Comments Add Comment

अक्षय तृतीयामा १० वर्षपछि अदभूत संयोग, के गर्ने ? के नगर्ने ?

२४ वैशाख, काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । तर आज करिब एक दशकपछिकै शुभ र अदभूत संयोग बनेको छ । हिन्दु पञ्चांग र ज्योतिषाचार्यका अनुसार सूर्य, शुक्र, चन्द्र र राहु ग्रहको शुभ संयोग छ । यी ग्रहको उपस्थिति उच्च राशीमा छ । यस्तो संयोग निकै दुर्लभ र सौभाग्यशाली मानिन्छ । यसअघि सन् २००३ मा पनि यस्तै अदभूत संयोग बनेको थियो ।

ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

अक्षय तृतीयामा के गर्ने ? के नगर्ने ?

अक्षय तृतीयालाई जौको सातु र सर्वत खाने पर्व भनेर पनि चिनिन्छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।

आजका दिन आगन्तुक सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । वैशाखको गर्मीमा सर्वत र सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

खाली हात घर नफर्किनुस्

अक्षय तृतीयाको दिन शुभ फल प्राप्त गर्नका लागि सुनबाट बनेको कुनै पनि बस्तु खरिद गर्नुपर्ने मान्यता छ । यदि सुन किन्ने क्षमता छैन भने आफ्नो क्षमताअनुसार धातुबाट बनेको कुनै पनि वस्तु किन्न सकिन्छ । यस दिन खाली हात घर फर्किनु शुभ मानिँदैन । त्यसैले नयाँ वस्त्र किन्ने, लगाउने गर्दा पनि शुभ हुने विश्वास गरिन्छ ।

पूजामा तुलसीको उपयोग

अक्षय तृतीयाको दिन विष्णु र लक्ष्मीको पूजाको विशेष महत्व हुन्छ । त्यसैले विष्णुको पूजामा प्रसादको रुपमा तुलसीको उपयोग गरिन्छ । प्रसाद चढाउनका लागि तुलसीको पात टिप्नुअघि नुहाइ धुवाई गरेर चोखो लुगा लगाउनुपर्ने धर्मशास्त्रका जानकारहरु बताउँछन् । अन्यथा शुभ फलको सट्टा अशुभ हुने मान्यता छ ।

विष्णु र लक्ष्मीको पूजा सँगसँगै

वैशाख शुक्ल तृतीयाकै दिन त्रेता युग शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाको दिन निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा शुभ फल प्राप्त हुने र लक्ष्मीको बास हुने धार्मिक विश्वास छ ।

समृद्धि र सौभाग्यको इच्छा राख्नेहरुले अक्षय तृतीयाको दिन भुलेर पनि विष्णु र लक्ष्मीको पूजा अलग-अलग गर्नु हुँदैन । किनभने विष्णु र लक्ष्मी पति-पत्नी हुन् । यस अवसरमा लक्ष्मी र विष्णुको एकसाथ पूजा गरेमा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

अक्षय तृतीयाको दिन कसैप्रति पनि क्रोधको भावना राख्नु हुँदैन । यदि कसैप्रति वैरभाव राखेमा पनि लक्ष्मीको बास नहुने र शुभ फल नमिल्ने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment