४ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका २८५ अस्थायी कार्यालयहरु अब स्थायी हुने भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास गरेसँगै २८५ कार्यालयहरु अब स्थायी कर्यालयको रुपमा परिणत भएका छन् ।
यो निर्णयसँगै सशस्त्र प्रहरीका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थायी हुने भएका हुन् । यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत अब स्थायी संरचनामा संचालन हुने भएका छन् ।
यसअघि सशस्त्र प्रहरी बल नेपालका १११ वटा कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको संख्या ३९६ वटा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बल नेपालको सांगठानिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरुको स्तरबृद्धि गरी नयाँ संरचना तयार गरिएको छ । संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणको स्तरबृद्धि गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा ब्यबस्थापन विशेष गण बनाइएको छ ।
कुटनीतिक नियोगको सुरक्षा हेर्ने गुल्म अब गण
त्यसैगरी विशिष्ठ व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान तथा कुटनीतिक नियोग समेतको सुरक्षा हेर्ने गरी काठमाडौ कान्तिपथमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नती गरिएको छ ।
गण बनाएसँगै यसको जनशक्ति पनि व्यवस्थापन हुने र थप सुरक्षा मजबुत हुने बताइएको छ । यो गणले महत्वपूर्ण प्रतिष्ठान तथा कुटनीतिक नियोगको सुरक्षा प्रदान गर्दै आएको छ ।
त्यस्तै यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक डाक्टरको कमाण्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकले कमाण्ड गर्नेछन् ।
कानून महाशाखा निर्देशनालयमा परिणत
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको कानून महाशाखालाई निर्देशनालयमा स्तरोन्नती गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ ।
योसँगै अब कानून निर्देशनालयको कमाण्ड सशस्त्र प्रहरी नायव महानिरीक्षकले गर्नेछन् । त्यसका लागि डीआईजीको दरबन्दी थप गरिएको छ ।
त्यस्तै विपद् व्यवस्थापनको म्याण्डेटलाई थप प्रभावकारी बनाउनुको लागि भन्दै विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तरबृद्धि गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थपिएको छ ।
इन्टेसलजेन्स ब्यूरोमा पनि डीआईजीको दरबन्दी थप भएको छ । यो व्यूरोको काम कारवाहीलाई थप डीआईजीका साथै प्रभावकारी बनाउको लागि अधिकृतस्तरका ३८ दरबन्दी थप भएको छ ।
यो सँगै सशस्त्र प्रहरी बल नेपालमा ३ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप भएको छ भने नं. १८ निलबाराही गण कीर्तिपुर रेजिमेन्टमा स्तरोन्नतीसँगै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको समेत दरबन्दी थप भएको छ ।
सांस्कृतिक बाध्यवाजन गुल्मको स्तरवृद्धि
सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवाजन गुल्मलाई समेत स्तरबृद्धि गरी सांगितिक शिक्षालय बनाई सशस्त्र प्रहरी उपरीक्षकले कमाण्ड गर्ने गरी दरबन्दी समायोजन गरिएको छ ।
सशस्त्र प्रहरी बलका १० वटा तालिम शिक्षालयहरुको असमान दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने भएको छ । अब सबै शिक्षालयमा दरबन्दी संख्या एउटै हुनेछ । यसकासाथै प्राविधिक समूहतर्फका विल्लादार जवानहरु १५/१६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यतालाई सम्बोधन गरी समायोजनको काम समेत अघि बढाइएको छ भने १६ र १८ वर्षमा पेन्सन हुने प्रस्तावलाई समेत उच्च प्राथमिकतामा राखी छलफल अगाडी बढाइएको छ ।
प्रतिक्रिया 4