Comments Add Comment

हामी आफैंले नबोले कसले बोलिदिन्छ ?

नाटक ‘भजाइना मनोलग’ र नेपाली समाज

म पहिला खुब लेख्थें । समाजमा विद्यमान विकृति, विसङ्गति अनि पुरुषत्वको अहमलाई शब्दमार्फत उतार्थें । कोरा कागजमा भावना पोख्दा मात्रै पनि निकै आनन्द लाग्ने !

नाटक ‘भजाइना मनोलग’ (vagina monologue) हेरेपछि नाटकले उठाएको विषय र समाजलाई तुलना गर्न मन लाग्यो । लेख्न छोडिसकेको मलाई मेरो कलमले लामो समयपछि घच्घच्याइरह्यो । यस्तो लाग्यो– अब पनि मैले केही लेखिनँ भने मैले तमाम निर्दोष योनीहरुमाथि अन्याय गर्दैछु । अनि यौन हिंस्रकलाई झनै बलियो बनाउँदैछु ।

लाग्दैछ, मेरो रगत उम्लिएको छ । मुटु उफ्रिएको छ । आँखाबाट आँसुको धारा बगिरहेको छ । टाउको फुट्लाजस्तो भैरहेको छ ।

लेख्न बसेपछि विस्तारै शान्तिको लामो सास फेरें । टाउको हल्का भयो ।

मैले कथा घेरा समूहको टेकुस्थित कौशी थिएटर ३ सय रुपैयाँमा लाखौं मूल्य पर्ने नाटक हेरेको जस्तै अनुभूति भइरहेको छ । जहाँ तपाईको, मेरो र बलात्कारपछि मारिएका सम्पूर्ण निर्मलाहरुको योनीको भित्री कथा खुलेको छ

मलाई याद छ, सानो बेलादेखि नै म ठूला मान्छेहरु कुरा गरिरहेको ठाउँमा गएर सुनेर बस्थें । मभित्र धेरै जिज्ञासा हुन्थ्यो । तर, गाली खाइन्छ कि भन्ने डरले नबोली बस्थें ।

त्यतिखेर म लाचार थिएँ । किनकि हाम्रो समाज र परम्पराले भगवान मान्ने असभ्य पुरुष पात्रहरु हामीले औंला उठाएको, प्रश्न सोधेको देख्न कहाँ सक्थे र ? मेरा कैयौं ध्वनीहीन आवाजहरु कपीका पानामा मात्र सीमित भए । हजुरआमा भन्नुहुन्थ्यो ‘ठूला मान्छेहरु कुरा गरेको ठाउँमा सानो मान्छे बस्नु हुँदैन जा ।’

कुरा सुन्ने र चित्त नबुझेको ठाउँमा प्रश्न गर्ने, तर्क–बितर्क गर्ने मेरो ईच्छामा बज्रपात हुन्थ्यो । हजुरबुबा, बुवा अनि काका कुरा गरिरहेको ठाउँमा मैले प्रश्न गरेका बेला धेरैपटक काकाको गाली खाएको मलाई याद ताजै छ ।

पोथी बासेको भनेर महिलाले बोलेको मन नपराउने समाजमा म पनि पिसिएँ । गाली खानुपर्ने डरले उनीहरुलाई प्रश्न सोध्ने, दुःख, कष्ट अनि भोगाई सुनाउने आँट गर्न सकिनँ ।

नाटक ‘भजाइना मनोलग’को विषयवस्तु लैङ्गिगक असमानता, महिला हिंसा, शारीरिक दुव्र्यवहार वरिपरि घुमेको छ । विशेषतः पितृसत्तात्मक विचारधारामा हुर्केका पुरुषहरु कतिसम्म दरिद्र भएर योनीका लागि भौंतारिन सक्छन्, कसरी एउटी महिला यौन हिंसाको शिकार हुन पुग्छिन् भन्ने कुरा नाटकले प्रष्ट पारेको छ ।

प्रत्येक महिलालाई घरबाट निस्किनुअघि प्रश्न तेर्सिन्छ–कहाँ जान लागेको ? कतिबेला फर्किने ? तर, त्यही घरका पुरुष सदस्यलाई सबै कुराको छुट छ । जहाँ मन लाग्छ जाउ, जे मन लाग्छ गर अनि जतिबेला घर फर्कन मन लाग्छ फर्क । ‘साथीकोमा छु, आउन ढिला भयो है’ भनेर नफर्के पनि हुन्छ । महिलालाई घर बाहिरै बास बस्ने कुरामा कमैलाई मात्र छुट छ होला सायद । बरु जागिर खाने वा व्यापार, पेशा व्यवसायमा आवद्ध अधिकांश महिलालाई छिटै घर फर्किएर घरधन्दा गर्नुपर्ने दबाव हुन्छ भन्ने कुराको वरिपरि नाटक घुमेको छ ।

