएर सवाल-जवाफमा उत्रिएपछि परिस्थिति बिगि्रएको बताउँदै उनले भने, ‘संसदमा आज जे भयो, राम्रो भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment