News Summary
Generated by OK AI. Editorially reviewed.- सिक्किमको गान्तोकमा ‘ऊनको स्वीटर साँझ’ सांगीतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
- फिल्म ‘ऊनको स्वीटर’ शुक्रबारदेखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीमा रिलिज हुँदैछ।
- ‘ऊनको स्वीटर’ले नेपाली बक्सअफिसमा साढे ११ करोड कमाएको छ र २०८२ सालको दोस्रो धेरै कमाउने स्वदेशी फिल्म हो।
गान्तोक (भारत) । बुधबार बेलुका उत्तरपूर्वी भारतीय राज्य सिक्किमको गान्तोकस्थित महात्मा गान्धी मार्गमा ‘ऊनको स्वीटर साँझ’ भब्यरुपमा सम्पन्न भएको छ ।
शुक्रबारदेखि त्यहाँ प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’ अघि गान्तोकमा सांगीतिक कार्यक्रम आयोजना गरियो । फिल्मका संगीतकार तथा गायक समेत रहेका सुजन चापागाईंले त्यहाँ प्रस्तुति दिए ।
‘कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली चलचित्रप्रति भारतका नेपालीभाषी समुदायको आकर्षण पुष्टि गरेको छ’ निर्माताले मिडियालाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबाट त्यहाँ पुगेका फिल्मका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायांकार चिन्तन राजभन्डारी, कार्यकारी निर्माता मिलन खत्री र सागर बुढाथोकीलगायत टिमका सदस्य कार्यक्रममा सहभागी थिए ।

सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारसमेत कार्यक्रमको आकर्षण बने । अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्यापर देवा, सोनम ओङ्मु इथेन्पालगायतका कलाकारले प्रस्तुति दिए ।
अमृता राईले फिल्मको चर्चित गीत ‘काफ्ले’ मा नृत्य प्रस्तुत दिइन् । नेपालबाट गएका नर्तक सुरज सिंजाली मगरले ‘चाइनेजो जिन्दगानी’मा प्रस्तुति दिए ।
उक्त फिल्म शुक्रबारदेखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलमा रिलिज हुँदैछ । एसली प्रोडक्सनले फिल्मलाई भारतमा रिलिज गर्न लागेको हो ।
सोही अवसरमा गायक चापागाईँले २३ डिसेम्बरमा गान्तोकमा ‘सुजन चापागाईं एन्ड द इन्फिनिटी’ ब्यान्डको कन्सर्ट हुने घोषणा गरे । यो समाचार लेख्दासम्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा २०८२ सालको दोस्रो धेरै कमाउने स्वदेशी फिल्म हो जसले साढे ११ करोड कमाएको छ ।
प्रतिक्रिया 4