नाटकघरमा होस या हस्पिटलमा, जिम सेन्टरमा होस या सरकारी कार्यालयमा, जतासुकै यौन हिंसा भइरहेको छ । हामी महिलाले त्यसको विरुद्धमा नबोलेकै कारण उनीहरु दिन प्रतिदिन सशक्त बन्दै गएका छन् । नाटकले यसबारेमा सोच्न बाध्य बनाउँछ ।

नेपाली समाज परिप्रेक्ष्यमा महिला हिंसामा पर्नुमा सांस्कृतिक पाटोलाई पनि कोट्याउनु जरुरी छ । कतिपय धार्मिक ग्रन्थहरुले नै बालिका बलात्कारलाई बैधानिकता दिएको आभाष हुन्छ ।

श्री स्वस्थानी ब्रत कथामा ७ बर्षकी बालिका गोमाको विवाह ७० बर्षका शिवशर्मा नाम गरेका ब्राम्हणसँग गरिन्छ । ती ब्राम्हण सबैले मान्दै आएको देवादी देव भनिने महादेव हुन्छन् । त्यही महादेवको हामी महिला ब्रत बस्छौं र शिव लिंगको पूजा गर्छौं । त्यो ७ बर्षकी बालिकाको विवाहको नाममा उसलाई बलात्कार गर्ने जिम्मा लगाइएको होइन र ? अझै धेरै कुरा छन् हामीले केलाउँदै जानुपर्ने छ । महिला हिंसा रोक्न धर्मको नकारात्मक पाटो पनि केलाउनु जरुरी देखिन्छ ।

सामाजिक पाटो हेर्ने हो भने एउटी महिलाले कतिजनासँग शारीरिक सम्बन्ध राखी समाजले त्यसको पूरा हिसाब राखेको हुन्छ । तर, त्यही विषयमा पुरुषको कुनै मतलब छैन । ‘मर्दका दशवटी’ उल्टै उक्साइन्छ ।

पुरुष वेश्यालय नै गएर पुरुषत्वको घमण्ड देखाउँदा पनि समाजलाई कुनै फरक पर्दैन । त्यही ठाउँमा महिलाले एकभन्दा बढी पुरुषसँग सम्बन्ध राख्ने वित्तिकै महिला समाजमा तुच्छ हुन्छे । तर, त्यही कर्म गर्ने पुरुष बहादुर हुन्छ । पुरुष भएकै कारण उ स्वतन्त्र हुने महिला भएकै कारण हेपिनुपर्ने, हिंसाको शिकार हुनुपर्ने, पारिवारिक र सामाजिक बन्धनमा बाँधिनुपर्ने ? यो कस्तो सामाजिक संरचना ?

विशेषगरी हामी हुर्केको परिवेशमा सबभन्दा बढी यौन हिंसा भोगेर आउनुपर्ने अवस्था छ । र, त्यो कुरालाई हामीले हल गर्न खोजे, बोल्न खोजे प्रश्न आफैंमाथि तेर्सिन्छ । कुनै घटना घट्यो भने पनि सकेसम्म ढाकछोप गरिन्छ । विवाह हँुदैन, तिम्रै जीवन बर्बाद हुन्छ भन्दै आफ्नै सबैभन्दा प्रिय मान्छेहरुले बोली बन्द गरिदिन्छन् ।

मिटु अभियान चलिरहेको छ, चर्चित सेलिब्रेटीहरु पनि नांगिए । ती महिलाले हिम्मत देखाए । मसँग पनि त्यस्तै तीता अनुभव छन् ।

म कक्षा ३ उतीर्ण गरेर ४ मा मात्र पुगेकी थिएँ । वैशाखको महिना हुनुपर्छ । गाउँमा सिसौं र भिक्सका रुखहरु हरिया–हरिया थिए । भर्खरै स्कुल खुलेकोले राम्रो पढाइ हुँदैनथ्यो । जहिले पनि १, २ घण्टी अगाडि नै छुट्टी हुन्थ्यो । म स्कुलबाट घर आएर फेरि खाना खाँदै थिएँ । हजुरआमाले घाँस काट्ने कचिया दिँदै भन्नुभयो ‘माथि ठुल्दाइलाई आरनमा हाल्दिनु भनेर आउ न सानु’ ।

खाना खाइसक्ने बितिकै खेल्न पाइन्छ भनेर म कचिया बोक्दै माथि गाउँतिर लागें । मैले ठुल्दाइलाई कचिया दिँदै गर्दा पल्लो घरबाट एउटा दाइले मसँगै खेल्ने साथीलाई यता आउ त नानी भन्दै माथि बोलाउनुभयो । म पनि सँगसँगै खुरुर्र दौडिदै गएँ । बुवा कता जानुभयो भन्दै उसलाई काखमा राख्नुभयो । म पनि बच्चा न थिएँ, उसलाई मात्रै काखमा राखेर मलाई काखमा नराखेकोमा डाहा लाग्यो । छेउमै गयर बसें । उनले काखमा राख्दा उ काखबाट फुत्रुक–फुत्रुक झरी । तीनपटक जति उनी काखमा राख्न खोज्ने मेरो साथी भाग्न खोज्ने क्रम चल्यो । त्यसपछि उ फटाफट काखबाट झरेर भ¥याङतिर लागी ।

म पनि साथीकै पछि लाग्दै थिएँ । उसले मलाई बोलायो । अनि काखमा राख्यो । मलाई एकदमै असजिलो भैरहेको थियो, उसले मेरा हातखुट्टाका औंलाहरु चलाउन थाल्यो । उसले मलाई के गरेको भन्नेसम्म पनि थाहा थिएन । तर, डर भने असाध्यै लागिरहेको थियो । त्यसपछि म काखबाट झरेर भागें । म कति डराएको थिएँ भन्ने कुराको वयान गर्न सक्दिनँ । म किन डराएको र घरमा गएर के भने भन्ने पनि थाहा भएन । मलाई यति याद छ कि त्यो दिन म बेस्सरी दौडिँदै घर पुगें ।

सँधै मेरो स्कुल जाँदा त्यो घर कटेर जानु पर्ने । म प्रत्येक दिन त्यो घर देख्नेबितिकै कुद्थें । विस्तारै बुझ्दै गएँ ममाथि त यौन दुव्र्यवहार पो भएको रहेछ । अझै पनि मलाई गाउँ जाँदा त्यो घर देख्दा डर लाग्छ । तर, म त्यो मान्छेलाई आजभोलि गाउँमै नै देख्दिनँ । मन ढुक्क भएको छ ।

समाजमा महिलालाई हेर्ने दृष्टिकोण मै समस्या छ । हामीले हिम्मत गरेरै यो भन्नै पर्ने छ कि छोरा र छोरीबीचमा आर्थिक प्रणालीमा भएको विभेदको पनि अन्त्य हुनैपर्छ ।

सम्पत्तिको स्वामित्व अर्को समस्या हो । एउटै बाबुआमाले जन्माएको सन्तानका बीचमा छोरो चै सम्पतिको हकदार हुने, छोरी सम्पत्तिबाट बञ्चित हुने, यो कस्तो सामाजिक न्याय ?

‘भजाइना मनोलग’ नाटक हेरेपछि एकैछिन विगत सम्झिएँ । म किन चुप बसेर भविश्यका कलिला योनीहरु माथि अन्याय गर्दैछु ? भन्ने प्रश्न मैले आफैंलाई पटक–पटक गरें । नाटकले पीडा व्यक्त गर्न कामिरहेको मेरो ओठ खोल्न सिकायो । ध्वनीविहीन आवाजका कम्पनलाई ध्वनी दियो । मानसपटलमा आएका तीता विचारका फोकाहरु फुटायो । थर्थराएका हातहरुलाई लेख्न बाध्य बनायो । स्वासप्रश्वास र क्रोधको बेगलाई मन्द बनायो । म सोच्छु– अझै पनि हामी चुप बस्यौं भने भोलि के लाखौं निर्मलाहरु बलात्कारको शिकार नहोलान् र ? उनीहरुका लागि र हाम्रा लागि हामी आफैंले नबोले कसले बोलिदिन्छ ?

मैले कथा घेरा समूहको टेकुस्थित कौशी थिएटर ३ सय रुपैयाँमा लाखौं मूल्य पर्ने नाटक हेरेको जस्तै अनुभूति भइरहेको छ । जहाँ तपाईको, मेरो र बलात्कारपछि मारिएका सम्पूर्ण निर्मलाहरुको योनीको भित्री कथा खुलेको छ ।

(कार्की रंगमञ्चमा सक्रिय छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment